बिर्तामोड ।

स्व. भक्तराज कन्दङ्वाको १८औं स्मृति दिवस बिर्तामोड मनाएको छ ।
गौरीशंकर प्रतिष्ठान तथा नेपाली कम्युनिष्ट पार्टी झापाको सभाहलमा बुधबार अग्रज कम्युनिष्ट योद्धाहरुको उपस्थितिमा स्मृति दिवस मनाइएको हो ।
किरात राष्ट्रिय मुक्ति मोर्चा झापाका अध्यक्ष नविन किरातीको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि किरात लिम्बुवान मुक्ति मोर्चाका उपमहासचिव देशु वनेम रहेका थिए ।
प्रमुख अतिथि वनेमले जातीय मुक्ति आन्दोलनको शंखघोष गर्ने व्यक्ति साथै पहिचान र संघीयताको आवाज उठाउने पूर्वका योद्धा स्वर्गीय कन्दङ्वा भएको बताएका थिए ।
कार्यक्रममा प्रदेश १ का सांसद सचिनले स्वर्गीय कन्दङ्वाको जीवनी वाचन गरेका थिए भने केन्द्रीय सदस्यद्वय झलकसिंह दर्लामी, वेदराज रेग्मी लगायतले भक्तराजको योगदानको विषयमा चर्चा गरेका थिए ।
झापा संयोजक जेबी जबेगूले स्वागत गरेको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव दिपीन राई, पार्टी प्रदेश उपाध्यक्ष विजय साम्पाङ, सचिवालय सदस्य राजु चुडाल, रिटर्नीका गणेश कालिकोटे, प्रदेश सदस्य तथा महिला नेतृ जया सुब्बा लगायतको आतिथ्य रहेको थियो ।
स्व. भक्तराज कन्दङ्वा तेह्रथुमको आठराईमा जन्मेर कम्युनिष्ट आन्दोलनसँगै जातीय मुक्तिको बाटो पहिल्याउन पूर्वीय क्षेत्रका जनतालाई आह्वान गर्थे ।





























