बालबालिका देशका भविष्य हुन् । तर, बाल्यकाल मै उनीहरुको बचावट गर्न, संरक्षण र विकासमा आवश्यक तथा उचित व्यवस्था गर्न सकिएन भने भविष्य झनै अनिश्चित र अन्धकारपूर्ण हुन्छ । त्यसका लागि बालकोचित प्रबन्धको सुनिश्चितता अपरिहार्य हुन्छ । यही तथ्यलाई आत्मसात गरी संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित गरिएको थियो । त्यही महासन्धि पारित भएको दिनको स्मरणमा प्रत्येक वर्ष आज अर्थात् नोभेम्बर २० मा विश्वभर बालअधिकार सम्बन्धी दिवस अर्थात् बाल दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नेपालले पनि संयुक्त राष्ट्र संघको घोषणा अनुसार पारित महासन्धिको ४२ धारा कार्यान्वयन गरिएको छ । जुन धारामा बालबालिकाको सर्वोत्तम हित, अधिकारको कार्यान्वयन, जीवन रक्षा र विकास, पहिचानको संरक्षण, उनीहरुको भावना र विचारको कदर, अभिभावकको दायित्व, बेचबिखन, ओसारपसार, अपहरण, सामाजिक सुरक्षा र बालमैत्री न्याय लगायतका व्यवस्था छन् । नेपालले ती सबै धाराका व्यवस्थाहरुको प्रावधान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । परिवर्तित राज्य संरचना प्रणालीमा पनि बालअधिकार सम्बन्धी सबै शर्तहरुको सम्बोधनको व्यवस्था गरिएको छ । जसका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु र निजी क्षेत्रहरुले पनि समन्वयात्मक सहकार्य गर्ने व्यवस्था गरिएको छ ।
कानूनी प्रबन्ध राष्ट्र संघको महासन्धि अनुरुप भए पनि त्यसको कार्यान्वयन पक्ष बालमैत्री नभएको टिप्पणी हुने गरेको छ । खासगरी हाम्रो देशमा कानून निर्माण गर्ने कार्यान्वयन गर्ने तहमा रहेका राजनीतिक दलहरु र सरकारले नै बाल अधिकारको संरक्षण गर्नुको साटो उल्लघंन मात्र होइन आन्दोलनका नाममा बालबालिकाले ज्यान गुमाएका उदाहरण छन् । देशमा भर्खरै भएको जने–जी समूहको नाममा भएको आन्दोलनमा दमनका कारण ठूलो मानवीय क्षति भएको छ । आन्दोलनका क्रममा सरकारको निर्मम दमनमा तीन जना बालबालिकाको मृत्यु नै भयो । घाइते र प्रभावित पनि थुप्रै छन् ।
सामाजिक सञ्जाल नियन्त्रण, भ्रष्टाचारबिरुद्ध सरकारको जवाफदेहिता र पारदर्शिताको माग गर्दै सडकमा आएका प्रदर्शनकारी माथि अत्यधिक बल प्रयोग गर्दा हिंसात्मक बन्न पुगेको आन्दोलनले दोस्रो दिन नै सरकार अपदस्त ग¥यो । बालबालिका र युवा मिश्रित आन्दोलनमा उनीहरुको हकअधिकारको ख्याल नगरी भएको दमन सरकारको बालअधिकारको गम्भीर उल्लंघन हो । आफूले बालबालिकालाई आफ्नो स्वार्थ अनुरुप उपयोग गर्ने र तिनै स्वतन्त्र ढंगले माग राख्न आउँदा दमन गर्ने प्रवृत्तिले बालअधिकारको रक्षा हुँदैन । तसर्थ आजको दिनले बाल संरक्षणसहितको सहभागिता र जन्मसिद्ध अधिकारको प्रत्याभूति गर्न दवाव दिनुपर्छ ।






























