जेनजी आन्दोलन : आगजनी र तोडफोड गर्नेहरुको तस्बीर सार्वजनिक

0
42

झापा , कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्नेहरुको तस्बीर सार्वजनिक गर्न शुरु गरेको छ । सामाजिक सञ्जाल मार्फत प्रदेश प्रहरी कार्यालयले तस्वीरहरु सार्वजनिक गर्दै तोडफोड र आगजनीमा सम्लग्नहरु धमाधम पक्राउ गर्न शुरु गरेको हो ।

झापाका इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा, इलाका प्रहरी कार्यालय दमकमा आजगनी र तोडफोड गर्ने, हातहतियार लुट्ने, सञ्चारसेट लुट्ने र पोशाक लुट्नेहरुको तस्बीर सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जालसहित फेकसवुक, इन्सटाग्राम, टिकटक, लगायतका सीसी क्यामेराको फुटेजका माध्यमबाट तोडफोड र आगजनीमाहरुको पहिचान गर्दै प्रहरीले उनीहरुको तस्वीर सार्वजनिक गरेको छ । प्रहरीले तस्बीर लाई आधार मानेर आगजनी र तोडफोडमा सम्लग्नहरुको खोजीकार्य तीब्र बनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले झापाका चार वटा प्रहरी कार्यालयमा गरिएको तोडफोड र आगजनीमा सम्लग्नको विवरण सार्वजनि गरेको हो ।

जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न मध्ये हालसम्म १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए ।

सो घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जेनजी आन्दोलनमा सहभागी मध्ये प्रहरीले हालसम्म विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई लाई पक्राय गरेको छ ।

त्यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुनसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ । अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको थियो जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो ।

त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुईरदुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एकरएकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो ।

दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आगजनी र तोडफोड भएको थियो ।

उता तोडफोड र आगजनीबाट मोरङमा १५५ वटा भवन तथा सरकारी संरचनामा क्षति पुगेको थियो । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा रहेका दर्जनौँ सरकारी कार्यालय र भवनमा तोडफोड र आगजनी भएको थियो । मोरङ जिल्लाभित्र १०३ वटा सरकारी कार्यालयसहित १५५ वटा भवन संरचनामा क्षति पुगेको थियो । मोरङमा ७३ वटा सङ्घीय कार्यालय रहेकामा २१ वटामा क्षति पुगेको बताइएको छ।

प्रदेश सरकार अन्तरगतका ३९ वटा कार्यालयमध्ये १४ वटामा क्षति पुगेको छ। त्यस्तै स्थानीय सरकारतर्फ १७ वटा पालिका भवनमध्ये १० मा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मोरङसंग तथ्याङ्क छ।

त्यसैगरी १५ वटा निजी घरहरू, ८ वटा पार्टी कार्यालयहरू, चार वटा सङ्घसंस्थाका कार्यालय र तीनवटा व्यापारिक भवनमा क्षति भएको जनाइएको छ। मोरङमा सुरक्षा निकायतर्फ नेपाल प्रहरीको १७ वटा पोस्ट तथा कार्यालयमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका चारवटा पोस्टमा क्षति भएको जनाइएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएको आगजनी तोडफोड र लुटपाटका कारण कोशी प्रदेश सरकाको मात्रै ७७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

भदौ २४ गते भएको हिंसात्मक आन्दोलनपछि कोशी प्रदेश सरकारले गठन गरेको अध्ययन तथा मूल्याङ्कन समितिले सो विवरण प्रदेश सरकारलाई बुझाएको हो । प्रदेश सरकारले प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर विनम दाहालको संयोजकत्वमा क्षति अध्ययन तथा मूल्याङ्कन समिति गठन गरेको थियो ।

समितिमा वरिष्ठ लेखा अधिकृत ध्यानविलास राई, ई आश्या भट्टराई, ई प्रवीणकुमार यादव र ई सोनम सिन्हा सदस्य सचिव रहेका थिए । सो समितिले तयार पारेको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।

समितिले बुझाएको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा भएको कुल क्षतिमध्ये आधा भन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । आन्दोलनका क्रममा पुगेको कुल क्षतिको ५४ प्रतिशत क्षति सवारी साधनमा परेको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनका क्रममा प्रदेश सरकारका विभिन्न कार्यालयका २६५ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ । सवारी साधनमा भएको आगजनी र तोडफोडबाट ४१ करोड ५२ लाख ९४ हजार बराबरको क्षति भएको छ ।

जेन–जी आन्दोलनका बेला भएको हिंसात्मक आन्दोलनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै भन्दा बढी नोक्सानी भएको छ । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्रै आन्दोलनका कारण १५ करोड ६२ लाख ३० हजार ७५५ रुपैयाँको नोक्सानी भएको प्रतिवेदनले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमा रहेका सवारी साधनमा तोडफोड र आगो लगाइदा ७ करोड ७९ लाख ४१ हजार ६७२ रुपैयाँ बराबरको क्षति पुगेको छ । सो मन्त्रालयमा रहेका ३६ वटा सवारी साधनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, एसी, फ्रिज आदि उपकरण तोडफोड आगजनी र लुटपाट हुँदा १० करोड ५१ लाख ८५ हजार ७८७ रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा रहेका फर्निचर नष्ट हुँदा ४ करोड ३१ लाख भन्दा बढीको क्षति पुगेको छ ।

यस्तै आन्दोलनका क्रममा सरकारी सूचना प्रणालीमा रहेका सर्भर कम्प्युटर, राउटर, टेलिफोन, साउन्ड सिस्टममा आगजनी र तोडफोड गर्दा १ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । यस्तै विभिन्न कार्यालय र मन्त्रालयमा रहेका ग्यास चुलो, सिलिन्डर, पर्दा, बिजुलीको तार आदिमा ४१ लाख ७८ हजार बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

कुन मन्त्रालयमा कति क्षति ?

भदौ २४ गते भएको आन्दोलनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार ७१४ रुपैयाँको क्षति भएको छ । आन्दोलनका क्रममा मन्त्रालयका दुई वटा भवनसहित झापा, मोरङ, सुनसरीका मातहतका कार्यालयमा क्षति पुगेको थियो ।

मन्त्रालयको ६ करोड ८० हजार बराबरका सवारी साधन जलेका छन् । मन्त्रालयका २७ वटा सवारी साधनमा क्षति पुगेको प्रतिवेदनले जनाएको छ । यसै गरी कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार ४९८ रुपैयाँ पुगेको छ ।

मन्त्रालयको स्वामित्वमा रहेका सवारी साधनमा आगो लगाइदा ६ करोड ४३ लाख ५९ हजार ६३१ रुपैयाँको क्षति भएको छ । मन्त्रालयका ३४ वटा सवारी साधनमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनका क्रममा कोशी प्रदेश सभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजार ३५२ रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्रदेश सभा सचिवालयको मातहतमा रहेका सवारी साधनमा आगो लाग्दा ५ करोड ५ लाख ३७ हजार ७९६ रुपैयाँ बराबरको क्षति भएको छ।

यसै गरी कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा आन्दोलनका क्रममा ८ करोड ८८ लाख ७९ हजार ६९१ रुपैयाँको क्षति भएको छ । मन्त्रालयमा रहेका सवारी साधन तोडफोड र आगो लगाइदा ४ करोड ४४ लाख ७५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका ५१ वटा मोटरसाइकल÷ स्कुटरसहित कुल ६१ वटा सवारी साधनमा क्षति पुगेको छ ।

यसै गरी कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आन्दोलनका बेला ८ करोड १५ हजार ८३० रुपैयाँको क्षति भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका सवारी साधन जल्दा ६ करोड ३७ लाख ८९ हजार ८९५ रुपैयाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका २९ वटा सवारी साधनमा क्षति भएको छ ।

आन्दोलनका क्रममा कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार १७६ रुपैयाँको नोक्सानी भएको छ । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा ३ करोड ५८ लाख ४० हजार ७९५ रुपैयाँको नोक्सानी भएको छ ।

जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार ३७६ रुपैयाँको क्षति भएको छ । आन्दोलनका क्रममा सामाजिक विकास मन्त्रालयमा १ करोड २२ लाख २२ हजार १३४ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार प्रदेश लगानी प्राधिकरणमा सबैभन्दा कम क्षति भएको छ । प्राधिकरणमा २ लाख ९९ हजार ८५० रुपैयाँको क्षति भएको प्रतिवेदनमा जनाइएको छ । यस्तै मुख्य महान्यायाधिवक्ता कार्यालयमा ५ हजारको सामान्य नोक्सानी भएको छ ।

पुनर्निर्माणमा साढे १८ करोड लाग्ने

क्षतिग्रस्त सरकारी भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि १८ करोड ४६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । आन्दोलनका क्रममा सबै भन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ ।

भवन पुनर्निर्माणको भार भने सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा परेको छ । मर्मतका लागि ६ करोड ४७ लाख ७३ हजार २१४ रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । उद्योग कृषि तथा सहकारी मन्त्रालयको भवन पुनर्निर्माण गर्न ३६ लाख ९० हजार ९९९ रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सभा सचिवालयको क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि ४ करोड ६७ लाख १० हजार ९३० रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । पूर्वाधार विकास मन्त्रालयका भवनहरूको पुनर्निर्माणमा १ करोड ६२ लाख ५५ हजार ७१७ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिवेदनमा मन्त्रालयका सचिवको आवास, महाशाखा प्रमुखको आवास तथा साबिकको सहरी विकास कार्यालय मोरङ र पूर्वाधार विकास कार्यालय झापाका भवन निर्माण गर्न समेत सो रकम लाग्ने अनुमान गरिएको छ ।

पर्यटन मन्त्रालयका भवनहरू मर्मत तथा पुनर्निर्माण गर्न १ करोड २ लाख ४९ हजार ८९९ रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालय मातहतका भवन पुनर्निर्माणमा ३३ लाख ३५ हजार १४२ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगतका कार्यालयहरूको भवन पुनर्निर्माण गर्न ३ लाख ६४ हजार ५६५ रुपैयाँ मात्र रहेको छ ।

खानेपानी मन्त्रालयको पुनर्निर्माण लागत ७८ लाख ७६ हजार ५९८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । नयाँ निर्मित मन्त्रालयको भवन मोरङ र उदयपुरको भवन, जलस्रोत तथा डिभिजन कार्यालयमा क्षति पुगेको थियो । सामाजिक विकास मन्त्रालयमा रहेका भवन पुनर्निर्माणमा ३५ लाख ४७ हजार ४३ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here