पाण्डेको टुकुनी खुशी र म

0
24

नेपाली साहित्याकाशमा एउटा चम्किलो तारा उदाएको छ । त्यो तारा हो साहित्यकार ‘सीता पाण्डे’को सिर्जना ‘टुकुनी खुशी र म’ कविता संग्रह ।
विक्रम सम्वत् तीसको दशकदेखि नै साहित्य सिर्जनामा समर्पित साहित्यकार सीता पाण्डेको यस कृतिमा विविध आयाममा रचिएका कविताहरु प्रकाशित भएका छन् । गहन सन्देश र शिक्षा प्रवाह गर्ने, सरल भाषायुक्त मनछुने कविताहरु समेटिएका छन् । एक या दुई बसाइमै पढि सकिने कविताहरु पुस्तकमा पैँसट्ठी पृष्टभित्रै अटाएका छन् । छरितो तथा चिटिक्क कलेवरको कविता संग्रह नारी हस्ताक्षरयुक्त उत्कृष्ट काव्यका रुपमा उदाएको छ ।

कृतिभित्र बाईस वटा कविताहरु समेटिएका छन् । समय, बैँस, उमेर, किन्न पाइन्छ कि ?, डि.एन.ए., आफै सब ठीक हुन्छ, सिमाना, भन्न सक्नुहुन्छ र ?, टुकुनी खुशी र म, शब्दचित्र ब्रन्स र म, खै को ?, आउनुहोस् एकै क्षण बात मारौँ, मेरो नेपाल, मेरो कविताको पहिलो श्रोता, इमेल पठाउन बाँकी नै छ, नयाँ वर्ष, कालो पोखरी, मासु, ममताहरुको कोलाज, ज्याद्रो मान्छे, पोटोमेक नदी कोलाज, रित्ता बोरा र सपनाहरु शीर्षकका कविताहरु छापिएका छन् ।

सीता पाण्डेका कविता माथि एक निबन्ध शीर्षकको प्रा.डा. गोविन्दराज भट्टराईको भूमिका लेखका वाक्यहरु मननीय छन्– ‘नेपाली साहित्यमा आफ्नो परिचय राम्ररी स्थापित भएकी स्रष्टा बहिनी सीता पाण्डेसित उनको उदयकालदेखि म परिचित छु । हामी झापाका निकटवर्ती हौँ । उनले शुरुमै साहसिक कलम चलाएर नेपाली कथा लेखनमा नारी शक्ति प्रदर्शन गरिन् जुन शक्तिको अर्थ थियो नरनारीको कामलिप्सा, यौनाकर्षण, नारीको शोषण र स्वतन्त्रताको खोजी । उनको प्रस्तुती पनि शिल्पयुक्त थियो । सँगै कविताको पनि मौलिक धार पक्रेर यात्रा अघि बढाइन् । उनको प्रकाशनको सूची र सँगसँगै साहित्य कर्महरुले सशक्त योगदानलाई प्रमाणित गर्दछन् ।’

स्रष्टा पाण्डेको परिचय साहित्यमा मात्र सिमित छैन । मानवीय तथा सामाजिक सेवामा पनि उत्तिकै योगदान रहेको पाइन्छ । अन्तर्राष्ट्रिय झापाली समाजको उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा रहेर साथै यसअघि विभिन्न जिम्मेवारीमा सक्रिय रहेर आफ्नो भूमि झापाका लागि कैयन मानवीय तथा सामाजिक सेवामा समर्पित रहेको पाइन्छ ।

सो समाजले झापामा विविध योगदान गरेको छ जस्तैः कमल गाउँपालिका–१ स्थित माझी बस्तीमा बाढीपीडितहरुका लागि घर निर्माण, कन्काई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वनस्थित वनभोज स्थलमा शौचालय निर्माण, कोरोना कालमा झापाका पन्ध्रवटा पालिकामा पिसिआर किट मास्क सेनिटाइजर लगायतका सामग्री वितरण, कन्काई कोटीहोममा पिसिआर ल्याब स्थापना, अक्सिजन बैंकका लागि सयवटा अक्सिजन सिलिण्डर हस्तान्तरण, झापा गोल्डकप प्रायोजन, अपाङ्गता भएका तथा असक्तहरुका लागि ह्वीलचेयर वितरण, बुद्धशान्ति, गौरीगञ्ज गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कुमरखोदलाई एम्बुलेन्स हस्तान्तरण, पत्रकार सहारा उपचारकोषका लागि नेपाल पत्रकार महासंघ झापा शाखालाई दुई लाख पचास हजार हस्तान्तरण लगायत झापामा थुप्रै योगदान गरिरहेको छ ।

सहयोगी मनका धनी सामाजिक तथा साहित्यिक व्यक्तित्व पाण्डेका प्रखर मौलिक साहित्य सिर्जनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका पाइन्छन् । प्रस्तुत कृतिको ‘समय’ शीर्षकको पहिलो कविताले समयको विशेषता बताउँदछ । समय आफ्नै चालमा व्यतित हुन्छ । त्यसलाई मानिसहरुले आफ्नो चाहना अनुसार रोक्न सक्दैन । बरु समयको चाल अनुसार चल्न जान्नुपर्छ नत्र पछुताउनुपर्ने सन्देश कविताले दिएको छ ।

बेलुकी सुत्दा अँध्यारो थियो
अहिले सबैतिर उज्यालो भइसकेछ
घाम, कति बेला आयो होला
कुनै चिठीपत्र नलेखी
इमेल ट्वीट केही नगरी
अँध्यारो कति बेला लुसुत्त भागेछ
म सुतिरहेको कोठामा
एउटा सानो घामको किरण
मेरो झ्यालको कापबाट चिहायो र
मलाई भन्यो उठ् बाहिर हेर त ।

त्यसैगरी ‘खै को ?’ शीर्षकको कविताले सबै आफ्नै लाग्छ । सुख खोज्ने महत्वकांक्षाले खुशी हराउँछ । तसर्थ हाँसेर जिऔँ एकापसमा बाँडेर खाऔँ भन्ने साझा तथा महान भावना पोखेको छ । अर्को जीवन छ छैन ? यसै जीवनमा खुशी भएर बाँच्नुपर्ने भाव सो कविताको छ । अर्को ‘आउनुहोस् एकै क्षण बात मारौँ’ कविताका केही हरफहरु पढौ ँः

कति छोराछोरीहरुको फोटो
हेरेर टोलाउनु हुन्छ ?
कति उनीहरुको फोन
कतिबेला आउँछ भन्दै
रातरातभर जागा रहनुहुन्छ ?
अनि उनीहरुका
बाल्यकालका हर्कतहरु सम्झेर
एक्लै कुनामा बसेर
कहिलेसम्म हाँसिरहनुहुन्छ ?
एक्लै बात मारिरहनुहुन्छ ?

कविताले आफ्ना सन्तान विदेशिएका अभिभावकहरुका कथा भन्छ । सन्तान विदेशिएपछि घर रित्तै हुन्छन्, घर आगन उजाड र उराठ लाग्दा हुन्छन् । अभिभावकहरु एक्लिन बाध्य हुन्छन् । अहिले नेपालीहरुको व्यथा यस्तै छ । कविताले सुनसान घर र एक्लाएक्लै हुन बाध्य ज्येष्ठहरुका मनोविज्ञान र दृष्यका भाव मार्मिक रुपमा कहन्छन् । संग्रहभित्रका कविताबारे थुप्रै विद्वान तथा साहित्यकार, समालोचकहरुका मन्तव्य प्रकाशित भएका छन् ।

पुष्कर लोहनीका शब्दमा काव्यकार पाण्डेका सिर्जना– ‘संस्कार र वातावरणले मानिसलाई सजिलैसित प्रभाव पार्छ । मान्यताभित्र कहिले कोचिनुपर्छ कहिले विद्रोहको स्वर निकाल्नुपर्ने हुन्छ त कहिले पछार्नको लागि कम्मरै कस्नुपर्ने हुन्छ । यी सबै कुराको अनुभव भोग्न पुगेको मान्छेले मात्र आफ्नै किसिमले बुझेको हुन्छ । सीता पाण्डेले यी सबै कुरा राम्ररी भोगेकी छिन्, बुझेकी छिन् र बौद्धिकता साथ साहित्यिक पाराले सबैको अगाडि छर्लङ्ग पारिदिकी छिन् । अस्तित्वबोध बोकेकी एउटा सफल कवि हुन् सीता पाण्डे ।’ त्यसैगरी शैलेन्द्र साकार, प्रा.डा. कुमार कोइराला, डा. तारा निरौला, भरत जङ्गम, पद्मावती सिंह, मञ्जु काँचुली, प्रा.डा. गोपी उप्रेती, डा. गोविन्दसिंह रावत र शैलेश श्रेष्ठका मन्तव्यहरु कृतिमा प्रकशित भएका छन् । मन्तव्य अनुुसार– नेपाली साहित्यमा आख्यानकारका रुपमा ख्याति प्राप्त सीता पाण्डे नामी कवयित्री पनि भएको । नेपाली साहित्यको क्षेत्रमा एक निडर र स्पष्ट विचार राख्ने सुपरिचित व्यक्तित्व एवम् वरिष्ठ साहित्यकारको नाम हो सिता पाण्डे ।

विदेशमा बसेर पनि आफ्नो लेखनलाई निरन्तरता दिइरहको, कवितामा जीवन वासनाका तरङ्ग र समाजका जटिल संवेदनाहरु सशक्त कलात्मक ढङ्गले उजागर हुन्छन् । कुनै समय जहाँ यौनका प्रसंग आउँदा मात्र पनि त्यस्ता साहित्यलाई अश्लीलताको ट्याग लगाइन्थ्यो, त्यस्तो अप्ठेरो पुरुष वर्चश्वको कालखण्डमा सीता पाण्डेले नेपाली साहित्यमा साहसका साथ यौन विषयलाई उठाएको, पाण्डेका सिर्जनाहरुमा ती विषय र प्रसंगहरु अश्लीलताको भावनात्मर सम्प्रेषण थिएनन् बरु लैङ्गिक न्याय र समानताका साहसिक उद्घोषहरु थिए । स्थापित साहित्यकारहरुबाट यसरी भाव व्यक्त भएका छन् ।

तर आज सँगसँगै भएर
हामी फेरि पनि
एक्काएक्लै छौँ बेग्लाबेग्लै छौँ
नितान्त बेग्लाबेग्लै किनकि
हामीले सोचे जस्तो
केही पनि भइदिएन
केबल आ–आफ्नो बोझ
एकअर्कालाई सार्ने भ्रममा
भनौ तृष्णामा
झन् आफूलाई थकित बनायौँ
टुक्र्यायौँ, छुट्यायौँ ।

कालो पोखरी शीर्षकको कविताका माझतिरका यी हरफबाट थाहा लाग्छ कि, दम्पतिहरु सँगसँगै भएर पनि कतिपय परिस्थितिहरुले, मनको सोचाईले बेग्लाबेग्लै भएका महशुस गर्दछन् । जसलेगर्दा पीडाहरु बीच जीवन जीउनुपर्ने बाध्यता हुन सक्छन् धेरै–धेरैका जिन्दगीमा । यस कविताले आम मानिसहरुको भाव उजागर गर्दछ । मानिसहरु चाहे दम्पती हुन् या साथी साथी या परिवार, आ–आफ्नै कारण फरक–फरक भएको महशुस गर्दछन् । आफ्ना सिर्जनाहरुबारे प्रस्तुत कृतिभित्र स्रष्टा पाण्डे आफैको विचार यसप्रकार छ– कवितासँग मेरो आत्मीय सम्बन्ध तीसको दशकदेखिकै हो ।

म कवितामा पोखिन, छचल्किन रुचाउँछु । म चाहन्थेँ एक कविता संग्रह प्रकाशन होस् । मेरा कविताहरु प्रशस्तै थिए, जुन विभिन्न गोष्ठी समारोहहरुमा सुनाउने गर्थेँ र पाठक श्रोताबाट रुचाएको पाउँथे । तर मेरा कविताहरुको डायरी नै हरायो । म धेरै दुःखी भएँ र छु । अभैm पनि लागिरहन्छ कतै भेटिइहालिन्छ कि भनेर । यस संग्रहमा म शीतल, उष्णता, आक्रोश, पीडा, प्रेम, रोमाञ्चकता सबै किसिमको भावनाले भिजेकी छु भन्न मन लाग्छ । यो संग्रह ‘टुकुनी खुशी र म‘ मा धेरैजसो कविताहरु नयाँ नै छन् भने केही हराएको पाण्डुलिपिमा भएका तर अन्य माध्यमले जोगिएका कविताहरु पनि छन् ।

सीता पाण्डेका यसअघि प्रकाशित कृतिहरुः असजिला खुशीहरु (कथा, तथा कविताहरु), बन्धकी खुशीहरु (कथासंग्रह), सीता पाण्डेका कथाहरु (कथा संग्रह), यौन र अनुभूति (शृङ्खलाहीन विचारहरु), अन्र्तद्वन्द्व (लघु उपन्यास) र रङ्गीन जामा (शृङ्खलाहीन विचारहरु) । अंग्रेजीमा प्रकाशित कृतिहरु ः फिभर (विभिन्न अनुवादहरु) र साइलेन्ट भ्वाइस (डा. तारानाथ शर्माद्वारा अनुदित गद्य) र अन्य प्रकाशनः अवतार विघटन (संयुक्त उपन्यास) र खेलकुद ज्ञानमञ्च (संयुक्त लेखन) । यी प्रकाशनहरुले सीता पाण्डे एक विशिष्ठ स्रष्टा भएको प्रमाणित हुन्छन् ।

कृतिको पछिल्लो पृष्टमा कृतिकारद्वारा ‘मेरो कलम अराजक छ । यो लेख्न डराउँदैन, लजाउँदैन र हिच्किचाउँदैन ।’ लेखिएको छ । यी दाबी जस्तै साहित्यकार पाण्डेका सिर्जनाहरु प्रखर हुने गरेका पाइन्छन् । देश र आफ्नो जन्मथलोप्रतिको सम्मान, देशमा व्याप्त अराजकता, विकृति, भ्रष्टाचार, थिचोमिचो, बेथिति आदिप्रति दर्बिलो अभिव्यक्ति दिन्छन् कविताहरुले । यसका अलावा विदेशमा हुनुको मनोविज्ञान र डायस्पोरिक विचार, जीवनजगत, प्रणय, प्रकृति, मानवीय मूल्यमान्यता, करुणा, महिला अधिकार, मानव अधिकार, सामाजिक न्याय साथै मानव जीवनसँग सम्बन्धित यावत पक्षमा कलम चल्ने गरेका पाइन्छन् । कृतिको नाम ‘टुकुनी खुसी र म’ कृतिभित्रकै कविताको शीर्षकबाट राखिएको छ । यस कवितामा बाल्यकाल सम्झना गरिएको छ । स्रष्टा पाण्डेका बाल्यकालका साथीहरु को–को थिए, बाल्यकाल कस्तो थियो ? टुकुनी र खुशी को को हुन् ? र, संग्रहका मिठा कविताहरु पढ्ने जिम्मा पाठक वर्गमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here