अर्जुनधारामा प्याब्सनको वृहत वार्षिक खेलकुद कार्यक्रम–२०८२ शुरु

0
58
अर्जुनधारा, निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा सोमबारदेखि वृहत वार्षिक खेलकुद कार्यक्रम–२०८२ शुरु भएको छ ।
अर्जुनधारा नगरपालिका–३स्थित कैदले खेलमैदानमा पुरुष क्रिकेट प्रतियोगिताबाट    (कक्षा–१०सम्म) शुरु भएको उक्त कार्यक्रमको प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौलाले उद्घाटन गरेका थिए ।
आगामी मंसीर ५ गतेसम्म हुने कार्यक्रम अन्र्तगत क्रिकेटसँगै फुटबल, भलिबल, कबड्डी, टेबलटेनिस, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो र चेस खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुने प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले जानकारी दिए । जसअनुसार पुरुष एवम् महिला भलिबल प्रतियोगिता(कक्षा–१० सम्म), आधारभूत तह फुटबल प्रतियोगिता(४ फिट आठ इञ्च), आधारभूत तहस्तरिय फुटबल प्रतियोगिता, पुरुष एवम् महिला कबड्डी(कक्षा–१० सम्म) रहेका छन् ।
त्यसैगरी आधारभूत एवम् माध्यमिक तहस्तरिय पुरुष एवम् महिला टेबलटेनिस प्रतियोगिता(एकल र युगल), आधारभूत एवम् माध्यमिक तहस्तरिय उसु, कराँते र तेक्वान्दो प्रतियोगिताका विभिन्न विधा, पुरुष एवम् महिला खुला चेस प्रतियोगिता रहेका छन् । कार्यक्रमका खेलहरु कैदले खेलमैदानसँगै अर्जुनधारा–८स्थित एम्स एकाडेमी, अर्जुनधारा–९स्थित नमूना खेलमैदान, अर्जुनधारा–६स्थित ब्रीलियन्ट पिपुल्स सेकेण्डरी स्कूल, अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको कभर्ड हल र अर्जुनधारा–६स्थित हिमाली एजुकेशन फाउण्डेशनमा सञ्चालन हुने कार्यक्रमको तालिकामा उल्लेख गरिएको छ ।
कार्यक्रममा पालिकाका ३५ वटा संस्थागत विद्यालयका पाँच हजार जना बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्याब्सन अर्जुनधाराका उपाध्यक्ष प्रविन कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेललगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here