पत्रिकाको आवश्यकता अझ बलियो किन ?

0
92

डिजिटल युगको उभारबीच दैनिक पत्रिकाको अविचल प्रासङ्गिकता

पूर्वाञ्चल दैनिक निरन्तर प्रकाशनको ३१ वर्षमा प्रवेश गरेको छ । नियमित प्रकाशनका दृष्टिले पूर्वाञ्चल साविक मेची अञ्चलकै जेठो दैनिक पत्रिका हो । नेपालको पहिलो पत्रिका सुधासागर (साहित्यिक–१९५५) हो । तर समाचारमूलक अखबारको रुपमा प्रकाशित पहिलो पत्रिका गोर्खापत्र (१९९८) हो । नेपालकै जेठो समाचारपत्र गोर्खापत्र प्रकाशनको १२५ वर्षमा प्रवेश गरेको छ । विश्वको सबैभन्दा पुरानो जीवित अखबार इटालीको ‘ला गजेट डी मोन्टोभा’ (सन् १६६४ ) हो । विश्वको पहिलो दैनिक पत्रिका भने ‘दी लन्डन डेली कुरान्ट’ हो । बेलायतमा सन् १७०२ मार्च ११ मा यसको प्रकाशन शुरु भयो ।

नेपालमा आठ हजारको हाराहारीमा पत्रपत्रिका दर्ता छन् । छिमेकी देश भारत विश्वकै धेरै प्रकाशन भएको देशमध्येमा पर्दछ । भारतमा १० हजारभन्दा बढी प्रकाशन दर्ता भएका छन् । त्यहाँ पनि केही अखबारले शतक लामो इतिहास बोकेका छन् । गुजराती भाषामा प्रकाशित हुने ‘बम्बे समाचार’ सन् १८२२ देखि प्रकाशन सुरु भएको हो र यो एसियाकै सबैभन्दा पुरानो र नियमित प्रकाशन हुँदै आएको अखबार हो । इतिहासतिर हेर्दा आधुनिक सञ्चारमाध्यम अर्थात् आमसञ्चारका माध्यमहरु मध्ये पहिलो माध्यम प्रिन्ट मिडिया नै हो । जस्ले अहिलेको डिजिटल विश्वमा पनि आफ्नो महत्व अविचल राखेको छ । यस पृष्ठभूमिमा मिडियाको डिजिटल युगमा पत्रिकाको प्रभावकारिता र महत्वबारे तथ्यगत चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

विश्व २१औं शताब्दीमा डिजिटल क्रान्तिको शीर्ष बिन्दुतर्फ तीव्रगतिमा बढ्दै छ । स्मार्टफोन, सामाजिक सञ्जाल, अनलाइन समाचार पोर्टलहरू र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सामग्री उत्पादनका माध्यमले समाचार उपभोगको रूप–रचना नै बद्लिदिएका छन् । डिजिटल प्रविधि यति तीव्रगतिमा अगाडि बढिरहेको छ कि आजको व्यक्तिको दैनिक जीवन अनलाइन पहुँच बिना अधुरो जस्तै बन्छ । सूचनाको त्वरित बाढी, सामाजिक सञ्जालको निरन्तर गतिविधि, मोबाइल स्क्रिनको निर्बाध झिल्की–यी सबैले मानिसको ध्यानदेखि व्यवहारसम्म परिवर्तन गरिदिएका छन् । आज सूचनाको प्राप्ति क्षणभरमै सम्भव छ, ‘ब्रेकिङ’ सूचनाले मानिसको चेतना निरन्तर रिझाइरहेको छ ।

नेपालको सन्दर्भमा कोभिड–१९ सँगै धेरै प्रिन्ट मिडिया बन्द भए । त्यसबेला एउटा भ्रम नै फैलाइयो– पत्रिकाबाट कोभिड सर्छ, पत्रिका ल्याउन बन्द गर । लकडाउनभर प्रायः सबै पत्रिका बन्द रहे । त्यति बेलै बन्द भएका धेरै पत्रिका अहिलेसम्म निस्केनन् । पूर्वाञ्चल दैनिकले भने संकटको घडीमा पनि प्रकाशनलाई निरन्तरता दियो । हाल नेपालका प्रायः पत्रिका विज्ञापन अभावमा संकटान्मुख छन् । कोभिडसँगै आममानिसले सूचनाको स्रोतका लागि डिजिटल प्लेटफर्ममा पहुँच बढाए, विज्ञापन पनि सामाजिक सञ्जालतर्फ डाइभर्ट भए । यति व्यापक र त्वरित् डिजिटल वातावरणबीच एउटा पुरानै माध्यम–दैनिक पत्रिका–धेरैले अब पृष्ठभूमिमा हराउने अनुमान गर्छन् । तर, वास्तविकता त्यसको ठ्याक्कै उल्टो छ । यसैबीच, एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ– के दैनिक पत्रिकाको आवश्यकता अझै बाँकी छ ?

उत्तर सरल छैन, तर स्पष्ट अवश्य छः छ– र अझै बलियो रूपमा छ । किनभने डिजिटल प्लेटफर्मले ‘छिटो’ त बनाएको छ, तर विश्वसनीयता, गहिराइ र धैर्य– यी गुणहरू आज पनि मुद्रित पत्रिकाको पहिचान हुन् । यसैले आधुनिक प्रविधिले समाचारलाई हात–हाता बनाइदिए पनि सत्यलाई गहिरो र सन्तुलित रूपमा बुझ्ने माध्यमका रूपमा दैनिक पत्रिकाको भूमिका अझै उत्तिकै सान्दर्भिक छ ।

सूचनाको बाढी, तथ्य–उल्झन, हतारोको संस्कृति र डिजिटल अराजकताले दैनिक पत्रिकाको भूमिका झन् अपरिहार्य, झन् प्रासङ्गिक र झन् मूल्यवान बनाइदिएको छ । आज दैनिक पत्रिका केबल समाचार छाप्ने माध्यममात्र होइन, यो लोकतन्त्रको संरक्षक, सार्वजनिक चेतनाको दिशानिर्देशक र सत्यको दस्तावेज बनेर उभिएको छ ।

१. डिजिटल हुल्लडबीच संयमित
पत्रकारिताः विश्वसनीयताको आधारस्तम्भ

डिजिटल प्लेटफर्महरू गति र पहुँचका कारण लोकप्रिय छन्, तर यही गति कहिलेकाहीँ पत्रकारिताको मूल मूल्य (तथ्य, स्रोत र सन्तुलन)को क्षयको कारण बन्छ । अनलाइन माध्यममा ‘पहिलो बन्ने’ प्रतिस्पर्धाले अपुष्ट सूचना, अनुमानमा आधारित शीर्षक, ‘क्लिकबेट’ संस्कृति (सामग्री हेर्न, लिङ्क क्लिक गर्न बाध्य बनाउने चारोरुपी समाचार शीर्षक) र भावनात्मक उत्तेजनाले भरिएका सामग्री फैलिन सहज बनाएको छ । आज डिजिटल प्लेटफर्ममा आउने फेक न्यून, मिस इन्फरमेशन र डिस इन्फरमेशनले आममानिसलाई भ्रमित बनाएको मात्र छैन समाजमा नेगेटिभिटि पनि प्रशस्त बढाएको छ । तर, दैनिक पत्रिका भने तथ्य–पुष्टि, सम्पादकीय छलफल, स्रोतको विश्वसनीयता परीक्षण र गहिरो समिक्षात्मक दृष्टिकोण द्वारा मात्र सामग्री प्रकाशित गर्छ ।

पत्रिकाको समाचार छापिनुअघि धेरै तहको समीक्षा प्रक्रिया–सम्पादक, सह–सम्पादक, प्रुफ र अनुभवी पत्रकारबीचको परामर्श–गरेर मात्र पाठकसमक्ष पुग्छ । यही कठोर पेशागत अनुशासनले मुद्रित पत्रिकालाई आज पनि विश्वसनीयताको सर्वाधिक स्थिर आधार बनाइदिएको छ । जब डिजिटल सूचनाको भीड बाहिर एक नागरिक विश्वसनीय स्रोत खोज्छ, उसका लागि पहिलो विकल्प अझै पनि पत्रिका नै हुन्छ ।

२. समाचारको मात्र होइन,
सन्दर्भ– अनुप्रयोग सहितको गहिरो विश्लेषण

सूचना आज छिटो आउँछ, तर बुझाइ भने कमजोर बनिरहेको छ । डिजिटल माध्यम धेरैजसो तथ्य मात्र दिन्छ, तर सन्दर्भ र असर दिन निकै कमजोर हुन्छ । दैनिक पत्रिकाका विश्लेषणात्मक लेख तथा समाचार–राजनीतिक घटनाक्रमको पृष्ठभूमि र सम्भावित दिशाहरू, आर्थिक नीतिहरूका लाभ–हानीको तुलनात्मक अध्ययन, सामाजिक चुनौतीहरूबारे विशेषज्ञ टिप्पणी, अन्तर्राष्ट्रिय शक्तिसन्तुलनबारे विश्लेषणात्मक विमर्श जस्ता विषयमा गम्भीर योगदान दिन्छन् ।

उदाहरणका लागि, बजेट सार्वजनिक हुँदा डिजिटल माध्यमले– ‘यी शीर्षक, यी कार्यक्रम’ मात्र भन्छ तर पत्रिकाले भने– बजेटका प्राथमिकता, आर्थिक दर्शन, वित्तीय जोखिम, खर्च कार्यान्वयनको यथार्थ र नागरिक जीवनमा दीर्घकालीन प्रभाव–सबैलाई जोडेर बुझाउँछ । यसरी, पत्रिकाको भूमिकाले नागरिकलाई केवल सूचित बनाउँदैन, विचारवान, सचेत र निर्णयक्षम पनि बनाउँछ ।

३. स्क्रिनको हतारोबाट मुक्त
विश्लेषण– अनुकूल वातावरण

डिजिटल पढाइ प्रायः सतही हुन्छ । नोटिफिकेशनको भीड, विज्ञापनको हस्तक्षेप, निरन्तर स्क्रोलिङ्गको संस्कृतिले पाठकलाई गम्भीरतासँग पढ्न बाधा पु¥याउँछ । तर, पत्रिका शान्त वातावरणमा, ध्यान केन्द्रित गरेर, क्रमबद्ध रूपमा सामग्री बुझ्ने र बिना अवरोध विचार विस्तार गर्ने अवसर प्रदान गर्छ । पत्रिका पढ्ने बानी–बिहानको कफीसँग, भान्साघरको छेउमा वा कार्यालय जाने बस यात्रामा– केबल पढाइ होइन, यो बौद्धिक अनुशासन हो । यसले व्यक्तिलाई सूचना ग्रहण मात्र होइन, सूचना बुझ्ने क्षमता पनि विस्तार गर्छ । यसरी, डिजिटल हतारोको समयमा पत्रिका– ध्यान, गहिराइ र सन्तुलनको प्रत्यक्ष अभ्यास बनेको छ ।

४. ग्रामीण तथा सीमान्त समुदायका
लागि अझै प्रमुख सूचना– स्रोत

नेपाल जस्ता देशमा डिजिटल पहुँच समान छैन । इन्टरनेट संरचना, आर्थिक क्षमता, प्राविधिक दक्षता–यी सबै कारणले ग्रामीण क्षेत्रमा डिजिटल सूचना प्राप्ति सीमित छ । त्यहाँ दैनिक पत्रिका, सरकारी सूचना, स्थानीय नीति–निर्णय, सार्वजनिक सेवा घोषणा, शिक्षा र स्वास्थ्य सम्बन्धी जानकारी प्राप्त गर्ने मुख्य माध्यम हो । पत्रिका स्थानीय भाषामा र स्थानीय सन्दर्भमा लेखिन सक्ने भएकाले यो समुदायमा सूचना अधिकारको मुख्य माध्यमका रूपमा कायम छ । डिजिटल विभाजनको अवस्थामा पत्रिकाले सामाजिक समानता र अवसरको पुल बनाइदिन्छ ।

५. इतिहास, स्मृति र समाजको संरक्षित दस्तावेज

पत्रिका आजको मात्र समाचार होइन, भोलिको इतिहास पनि हो । २०७२ को भूकम्प, २०५८ को दरबार हत्याकाण्ड, २०४६ र २०६२÷०६३ का जनआन्दोलन, २०८२ भदौ २३ र २४ को जेन–जी विद्रोह, २०५२ देखि दशक लामो माओवादी विद्रोह, विश्व राजनीति र अर्थतन्त्रका उतार–चढाव यी सबैको यथार्थपरक अभिलेख आज पनि पत्रिकामा छ । सामाजिक सञ्जालको सामग्री समयका साथ हराउँछ, अनलाइन साइटहरू परिवर्तन हुन्छन्, डेटा सधैँ सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर, पत्रिकाको अभिलेख भौतिक, स्थिर र प्रमाणिक रहन्छ ।

शोधकर्ता, इतिहासविद्, नीति–निर्माता र विद्यार्थीका लागि पत्रिका आज पनि मूल स्रोत हो । पत्रिकाको एउटा पाना समयको एक मौन साक्षी हो– कि समाज कुन मोडमा थियो, नागरिकका आवाज कस्ता थिए, राज्यका प्राथमिकताहरू कस्ता थिए । २०६२÷०६३ को जनआन्दोलन अवधि १९ दिनका पत्रिकामा आएका घटनालाई मुख्य स्रोत मानेर मैले जनआन्दोलन २ नामक पुस्तक नै प्रकाशन गरें । यो उदाहरणको औचित्य किन छ भने यसरी इतिहास, स्मृति र समाजको संरक्षित दस्तावेज बनेको छ पत्रिका ।

६. लोकतन्त्रको चौथो शक्ति :
उत्तरदायित्व सुनिश्चित गर्ने पहरेदार

प्रजातन्त्र वा गणतन्त्र केवल मतदानले चल्दैन, यो सूचना, पारदर्शिता र उत्तरदायित्वमा टिकेको व्यवस्था हो । पत्रिकाले अनियमितता उजागर गर्ने, भ्रष्टाचारमा संलग्न संरचनालाई प्रश्न गर्ने, नीतिगत त्रुटि देखाउने, सरकारी काम–कारवाहीको समीक्षा गर्नेकाममा ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अनलाइन माध्यममा पनि खोज–समाचार आएका छन्, तर कानूनी दायित्व, संस्थागत संरचना र दीर्घकालीन विश्वसनीयता पत्रिकामा अझ बलियो छ । पत्रिका प्रश्न उठाउँछ र त्यो प्रश्न दिगो रहन्छ । पत्रिका जसरी नीतिगत बहस उत्पन्न गर्छ, त्यसले शासन प्रणालीलाई सुधार्ने दीर्घकालीन प्रभाव पार्दछ ।

७. प्रतिस्पर्धा होइन,
सहअस्तित्व र पूरक सम्बन्ध

कथित धारणा– ‘डिजिटल आयो, पत्रिका मर्नेभयो’–वास्तवमा भ्रम मात्र हो । पत्रिका र डिजिटल प्लेटफर्म प्रतिस्पर्धी होइनन्, दुबैले आ–आफ्नो क्षेत्रमा सेवा विस्तार गरिरहेका छन् । मुद्रित पत्रिकाले तथ्य– आधारित विश्लेषण, गहिरो सामग्री, अभिलेखीय मूल्य, शान्त–विचारशील पढाइ दिन्छ भने डिजिटल माध्यमले तत्काल पहुँच, मल्टिमिडिया प्रस्तुति, अन्तरक्रियात्मक प्लेटफर्म, युवा पुस्तासँग घनिष्ठ सम्पर्क प्रदान गर्छ ।

आज धेरै प्रतिष्ठित पत्रिकाको डिजिटल संस्करण छ । पूर्वाञ्चल दैनिकले समेत प्रविधिको विकाससँगै www.purwanchaldaily.com डिजिटल संस्करण मार्फत क्षण–क्षणका सूचना–समाचार सम्प्रेषण गरिरहेको छ । अझ पत्रिकाको रंगीन ई–पेपर मोबाइल स्क्रिनमै पढ्न सक्ने गरी डिजिटल संस्करणमै राखिएको छ । तर मुद्रित संस्करणको मूल्य अझै गहिरो छ– नाकामा झुकेर अडिएको वटवृक्ष झैं स्थिर र भरोसालाग्दो । यहाँ स्पष्ट हुनुपर्ने चाहिँ के छ भने– डिजिटलसँग पत्रिकाको न तुलना हो न त प्रतिस्पर्धा नै । प्रविधिको तीब्रतर विकास न रोक्न सकिन्छ, न छेक्न र नकार्न नै । यहाँ मुद्रित पत्रिकाको महत्व दर्शाउने तथ्य मात्र प्रस्तुत गरिएको हो ।

८. समय बद्लियो, माध्यमहरू बदलिए,
तर विश्वासको आधार बद्लिएको छैन

डिजिटल संसार चैतन्यपूर्ण छ– तर धेरैजसो क्षणभंगुर । सामग्री आउँछ, हराउँछ, फेरिन्छ, फेरिन बाध्य हुन्छ । तर, मौलिक पत्रकारिता, तथ्यको आधार, स्रोतको जिम्मेवारी र सार्वजनिक हित– यी मूल्य भने सदैव स्थिर रहन्छन् । र यी मूल्य आज पनि दैनिक पत्रिकाले निरन्तरता दिएको छ । यसैले आज जब सूचना यति धेरै छ कि सत्य हराउन सजिलो छ, जब स्क्रोलिङ्ग यति छ कि सोच्ने समय कम छ, जब हल्ला यति छ कि आवाज कमजोर पर्छ– त्यो समयमा दैनिक पत्रिका केबल माध्यम होइन, अझ बलियो आवश्यकता नै बनेर उभिएको छ ।

९. अरु विविध पक्ष

निजी क्षेत्र होस् या त सरकारी क्षेत्र– सार्वजनिक महत्वकोे सूचना प्रकाशन पत्रिकामै गर्नुपर्छ । राहदानी हराएको, शैक्षिक प्रमाणपत्र हराएको, घरनक्सा पासका लागि सँधियारको नाममा जारी हुने सूचनादेखि ठूला खरिद, बिक्री, ठेक्कापट्टाका सूचनाका लागि पत्रिका नै चाहिन्छ । अझ बढ्दो स्क्रिन एडिक्सनको विकल्प पत्रिका नै बनेको छ । चिकित्सकले पनि राति निद्रा कम हुनेहरुलाई सुत्नु दुई घण्टाअघिबाट स्क्रिन (मोबाइल, टीभी, ल्यापटप, ट्याब लगायत) नहेर्न सुझाएका छन् । बरु पत्रिका, पुस्तक पढ्न भनेका छन् । कतिपय मानिस यस्ता छन् कि बिहान चियाको पहिलो चुस्कीसँगै हातमा पत्रिका समाएकै हुनुपर्छ । विकसित देशमा अटो, ट्याक्सी चालक समेत दैनिक पत्रिका नपढी आफ्नो ड्युटी शुरु गर्दैनन् । उनीहरु डिजिटल दुनियाँमा त्यति विश्वस्त अझ छैनन् ।

अन्त्यमा, विभिन्न कालखण्डमा प्रकाशन शुरु गरेका अखबारले ती मुलुकका स्वतन्त्रताका आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका छन् । सूचना र खोजमूलक समाचारका संवाहक बन्दै आएका छन् । उपनिवेशबाट उन्मुक्त हुनका लागि मात्र होइन, राजनीतिक र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा समेत अखबारले काम गरेका छन् । २०६२÷०६३ मा सात दलले अगुवाई गरेको जनआन्दोलनका बेला नेपालका पत्रपत्रिकालाई आठौं दलको संज्ञा दिइएको थियो । किनभने त्यो बेला दलहरुप्रति नागरिकको ठूलो भरोसा र सकारात्मक धारणा थियो । र, पत्रपत्रिकाले शाही शासनको चरम सेन्सरसीपको बेला पनि नाागरिकका वाक तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, लोकतन्त्रको बारेमा ठूलै जोखिम मोलेर आवाज बुलन्द गरेका थिए ।

त्यसकै बलमा दलहरुको सडक आन्दोलनमा जनसहभागिता व्यापक भई तत्कालिन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फिर्ता गर्दछु’ भन्ने सम्वोधनसहित सत्ता त्यागेका थिए । त्यो तागत पत्रिकाको थियो । अखबार बाहेकका अरू मिडियाको इतिहास भर्खर सय वर्ष भएको छ । खासमा ‘बीबीसी’ निजी क्षेत्रले शुरुवात गरेको समय १८ अक्टोबर १९२२ लाई आधार मान्दा रेडियो प्रसारणको सय वर्ष पूरा भएको छ । टेलिभिजनको इतिहास त्यो भन्दा कान्छो छ । अनलाइन, मल्टिमिडिया भर्खरै जन्मेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्य भन्नुहुन्छ– ‘२१औं शताब्दीमा आइपुग्दा पनि स्वतन्त्रता आन्दोलनमा अखबारको जति प्रभावशाली, विश्वसनीय भूमिका अरू कुनै माध्यमले निर्वाह गर्न सकेका छैनन् ।’ भोलिका दिनमा यो भूमिका अविचल नै रहने विश्वास गर्न सकिन्छ । डिजिटल युग अघि बढिरहोस्, नवीन प्रविधि आउँदै जाओस्, तर संयमित सोच, गहिरो विश्लेषण र प्रमाणिक पत्रकारिताको आवश्यकता कहिल्यै घट्दैन । त्यसैले, दैनिक पत्रिका समयको बिरुद्ध होइन, समयको सह–यात्री हो– र समय जति बद्लियो, यसको मूल्य अझै गहिरिएर जानेछ । यो यात्रामा पूर्वाञ्चल दैनिक अविचल छ ।

(लेखक पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here