विनोद सापकोटा
झापा , शिवसताक्षी नगरपालिका–३ पाराबारीस्थित भानु माध्यमिक विद्यालयले सञ्चालन गरेको ‘हाम्रो विद्यालय हामी बनाउँछौँ’ अभियान प्रभावकारी बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ। अभियान प्रारम्भसँगै भौतिक सुधारदेखि अभिभावक–विद्यार्थीको विद्यालयप्रतिको आकर्षणसम्म उल्लेख्य परिवर्तन देखिएको विद्यालयले बताएको छ। 
प्रधानाध्यापक गणेश चौलागाईंका अनुसार अभियान प्रारम्भ भएपछि खानेपानी निर्माण, कार्यालय व्यवस्थापन सुधार, विद्यालय चौरको घाँस कटिङजस्ता आधारभूत पूर्वाधार व्यवस्थापन पूरा भइसकेका छन्।
“अभियानले विद्यालयमा नयाँ ऊर्जा थपिएको छ। सबै पक्षको सक्रियताले विद्यालय क्रमशः रूपान्तरित हुँदैछ,” उनले भने।
सार्वजनिक विदामा पनि अनिवार्य गणित कक्षा
अभियानअन्तर्गत विद्यालयले सार्वजनिक विदाका दिन कक्षा १० का विद्यार्थीका लागि अनिवार्य गणित कक्षा सञ्चालन गर्दै आएको छ। कक्षा १० मा अध्ययनरत ४० विद्यार्थीलाई लक्षित कक्षामा दमकस्थित हिमालय माध्यमिक विद्यालयका गणित शिक्षक राजेश गुरागाईले अध्यापन गराइरहेका छन्।
स्थानिय पाथिभरा टोलका निवासी गुरागाई विदामा घर आएको समयमा आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई निःशुल्क सेवा गर्दै आएका छन्।
“विद्यार्थी गणितमा सामान्यतया कमजोर हुने भएकाले उनीहरूलाई सघाउनु शिक्षकको दायित्व हो भन्ने बुझेर म यहाँ सेवा गर्न आएको हुँ,” गुरागाईले बताए।
गुरागाई सार्वजनिक विदाको प्रत्येक दिन तीन घण्टा गणित पढाइरहेका छन्। गणितमा कमजोरीका कारण एसईईको नतिजामा असर परिरहेको भन्दै विद्यालयले यस कक्षालाई विशेष प्राथमिकतामा राखेको प्रधानाध्यापक चौलागाईंले स्पष्ट पारे।
वडाबाट निःशुल्क ट्युसन कार्यक्रम
भानु माविमा शिवसताक्षी–३ वडा कार्यालयको सहयोगमा निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन भइरहेको छ। वडा अध्यक्ष भास्कर न्यौपानेका अनुसार गत वर्षदेखि थालिएको यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ।
“गत वर्ष विद्यालयको एसईई नतिजा ६७ प्रतिशत पुगेको थियो। यसमा ट्युसन कक्षाको ठूलो भूमिका रह्यो,” उनले बताए।
यस वर्ष अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित, ऐच्छिक गणित, विज्ञान तथा सामाजिक विषयमा कक्षा सञ्चालन भइरहेको छ। ऐच्छिक गणित र विज्ञान नयाँ बोहरा, अनिवार्य गणित कृष्ण पोखरेल तथा सामाजिक र व्यवस्थापनसम्बन्धी कक्षा प्रधानाध्यापक चौलागाईंले अध्यापन गराइरहेका छन्।
यी कक्षाहरू बिहान र बेलुका सञ्चालन हुने गरेका छन्। कार्यक्रमका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
अभिभावकको धारणा सकारात्मक बन्दै
अभियान प्रारम्भ भएको २६ दिनमै विद्यालयप्रतिको अभिभावक सक्रियता उल्लेख्य रूपमा बढेको विद्यालयले जनाएको छ। सामुदायिक विद्यालयप्रति मानिसको नकारात्मक धारणा बढ्दै गएको अवस्थामा ‘हाम्रो विद्यालय हामी बनाउँछौँ’ अभियानले विश्वास पुर्नस्थापित गरेको प्रधानाध्यापक चौलागाईंले बताए।
“विद्यालयका हरेक कार्यक्रममा अभिभावकको उपस्थिति बढेको छ। उनीहरूको सहभागिताले विद्यालयमा सकारात्मक वातावरण निर्माण भइरहेको छ,” उनले भने।
विद्यार्थी सन्तुष्ट, उच्च माध्यमिक तह विस्तारको माग
विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी आदिवासी जनजाति तथा आर्थिक रूपमा कमजोर परिवारका हुन्। अभियान सुरु भएपछि विद्यालयको वातावरण, प्रशासन र पठनपाठन गुणस्तरमा आएको सुधारबापत विद्यार्थी आफैँ सन्तुष्टि व्यक्त गर्न थालेका छन्।
“अब हामी कक्षा ११–१२ पनि यहीँ पढ्न चाहन्छौँ,” विद्यार्थीहरूको सामूहिक भनाइ उद्धृत गर्दै विद्यालयले जनाएको छ। विद्यार्थीहरूले माध्यमिक तह विस्तारका लागि मागसमेत राखेका छन्।
पूर्व–प्राथमिकका लागि निःशुल्क पाठ्यपुस्तक
वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि पूर्व–प्राथमिक तहका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको छ। आवश्यक बजेटसमेत विनियोजन भइसकेको वडा कार्यालयले जनाएको छ।
शिवसताक्षी–३ मा एक माध्यमिक, दुई आधारभूत (१–५) तथा एक (१–८) आधारभूत विद्यालय रहेका छन्। “गुणस्तरीय शिक्षा हाम्रो प्रमुख प्राथमिकता हो,” वडा अध्यक्ष न्यौपानेले भने, “यसअन्तर्गत वडाले विभिन्न शैक्षिक कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।”




























