झापा । 
नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले २१ फागुनमा हुन लागेको निर्वाचनमा जेनजी समूहको नेतृत्वलाई समेट्न आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा ३२ प्रतिशत जेनजी समूह सहभागी हुने भएकाले सो उमेर समूहको नेतृत्व समेट्ने गरी नेपाली कांग्रेसले नयाँ नीति र नयाँ नेतृत्वसहित निर्वाचनमा भाग लिनुपर्ने निष्कर्ष निकालेको हो।
‘जेनजी उमेर समूहलाईसमेत समेट्ने गरी नयाँ नीति र नयाँ नेतृत्त्वसहित नेपाली कांग्रेस पार्टीले निर्वाचनमा भाग लिनुपर्छ,’ संघका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । संघले केन्द्रीय कार्यसमिति तथा जिल्ला समितिका अध्यक्षहरूको भेलामा उनीहरूले नेपालको इतिहासमै हरेक आन्दोलन र परिवर्तनको मियो बनेको नेपाली कांग्रेसको वर्तमान अवस्था अत्यन्तै कमजोर देखिएको बताएका थिए ।
संघले देशमा विद्यमान राजनीतिक अस्थिरता सिर्जना भएको र यसैबीच परिवर्तनको प्रखर आवाज आइरहेकाले सुशासन र पारदर्शिताका लागि समयमा र विधानत महाधिवेशन गर्नुपर्ने, नयाँ नेतृत्त्व र नयाँ अजेन्डा अघि सार्नुपर्ने बताएको छ।
‘सुशासन र पारदर्शिताको प्रत्याभूति दिन नसक्दा गत भदौमा ठूलो विद्रोह भई धेरै जन–धनको क्षति पुगेको बताइएको छ । निर्वाचनअघिको महाधिवेशनले कांग्रेस सुध्रन्छ र निर्वाचनपछिको महाधिवेशनले कांग्रेस सकिन्छ या खिइन्छ भन्ने हाम्रो ठम्याइ रहेको अध्यक्ष ढकालले बताए ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसको विधानमा व्यवस्था भएअनुसार महामन्त्री गगनकुमार थापाले पेस गरेको १५औँ महाधिवेशन हुन नसके ५४ प्रतिशत माहाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरअनुरुप महाधिवेशन गर्नुपर्ने भन्दै संघले पार्टी पंक्तिलाई दबाब दिएको छ।
प्रतिस्पर्धी पार्टीहरुलेसमेत नयाँ पुस्तालाई समेटेर महाधिवेशन गर्ने घोषणा गरिसकेको अवस्थामा कांग्रेसले तत्काल महाधिवेशन गर्नुपर्ने विज्ञप्ती मार्फत माग गरिएको छ ।


























