विमल दहाल, इलाम ।

माई नगरपालिका इलाममा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा हस्ताक्षर कार्यक्रमवाट सुरु गरिएको छ।
“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौ” भन्ने राष्ट्रिय नारा सहित सुरु भएको १६ दिने अभियान माई नगरपालिका समाज कल्याण शाखाको आयोजनामा शुरु भएको छ । “म हिंसा गर्दिन, म हिंसा सहदिन र हिंसा गरेको देखेमा प्रतिकार गर्नेछु” भन्ने प्रतिबद्धताका लागि हस्ताक्षर कार्यक्रम गरिएको छ ।
कार्यक्रममा माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले हिंसा जानेर नजानेर घर-परिवारमा भइरहेको हुन्छ भन्दै समाजका अगुवाले उदाहरणीय कार्य गर्न सके समाजले त्यसको अनुसरण गर्ने जानकारी दिनुभयो। वहाँले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानले चेतनाको स्तरलाई माथि पुर्याउने विषयसँग सम्बन्धित रहेको बताउनुभएको छ ।

माई नगरपालिका वडा नम्बर- ४ का वडाध्यक्ष हेमबहादुर लायो मगरले लैङ्गिक हिंसा विरुद्ध अभियान व्यवहारमा उतारेर लागू गर्नुपर्ने जानकारी दिनुभयो । हिंसा अन्त्यका लागि व्याक्ति, समाजले एउटा उदाहरणीय काममा उभिएर अरु साथीकोलाई पनि त्यसतर्फ उभिन प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो। वहाँले लैङ्गिक हिंसाविरुद्ध अभियानले एउटा सभ्य समाज निर्माणमा साकार रुप लिने वताउनु भएको छ।
हस्ताक्षर कार्यक्रमको सञ्चालन गर्दै माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले हिंसा महिलाको मात्र हुने नभई पुरुष, क्षेत्रीयगत जातीयगत, लैङ्गिकगत रूपमा हुने जानकारी दिनुभयो। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख तदनुसार मङ्सिर ९ गतेदेखि मंसिर २४ गतेसम्म दिने अभियान सञ्चालन हुने गरेको छ।































