अर्जुनधारा ।

प्रदेशको सान, को बन्छ नम्बर वान ? भन्ने मुख्य नारासहित सिङ्गीङ एण्ड डान्सिङ इष्ट सुपर स्टार–२०८२को ग्रान्ड फिनालेका लागि १६ जना फाइनलिस्ट छनौट भएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल आवासीय विद्यालयको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगिताको सेमीफाइनलमा गायनतर्फ आठ जना र नृत्यतर्फ आठ जना छनौट भएको आयोजक सारेगम कला केन्द्रका सञ्चालक सन्तोष आलेले जानकारी दिए ।
गायनतर्फ अभिषेक मगर, कविता खाती, दीया अधिकारी, मनोज क्षेत्री, यमुना तिवारी, सुज्ञान खनाल, सैयुजा सिटौला र स्वीकृती राजवंशी तथा नृत्यतर्फ एञ्जल लिङदेन, निश्चल राई, पबी कार्की, माङसेमी लिम्बू, रुसना कन्दङवा लिम्बू, समिर लिम्बू, सोनाक्षी राई र स्मृति मगर छनौट भएका छन् ।

त्यसैगरी सेमीफाइनलको परफर्मर अफ दी डे गायनतर्फ रुवी पाठक र नृत्यतर्फ समिर लिम्बू भएका थिए । अर्जुनधारा नगरपालिकाको विशेष सहयोगमा सञ्चालनरत उक्त रियालिटी सोको ग्रान्ड फिनाले यही मंसीर मसान्तसम्म गर्ने आयोजक केन्द्रको तयारी रहेको छ ।
गत साउन ३ गतेदेखि शुरु भएको प्रतियोगितामा गायनतर्फ वरिष्ठ लोक गायक हस्त परियार र गायक तथा संगीतकार उत्तमजंग लिम्बू तथा नृत्यतर्फ चलचित्रका कोरियोग्राफर ज्ञानु सुब्बा र नृत्य निर्देशक राज सुब्बा निर्णायक रहेका छन् ।
दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले नगद पुरस्कार क्रमश तीन लाख, एक लाख ५० हजार र एक लाखसहित गायनतर्फका विजेताहरुले एउटा गीत र नृत्यतर्फका विजेताहरुले एउटा भिडियो रेकर्ड गर्न पाउने बताइएको छ ।






























