भोजपुर,

अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमबाट रु चार लाख सङ्कलन गरिएको छ । विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीयवासीले आफैँ अग्रसर भएर यो उदाहरणीय पहल गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का अध्यक्ष कुमार थापाका अनुसार विद्यालय सञ्चालनका लागि स्थायी आम्दानी स्रोत विकास गर्ने उद्देश्यले देउसी–भैलो र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
“विद्यालयको सहयोगार्थ देउसी–भैलोसँगै सांस्कृतिक कार्यक्रम गरेर रकम सङ्कलन गरेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “विद्यालय सञ्चालनका लागि स्थानीयको साथ र कलाकारको निःशुल्क सहयोगले अभियान सफल भएको छ ।”
सङ्कलित रकम विद्यालयको शैक्षिक सुधार, आवश्यक पूर्वाधार निर्माण र दिगो आम्दानी स्रोतका रुपमा प्रयोग गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । कार्यक्रममा लोकगायक शुकदेव अधिकारी, स्थानीय कलाकार वीरबहादुर लिम्बू, तेजेन्द्र गन्धर्व, मनिपाल राई र टीका मगरले आफ्नो प्रस्तुति दिएका थिए ।
विद्यालयले यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबै विद्यार्थीलाई उत्तीर्ण गराएर गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेको थियो ।






























