विराटनगर ।

मोरङ, सुनसरी र ताप्लेजुङको बिभिन्न स्थानहरुबाट लागूऔषध ओसार पसार तथा बेचबिखनमा संलग्न दुई महिला सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु एक थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका–१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई एक ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बूलाई एक ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर–११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यता सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले दुई ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान–१९ का समिर बिश्वकर्मा र अर्जुन बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय धरानले प्र १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभूमी गाउँपालिकाका सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधि ६८ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































