‘त्यो झापा’ पुस्तक झापा इतिहासको इनसाइक्लोपेडिया

0
52

देशको ऐतिहासिककालदेखि राष्ट्रको विभिन्न महत्वपूर्ण घटनाहरुमा झापाले अहम भूमिका निभाउँदै आएको छ । देश हाँक्ने नेतृत्व हुर्काउने भूमि, देशकै मुटु झापा आफै चाहिँ इतिहासमा कस्ता चरणहरु पार गर्र्दै आयो ? ती यावत पुराना इतिहास समेटिएको पुस्तक भर्खरै प्रकाशन भएको छ । पुस्तक हो ‘त्यो झापा’ जसलाई लेखेका छन् तीर्थ सिग्देलले ।

यो पुस्तक विशेषतः झापा सम्बन्धी गहन जानकारी भएका झापाका जिउँदा इतिहास अग्रजहरुसँगका बयानमा आधारित छ । झापाको सामाजिक, शैक्षिक, प्रशासनिक, विकास तथा राजनीतिक जीवनमा योगदान गरेका झापाका विभिन्न स्थानका बासिन्दा तीन दर्जनभन्दा बढी इतिहासका ज्ञाताहरुले व्यक्त गरेका बयानहरु जस्ताको तस्तै पुस्तकमा लिपिबद्ध भएका छन् । पुस्तकमा दुई खण्ड छन्, पूर्व दृष्टि र बयान खण्ड । यी दुबै खण्ड तथ्यपूर्ण र रोचक रहेका छन् । साथै, झापाबारे लेखिएका दर्जनौं कृतिहरुबाट पनि तथ्यहरु उदृत गरिएका छन् ।

इतिहासमा झापा : कृतिभित्रको त्यो झापा शीर्षकको लेख अनुसार, पृथ्वीनारायण शाहको शासनकालमा मोरङ र हालको झापा लिम्बुवान राज्यमा पर्दथ्यो । झापा जिल्लाको नाम झापा बजारबाट आएको हो । झापा बजार कुनै समय झापा जिल्लाको सदरमुकाम थियो । कर्मचारीहरुको सुविधाका लागि सदरमुकाम चन्द्रगढीमा सारियो । त्यसभन्दा पहिला सदरमुकाम धुपगाछी (भद्रपुर)मा थियो । वि.सं. १९७२ सम्म हालको झापा मोरङ अन्तर्गत नै थियो ।

ढकनी वा बिर्को : झापाको नामको उत्पत्ति राजवंशी भाषाबाट भएको मानिन्छ, जसको अर्थ ढकनी वा बिर्को हो । वनजङ्गलले ढाकिएको क्षेत्र भएकाले पनि यो नाम रहन गएको हो । धिमाल, सन्थाल, राजबंशी, मेचे, थारु, गनगाइँ, किसान आदि जातीय समूहहरु यहाँका मूल बासिन्दा थिए, हुन् । इतिहासका ज्ञाताहरुले वि.सं. २००७ देखि २०२७ सालमा पहाडबाट झरेका मानिसहरुले झापाको हजारौँ बिगाह वन फडानी गरे, खेत बनाए भनेका छन् । पहाड र अन्यत्रबाट आएकाहरुले समयक्रमसँगै यहाँको माटोमा सुन फलाउने चेष्टा मात्र गरेनन् धर्तीमातालाई सजाउने काम पनि गरे । सुन्दर समाजको परिकल्पना गरे । यो ठाउँमा भित्रबाट चेतना भरे र बाहिरबाट आकर्षण थपे । यस पुस्तकको सबटाइटल ‘औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार’ रहेको छ । यो आलेख यीनै तीन आयाममा केन्द्रित छ ।

औलोको प्रकोप : पुस्तकका अनुसार उहिले झापामा औलोको प्रकोप असाध्यै थियो । २०२५ सालदेखि शुरु भएको औलो उन्मुलन कार्यक्रमको सिनियर इन्स्पेक्टर प्रेमसागर खनालको बयान अनुसार पहिलेदेखि रहेका आदिबासी बाहेक अन्यत्रबाट आएकाहरु औलो लागेर भकाभक मर्दथे । औलोको प्रकोप पहाडबाट आएकाहरुमा बढी हुने गर्दथ्यो । झापामा आदिबासीका घरहरु मात्र हुन्थे । धेरै पहिलेदेखि बसेकाले पनि होला उनीहरुमा औलोको कम प्रभाव पर्दथ्यो । पोथी मच्छडले अण्डा पार्नका लागि रगत चाहिने भएकाले औलो सर्ने बढी सम्भावना हुन्थ्यो । औलो उन्मुलनका लागि घरमा डिडिटी छर्कने चलन थियो । औलो र यसको उन्मुलनका बारेमा बृहत र रोचक लेख तथा बयानहरु यस पुस्तकमा पढ्न पाइन्छन् ।

बसाइँ सराइ : झापा जङ्गला मुलुक थियो, यहाँ अघिदेख नै आदिबासीहरु खेतीपाती गरी बसेका थिए । उनीहरु बाघ, भालु, हात्ती आदिसँग लड्दै जिविकोपार्जन गरिरहेका थिए । कालापानी मानिएको झापामा जब औलो उन्मुलन हुँदै आयो र २००७ सालको क्रान्ति, प्रतिक्रान्तिको चपेटामा परेर लखेटिएर पहाडबाट झापा आउनेको धुइरो लाग्यो । लिम्बूहरुको उपद्रोले ८८ कुमाईहरु पहाडबाट तराई झरे र धनी हुनपाए । लात्तले हानेको कुकुर खाटैमाथि भनेजस्तै भयो खेदिएकाहरुलाई । राणा शासक भीमशमशेरले टाढा–टाढा पुगेका नेपालीहरुलाई फर्काएर आफ्नै मुलुलमा बसोबास गराए । झोडाबासीका नानीहरु पढ्न केरखा, शनिश्चरे, बुधबारे, भद्रपुर लगायतका ठाउँमा स्कुल खुल्नाले र महेन्द्र राजमार्ग बन्नुले पनि झापाप्रति आकर्षण बढ्यो । गुरुभक्त न्यौपानेको बयान अनुसार सहज जीवनको खोजी, काम, जागिर, पानी, खेती कमाइ, उब्जाउ जग्गाजमिन आदिका लागि मानिसहरु तराई ओइरिए ।

भूमिसुधार : भूमिसुधार राजा महेन्द्रको दुरदर्शीताको परिणाम थियो । बिर्ता, मौजा, कामत आदिका अधिकार पाएका जमिनदारहरुले आम किसानउपर शोषण, जालझेल, थिचोमिचो गर्दथे र विभिन्न निहुँमा किसानका जग्गा हडपेर जतिपनि जग्गा राख्थे । जमिनदारहरुले साना पाथीले दिने र ठूला पाथीले लिने गर्दथे । जमिनको कर उठाउन जिम्मा पाएका जमिनदारहरु सामन्त र छोटेराजा भएका थिए । किसानहरुउपर जुलुम अन्याय गरेकाले जग्गाको हदबन्दीसहित भूमिसुधार कार्यक्रम लागू गरियो ।

शनिश्चरेका पुराना बासिन्दा भूमिसुधारमा काम गरेका लवकुश गिरीको बयान अनुसार भूमिसुधारले जमिन माथिको एकल स्वामित्वमा परिवर्तन ल्याइदियो । मेहनत गर्ने किसानले फाइदा लिन पाए । यो नीति अघि एउटै जमिनदारसँग सयौँ विगाह जमिन, दर्जनौं मौजा र कामत हुन्थे । भूमिसुधारपछि शोषणरहित समाज निर्माणमा सघाउ पुग्यो । झापामा किसानहरुले सामान्त बिरोधी आन्दोलन गरे । जमिन कमाउँदा पच्चिस प्रतिशत जमिन अनिवार्य पाइने भयो । यस्तो नीतिले मोहीहरुका अवस्थामा सुधार आएको थियो ।

अन्य आयामहरु : पुस्तकमा, जिमदारी प्रथा र अन्त्य, शनिश्चरे, बिर्तामोड, भद्रपुर, बिर्ताबजार, दमक लगायतको इतिहास, दक्षिणी झापा, मेचीपुलको कथा, क्रान्तिको जग, इतिहास साक्षी, रक्सीमा जग्गा साट्ने, पहाडेहरु मान्छे होइनन्, सातसालमा लिम्बूहरुको उपद्रो, आठमौजा, बिर्ताप्रथा, झोडा, क्रान्ति, शिक्षा, विकासक्रम र अरु थुप्रै विषयमा विस्तृत रुपमा लेख, बयान र तथ्यहरु मसिनो गरी केलाएर समेटिएका छन् । जसले झापा चिनाए लेख अनुसार, जसले यो माटोमा पहिलो पाइला राखे, सुख्खा जमिनमा फरुवा चलाए अनि औलो, बिफर, कलेरा जस्ता घातक रोगहरुसँग पौँठेजोरी खेले बाघ, भालु, चितुवासँग, शासकहरु, सामन्तहरु र जमिनदारहरुसँग लडे, भिडे ।

यो भूमिलाई मान्छे बस्न लायक बनाए । बजार खोले, बाटो खने, पुल बनाए, स्कुल खोले । पानीको मूल फुटाए, धान फलाए, पाटा गोडे, आलु रोपे, मकै उमारे, कोदो फलाए । रस्ती रसाए, बस्ती बसाए, चलन चलाए, ती महान व्यक्तिहरु हुन् भनेर कृतिकार सिग्देलले लेखेका छन् । झापा चिनाउने धेरैजनाको नामावली पुस्तकमा उल्लेख छन् । २००७, २०१९ र २०४८ सालका घटना अघि र पछि राजनीतिक परितर्वनको माध्यमबाट झापाको विभिन्न आयाममा सक्रिय भएका दर्जनौंका नामावली र योगदान पुस्तकमा उल्लेख गरिएका छन् ।

शनिश्चरे : शनिश्चरेमा २००५ मा स्कूल खुलेको हो । शनिश्चरे मुक्तिसेनाको केन्द्र थियो । विष्णुप्रसाद मिश्रले २००७ को क्रान्तिमा ठूलो योगदान गरेका थिए । २००७ सालताका जिल्लाहरुमा राणाबिरुद्ध मोर्चा खडा भएका थिए जसमा शनिश्चरे एक मोर्चाकेन्द्र थियो । गोबिन्द काफ्लेको बयान अनुसार २००३ मा शनिश्चरे कप्तानबाडीलाई मुक्ति सेनाको सम्पर्क केन्द्र बनाइएको थियो । क्रान्तिको शंखनाथ शनिश्चरेबाट भएको थियो । राजनीतिक चेतनाले सिञ्चित शनिश्चरे झापाकै पुरानो हाटबजार पनि हो । भद्रपुरदेखि बिराटनगरसम्मका व्यापारी आउँथे र शनिश्चरे फुटबल खेलको हब पनि थियो ।

धुपगाछी (भद्रपुर): कृष्णप्रसाद मिश्रको बयान अनुसार भद्रपुरमा स्कूल २००२ मा खुलेको थियो । स्कूलका लागि भुपालमानसिंह कार्कीले पनि योगदान गरेका थिए । भद्रपुर पनि झापाकै पुरानो बजारमध्ये एक हो । यहाँबाट हजारौं मन धान भारत निर्यात भई देशलाई मनग्गे कर आर्जन गर्दथ्यो । ओमप्रकाश सरावगीको बयान अनुसार भद्रपुर नगरपालिका २००८ मा स्थापना भएको हो र नेपालकै जेठो नगरपालिका हो । भद्रपुर शहर गुलजार थियो, तर मेची नदीमा पुल बन्न ढिला हुँदा र केन्द्रले हेला गर्दा यसको विकासमा बिर्को लाग्यो ।

दमक : मेघराज तिम्सिनाको बयान अनुसार हिमाली माध्यमिक विद्यालय २०१२ मा स्थापना भएको हो । दमकमा तीनवटा स्कूल थिए । सन्तवीर लामाले घर बनाइदिए र त्यस पढाइ भए । मोहन ढकाल, दक्षराजको पनि शिक्षामा योगदान थियो । दमकमा कुमालहरु थिए भने लखनपुरतिर ताजपुरियाहरु । २०३३ तिर दमकमा पहाडे मुलका दुई घर मात्र थिए । दमक क्षेत्र पनि जंगलैजंगल थियो । औलोबाट बच्न जतिखेरै पनि नेमाक्वीन औषधि बोकेर हिँड्नु पर्दथ्यो । तातोपानी खानुपथ्र्यो ।

रोचक प्रसंगहरु : उबेला धर्मढिकुटीमा किसानहरुले धान बचत राख्ने राम्रो चलन थियो । तराइकाले पहाडबाट आएकाहरुलाई मान्छे नै ठान्दैन थिए, कु मान्छे भन्दथे । २०१४ सालमा धुलाबारीतिर सातसयमै एकबिघा खेत पाइन्थ्यो । गाउँ पञ्चायतका निर्बाचित जनप्रतिनिधिहरुले सरकारी काममा कतै जाँदा सरकारी पैसाले चियासम्म पनि पिउँदैन थिए, स्वयम्सेवी परम्परा थियो । राजगढ कोचबिहारकी राजकुमारीलाई प्रतापमल्लले विवाह गरेको ठाउँ हो । जहाँ–जहाँ ठाउँका नाममा बाडी शब्द आउँछ ती ठाउँहरु राजवंशीहरुका थिए ।

राणाहरु र राजाहरुले आफन्तलाई जग्गा बिर्ता दिएकाले बिर्ता (बिर्ताबजार) नाम रहन गएको हो । भारतका नक्सलवादीहरुको प्रभाव झापामा पनि परेको थियो । परिणामतः झापामा को–को काटिए, मारिए ? को–को जेल परे ? झापा बिद्रोह र क्रान्ति आदिका घटनावली पुस्तकमा विस्तृत चर्चा गरिएका छन् । दरपलाल राजवंशीको बयान अनुसार झापामा पहिला रुखको पातमा रसिद, तमासुक लेख्ने चलन थियो । चन्द्रकला न्यौपानेका अनुसार २००१ सालतिर एकतोला सुन १६ रुपैयाँमै पाइन्थ्यो । अरु कैयन घत्लाग्दा घटना र प्रसंगहरुको संग्रह छ पुस्तकभरी । यस पुस्तक पढ्नुको आनन्द नै अर्कै हुन्छ ।

आठवटा पुस्तक सिर्जना गरिसकेका लेखक तीर्थ सिग्देलको यस नवीनतम् कृति झापाको अधिकांश इतिहासको कथा बताउन सफल छ । स्कूल, कलेज, विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, स्वअध्ययनशील, योजना तथा विकास निकाय, तीनै तहका सरकार, झापाका स्थानीय निकाय र देश–विदेश पुगेकाहरुलाई झापाबारे ज्ञानका लिनका लागि भरपर्दो अध्ययन सामग्रीको रुपमा उदाएको छ । पुस्तकले झापासँग सीमाना जोडिएका जिल्लाहरु र भारतको आसामसम्मको इतिहास बताउँदछ । यो कृति देशकै ऐतिहासिक गहनाको रुपमा सिर्जना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here