
जीवनलाई उत्कृष्ट बनाउनु भनेको धन, पद, प्रतिष्ठा वा बाहिरी सफलता मात्र कमाउनु होइन । वास्तविक उत्कृष्टता भनेको आफ्नो मनलाई कसरी चलाउने भन्ने सिक्न सक्नु हो । मनलाई स्थिर, अनुशासित र सकारात्मक दिशामा राख्न सक्नु हो । मानिसको मन नै जीवनको मूल केन्द्र हो । हामी बाहिर देखिने हरेक शब्द, व्यवहार, निर्णय र सम्बन्ध मनकै अवस्थाबाट जन्मन्छन् । त्यसैले मनलाई बुझ्नु र सम्हाल्नु जीवनको सबैभन्दा आवश्यक कला हो ।
मानिसको मस्तिष्कमा दुई प्रकारका प्रतिक्रियालाई नियन्त्रण गर्ने संरचना हुन्छ ।
पहिलो ः भावनात्मक केन्द्र, जहाँ रिस, डर, दुख, घृणा, खुशी लगायतका भावना तुरुन्त जगिन्छन् ।
दोस्रो ः तर्कशील केन्द्र, जहाँ सोच, अनुभव, विवेक, सामाजिक ज्ञान र भविष्यको परिणामको मूल्याङ्कन हुन्छ ।
जब कसैले हामीलाई अपमान गर्छ, गल्ती देखाउँछ, वा हाम्रो अहंकारलाई छुन्छ, ठिक त्यो क्षण सबैभन्दा पहिले भावनात्मक केन्द्र सक्रिय हुन्छ । यही कारणले मानिस तुरुन्त रिसाउँछ, झर्किन्छ या कठोर शब्द प्रयोग गर्छ । मनोविज्ञानमा यस अवस्थालाई एमिग्डाला हाइजेक भनिन्छ, जहाँ भावना तर्कभन्दा अगाडि भाग्छ ।
यस्तो क्षणमा बोलेको एक कठोर वाक्यले वर्षौंदेखि बनाएको विश्वास तोड्न सक्छ, सम्बन्धमा दूरी सिर्जना गर्न सक्छ र मनमा पछुतो बसाल्न सक्छ । हामीले धेरैपटक जीवनमा सुनेका हुन्छौं– ‘मलाई त्यसबेला बोल्नु हुँदैनथ्यो’ भनेर । त्यो क्षणमा रोक्न सकिएको भए आज परिस्थिति फरक हुने थियो । तर रोचक कुरा के छ भने मनलाई सम्हाल्न ठूलो योग, साधना वा कडा अनुशासन मात्र चाहिँदैन ।
केबल पाँच सेकेन्ड
हो, केबल पाँच सेकेन्ड रोकिएर श्वास भित्र–बाहिर गर्दा हाम्रो तर्कशील केन्द्र पुनः सक्रिय हुन थाल्छ । मनोविज्ञानमा यसलाई माइक्रो पस भनिन्छ । एउटा सानो तर निर्णायक रोकावट । यो पाँच सेकेन्डमा मस्तिष्कमा चलिरहेको तनाव, रिस, डर उत्पन्न गर्ने रसायन (जस्तैः कोर्टिसोल÷नोरेपिनेफ्रिन) क्रमशः घट्न थाल्छ । अनि तर्क गर्ने भाग प्रिफ्रन्टल कोर्टेक्स बलियो हुन्छ । त्यसपछि मानिसले आफूलाई सोध्न थाल्छ ः
– के यो शब्दले अर्कोको मन दुखाउँछ ?
– के यो प्रतिक्रिया उचित हो ?
– के यसले समस्या समाधान गर्छ ?
– कि अझ बिगार्छ ?
यत्तिकै सोधाइले मनको आँधी तुरुन्त शान्त हुन थाल्छ । यसरी रोकिएको क्षणमा जन्मिएको शब्द परिपक्व हुन्छ । र, परिपक्व शब्दले सम्बन्ध जोड्छ, उपचार गर्छ, समझदारी बढाउँछ र सहानुभूति पैदा गर्छ । त्यसैले, पाँच सेकेन्डको मौन केबल ‘मौन’ होइन यो आत्म नियन्त्रणको शक्ति हो ।
शब्द मनोविज्ञानमा अत्यन्त शक्तिशाली हुन्छन् । हामीले बोलेको वाक्य अरुको मनमा भावनात्मक तरंगको रूपमा प्रतिबिम्बित हुन्छ । कसैलाई कडा व्यवहार गर्दा उसमा पनि त्यही भावना सक्रिय हुन्छ । यसलाई मिरर न्यूरोन्स इफेक्ट भनिन्छ । त्यसैले क्रोधमा बोलेको शब्दले अर्कोको मनमा पनि क्रोध जन्माउँछ । तर शान्त मनले बोलेको शब्दले अर्कोको मनमा शान्ति जगाउँछ । त्यसैले जीवनमा मनले उठाएको पहिलो आवेगलाई रोक्न सिक्नु अत्यन्त आवश्यक छ । मनलाई नियन्त्रण गर्नु भनेको भावनालाई दबाउनु होइन, भावनालाई सही समयमा, सही तरिकाले अभिव्यक्त गर्न सिक्नु हो । जो मानिस आफ्नो पहिलो प्रतिक्रिया नियन्त्रण गर्न सक्छ ।
– ऊ झगडा टार्न सक्छ,
– ठूला समस्या साना बनाउन सक्छ,
– सम्बन्धहरूलाई सुरक्षित राख्न सक्छ,
– र जीवनलाई गहिरो अर्थ दिन सक्छ ।
अन्ततः वास्तविक शक्ति के हो ?
ठूलो स्वरमा बोल्नु होइन समय, परिस्थिति र भावनालाई बुझेर किन, कहिले र कस्तो शब्द बोल्ने भन्ने निर्णय गर्न सक्नु नै वास्तविक शक्ति हो । त्यसैले यदि जीवनलाई साँच्चिकै राम्रो बनाउनु छ भने जवाफ दिनुअघि पाँच सेकेन्ड रोकिनुहोस् । यही सानो मौनले तपाईको चरित्र, सम्बन्ध र भविष्य बदल्न सक्छ । मन जित्न सके जीवन आफैँ सफल हुन्छ ।


























