बिर्तामोड।

नेतृत्व क्षमता अभिवृद्धि र स्थानीयहरूलाई थप सक्षम बनाउने उद्देश्यले बिर्तामोड नगरपालिका–३ मा दुई दिने नेतृत्व विकास तालिम शुरु भएको छ।
महेन्द्र रत्न माविको सभाहलमा आयोजित तालिमको उद्घाटन वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य लक्ष्मी रोक्का र इन्जिनियर प्रभाष थापा मगर लगायतको उपस्थिती रहेको थियो ।
उक्त तालिमको प्रशिक्षक कुसुम उप्रेती र विनोद दाहालले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा ग्लोवल लर्निङ ल्याबको आर्थिक सहयोगमा सहारा नेपाल र बिर्तामोड नगरपालिका ३ को समन्वय रहेको छ।

वडाका विभिन्न टोलहरूबाट प्रतिनिधिमुलक रूपमा सहभागी गराइएको तालिममा ३० भन्दा बढी सहभागी उपस्थित रहेका छन् । नेतृत्व विकास, व्यवस्थापन, कार्ययोजना निर्माण र सामुदायिक पहलकदमीबारे व्यावहारिक सिकाइ दिइने प्रशिक्षकले जनाएका छन ।
वडा अध्यक्ष मदन बुढाथोकीले वडालाई नेतृत्वयुक्त, सक्षम र सक्रिय बनाउन यस्तो तालिम आवश्यक भएकाले सबै टोलको सहभागिता सुनिश्चित गरिएको बताए । तालिम आगामी दिनमा पनि निरन्तर गर्ने योजना रहेको वडा सदस्य लक्ष्मी रोक्काले जानकारी दिइन् ।































