सुरेन्द्र भण्डारी
झापा, अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी, मिलनसार र परिवारका लागि भर थिए । भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीले घाइते भएका उनले तीन दिनको उपचारपछि भदौ २७ गते बीएण्डसी अस्पतालमा प्राण त्यागे ।

दिनेशको निधनले उनको परिवारमा शुन्यता मात्र छाएन आर्थिक र सामाजिक आधार नै धराशायी बनायो । बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेका थिए। त्यसैले घरको आधार, आर्थिक सहारा र परिवारको संरचना दिनेशमाथि निर्भर थियो।
दिनेशको परिवारमा ३० वर्षीया श्रीमती जानती, ६ वर्षीय छोरा रिदम, १३ महिनाकी छोरी दिपिका र ५५ वर्षीया आमा सपना छन्। परिवारको सबै आशा र भरोसा दिनेशमाथि थियो । जानती भक्कानिँदै सम्झिन्छिन्, “कान्छीे म बिर्तामोड गएर आउँछु, मल बुझ्छु, दोकान खोल्ने अवस्था हेर्छु, नानी–केटाकेटीलाई खुवाइदिएपछि तिमी पनि खाना खानु है।” तर त्यो संवाद उनका लागि अन्तिम थियो।
कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका दिनेश स्वदेश फर्केपछि उद्यम गर्न चाहन्थे । शनिश्चरेमा मासु पसल सञ्चालनमा ल्याएर परिवारलाई आर्थिक स्थायित्व दिने उनको सपना थियो । तर जेनजी आन्दोलनले त्यो सपना अधुरो बनाइदियो । मासु पसल बन्द भएपछि परिवारको आय स्रोत रोकियो, घरको दैनिक खर्च, छोराछोरीको पालनपोषण र आमाको हेरचाह सबै जिम्मेवारी जानतीमाथि आयो ।
छोटा छोराछोरीले दिनेशको अभाव महसुस गरिरहेका छन् । छोराले मोबाइलमा आन्दोलनका भिडियो हेरेर प्रश्न गर्छन्, “ममी, हाम्रो बावा बाँचेका भए हामीसँग खेल्थे र बोल्थे नि।” १३ महिनाकी छोरी दिपीका कहिलेकाहीँ ‘बाबा’ बोल्छिन्, तर त्यो आवाज सुन्दा जानतीको मुटु फुट्ने जस्तो हुन्छ ।
दिनेशको निधनले परिवारमा सामाजिक सुरक्षा र राज्यको संरक्षणको आवश्यकतालाई स्पष्ट पारेको छ । राज्यले उनलाई सहिद घोषणा गर्दै १६ लाख रुपैयाँ उपलब्ध गराएको छ । स्थानीय जनप्रतिनिधिहरूले छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने वचन दिएका छन्। तर जानतीको भनाइ छ, “पैसाले मात्र के हुँदो रहेछ, मान्छे नै नरहेपछि जिम्मेवारी भारी भयो। अब राज्यले दीर्घकालीन रोजगारी र आत्मनिर्भरता सुनिश्चित गर्नुपर्छ।”
दिनेशको आमा सपना अझै पनि निस्तब्ध छिन्। “कान्छालाई दशाले बिर्तामोड पु¥यायो। अब कान्छो फर्किदैन, तर बाटामा हिंडेँ कि कान्छाको झल्को आउँछ,” उनी भन्छिन्। दाजु गोवर्धन राजवंशीले पनि भाइको काजकिरिया गरेपछि तत्कालै विदेश फर्कनु परेको थियो। परिवारमा थप सन्नाटा छाएको छ।
छिमेकी र स्थानीय समाजले परिवारलाई आंशिक सान्त्वना दिन खोजिरहेका छन्। जानती भन्छिन्, “छिमेकीहरूले मलाई सम्झाउँछन्, ‘दिनेश राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ, पीर नगर्नु।’ तर यी शब्दहरूले मात्र पीडा कम हुँदैन।”
विशेष रिपोर्टका रूपमा हेर्दा, दिनेशको मृत्युले केवल परिवारमा मात्र होइन, समाजमा पनि असुरक्षा र न्यायको आवश्यकतालाई उजागर गरेको छ। केवल सम्मान र क्षतिपूर्ति पर्याप्त छैन; सहिद परिवारको दीर्घकालीन शिक्षा, स्वास्थ्य, रोजगारी र पालनपोषण सुनिश्चित गर्नु राज्यको दायित्व हो।
दिनेशका अधुरो सपना—छोराछोरी पढाउने, आमाको सेवा गर्ने र राम्रो घर बनाउने—अझै अधुरा छन्। उनका छोराछोरी र परिवार उज्यालो भविष्यको खोजीमा छन्। यो घटनाले देशभरका सहिद परिवारको अवस्था र राज्यको भूमिका माथि गम्भीर प्रश्न उठाएको छ।





























