देशमा बेथिति, विकृति, असमानता र अनैतिकताको पहाड ठडिएको देखेपछि जेन–जी पुस्ताले स्वःस्फूर्त विद्रोह गरे । सन् १९९७ देखि २०१२ का बीच जन्मिएको उक्त पुस्ताले यो पनि देखे र अनुभूत गरे कि ती सबै विसंगतिहरुका संरक्षक राजनीतिक दल हुन् । भ्रष्टाचार संस्थागत भएको, नीतिनिर्माणको तहमा विचौलियाहरुको प्रभाव निर्णायक हुँदा देशका बहुसंख्यक युवा रोजगारीको खोजीमा खाडी मुलुकमा लाम लागेर जान थालेको पनि नवयुवा जसलाई जेन–जी पुस्ता भनिन्छ, उनीहरुले देखे । राजनीतिको आड, नेता र सरकारको संरक्षण सिंगो मुलुक उनीहरुको कब्जामा रहेको अनुभव गरेपछि युवावर्ग निराश सँगै बिद्रोही भए । जसको परिणाम आजको अवस्था आयो ।

नवयुवा पुस्ताको त्यही अनुभवले निराश र बिद्रोही भएको समूह आफ्ना असन्तुष्टि र बिरोधलाई सामाजिक सञ्जाल मार्फत अभिव्यक्त गर्दै थिए । त्यही विषयलाई निहुँ बनाएर सरकारले सञ्जाल नै बन्द गरिदियो सामाजिक सञ्जाल पनि बन्द भएपछि युवाहरुको आक्रोश एकाएक सडकमा जम्मा भयो जसले परम्परागत राज्यसत्तालाई बहिर्गमन गर्न बाध्य बनायो । तर्क, विचार र प्रविधिमा हुर्किएको युवा पुस्ताले अभिव्यक्तिको थलो नै बन्द भएपछि आफूले उठाउँदै आएको सामाजिक न्याय, पारदर्शिता, सुशासन र समावेशी शासन पद्धतिको माग गर्दैै सडकमा उत्रिएपछि डराएको सरकारले निर्ममतापूर्वक दमन गर्दाको परिणाम छोटो समयमा ठूलो संख्यामा मानवधनको क्षति भयो । युवाहरुको माग थियो कि नागरिकको जीवन सहज होस्, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रशासनिक सेवा निर्वाध उपभोग गर्न पाइयोस् ।
युवा बिद्रोहका कारण सत्ताच्यूत हुन पुगेका दल र तिनका नेताहरु अहिले पनि आत्मसमीक्षा गर्न तयार छैनन् । दुई दिनको आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिन पनि तयार छैनन् । यसो हुनुमा जेन–जी पुस्तासँग प्रभावशाली नेतृत्व नहुनु नै प्रमुख कारण हुनसक्छ । कुनै पनि राजनीतिक परिवर्तन विद्यमान कानून, संविधानका आधारमा हुँदैन । नेतृत्व नभएकै कारण क्रान्तिको परिणाम फेरि त्यही ठाउँमा पुग्यो जसलाई आक्रोशले खोजेको थिएन । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार युवापुस्ताकै बिद्रोहले जन्मिएको हो, तर त्यसले पनि पुरानै बाटो अख्तियार गर्दै निर्वाचनलाई पहिलो प्राथमिकता बनायो । सरकारले नरसंहारका दोषीलाई कानूनको दायरामा ल्याई भ्रष्टाचार, असमानता, विभेद, तानाशाही प्रवृत्तिलाई दण्डित गर्नुपर्छ । निजी वा राज्यको सम्पत्तिमा आगजनी गर्नेहरुको पहिचान गर्दै कठोर कारवाही गर्नुपर्छ । तर, त्यसका लागि जेन–जी पुस्ताले संगठित हुनैपर्छ । त्यही तत्वबोध भएर शायद उनीहरु एकता अभियानमा लागेका छन् । अभियान सक्रिय होस्, राज्यलाई दवाव दिन सफल होस् । देशलाई यो अवस्थामा पु¥याउने दल र राज्य सञ्चालक नै हुन्, उनीहरुलाई नियन्त्रण गर्न पनि एकता चाहिन्छ ।


























