झापा प्रहरीले स्वरुप परिवर्तन गरी ठूलो आवाजमा मोटरसाइकल चलाउनेहरुलाई नियन्त्रणमा लिन थालेको छ । स्थानीयवासीको ठूलो समस्याका रुपमा रहेको मोटरसाइकल चालकहरुको यस्तो मानसिकता हटाउन कसै न कसैको निमर्म कार्वाही आवश्यक थियो । प्रहरीले त्यसै अनुसार चर्को आवाज र स्वरुप परिवर्तन गरेर दुईपाङ्ग्रे सवारी चलाउने चालकसहित ५१ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही शुरु गरेको छ । इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको यस्तो कारवाहीमा सबैभन्दा धेरै बिर्तामोडमा पक्राउ परेका छन् । दमकबाट पाँच, चन्द्रगढीबाट छ, सुरुङ्गाबाट दुई, काँकरभिट्टाबाट पाँच र शनिश्चरेबाट दुई मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् । उनका अनुसार बिर्तामोडबाट मात्रै यस्ता ३१ वटा सवारी नियन्त्रणमा छन् ।

पछिल्लो दिन युवा पुस्तामा चर्को आवाज र उच्च गतिमा मोटरसाइकल चलाउने प्रवृत्ति बढ्दै गएको छ । यसले सवारी दुर्घटनासँगै ध्वनि प्रदुषण बढाउने गरेको छ । यसरी मोटरसाइकल चलाउँदा, अरुहरु आफूप्रति आकर्षित हुने र त्यसैलाई मनोरञ्जन गरेको ठान्ने प्रवृत्तिले समाजको शान्ति पनि भंग हुन थालेको छ । यस बाहेक ध्वनि प्रदुषण, मानसिक स्वास्थ्य र मुटुका विरामीहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको छ । बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा पनि असर गर्ने चर्को आवाजलाई नियन्त्रण गर्ने प्रहरीको सक्रियता निरन्तरता हुनुपर्छ । यद्यपि यत्तिले यस्तो परपीडक प्रवृत्तिको अन्त्य त हुँदैन । किनकि प्रहरीलाई छलेर चलाउनेहरु पक्राउ परेका छैनन् ।
वातावरणीय प्रदुषण अहिले विश्वकै साझा समस्या हो । सहजै नियन्त्रण गर्न सकिने यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न ‘जरा’ मै उपचार गर्नु पर्छ । यसका लागि त्यस्ता मोटरसाइकलको आयातमै रोक लगाउनुपर्छ । यदि कतै कसैले ट्राफिक नियमको उल्लंघन गरेको पाइए सख्त कारवाही गरेर यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । इप्रका बिर्तामोडले रातिको समय हुनसक्ने असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सर्च अप्रेसन तथा निगरानी बढाउने भएको छ । यसले राति हुनसक्ने आपराधिक तथा असामाजिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षाको वातावरण बनाउन सकिन्छ । इप्रका बिर्तामोडको यस्तो पहल र कारवाही स्वागतयोग्य मात्र होइन प्रशंसनीय पनि छ । इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ नेतृत्वको अभियान निरन्तर होस् र स्थानीयवासीले सुरक्षाको अनुभूति गर्न पाऊन् ।




























