प्रजातन्त्र आएपछिको एउटा दृश्य -नेतृत्वको उचाइ कस्तो हुन्छ ?

0
60

विवेक केशरी प्रसाईं,

प्रजातन्त्र स्थापनापछिको सुरुआती वर्षको कुरा हो । देशभर नयाँ आशा, नयाँ अनुभूति तर निकै अस्थिरता पनि थियो । यही समय पाँचथरमा एक आमसभालाई सम्बोधन गर्न तत्कालीन नेता गिरिजाप्रसाद कोइराला पुगे ।

तर बाटो सहज थिएन । जहाँ-जहाँ उनको गाडी गुज्रिन्थ्यो, त्यही-त्यही कालो झण्डाको जंगल उभिन्थ्यो । भीडमा आक्रोश थियो, निराशा थियो, र केही अनिष्ट हुनसक्छ भन्ने संकेत पनि थियो । तर पनि उनी फर्किएनन् । उनी डराएनन् । उनी त्यही भुइँमा गए जहाँ असन्तुष्ट जनताले उनको स्वागत “खुसीले” होइन, “विरोधले” गरेका थिए ।

सभा सुरु भयो । वरिपरि कालो झण्डाहरूको झुण्ड थियो -शान्त तर कटु संकेतसहित तर कोइरालाले माइक समाते र बोल्न सुरु गरे –
“आदरणीय जनसमुदायहरू !
आज मलाई खुशी लागेको छ कि तपाईंले आफूलाई चित्त नबुझेको कुरा खुल्ला रूपमा राख्न पाउनुभएको छ । हामी यही अधिकारका लागि लडेका थियौँ । तपाईँहरूलाई मेरो विरुद्ध शान्तिपूर्ण विरोध गर्न पाउनु पर्छ । तपाईंहरूले आज मलाई कालो झण्डा देखाइरहनु भएको छ भने -यसले नै मेरो आन्दोलन सफल भएको प्रमाण दिन्छ ।”

शब्दको शक्ति यति उदात्त थियो कि कालो झण्डा लेरै आएका हातहरूले त्यो झण्डालाई बिस्तारै झोलामा लुकाए । त्यो क्षण त्यहीँ उपस्थित जनताको मनमा एउटा बुझाइ जन्मिएको थियो -लोकतन्त्र विरोधलाई दबाएर होइन, स्वीकार गरेर बलियो बन्छ ।

सिमरामा पनि त्यही परिपक्वता चाहिन्थ्यो

जेनजी आन्दोलनको नाममा उठेको विरोध कानमा होइन, हृदयमा सुन्नुपर्ने थियो । तर त्यहाँ कस्तो चित्र देखियो ? विरोधीलाई पटक-पटक कुटपिट, दमन, लछारपछार -यो त लोकतन्त्रको आत्मा नै घाइते पार्ने शैली हो ।

विरोध लोकतन्त्रको सौन्दर्य हो । नागरिकले प्रश्न गर्न पाउनु, चित्त नबुझेको देखाउनु -यही त जनताको अधिकार हो ।

यदि पाँचथरमा कोइराला जस्तै सिमरामा पनि नेतृत्वले उचाइ देखाउन सकेको भए -कुनै विरोधीलाई कुट्नु पर्ने थिएन, कसैलाई डराउनु पर्ने थिएन ।

आवश्यक थियो सम्झाउने, सुन्ने र संवाद गर्ने राजनीतिक सभ्यता । धम्की होइन, दिल जित्ने नैतिकता । आक्रामकता होइन, लोकतान्त्रिक सहनशीलता ।

अहिले समय यही प्रश्न दोहोर्याइरहेको छ -नेता भनेको भीडलाई थाम्ने हो कि उजार्ने ? लोकतन्त्र भनेको जनताको आवाज सुन्ने हो कि दवाउने ? उत्तर हामी सबैलाई थाहा छ -तर सिमराले हामीलाई देखाएको चित्र त्यही उत्तरको उल्टो छायाजस्तै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here