परम्परागत खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा

0
43
म्याग्दी (बेनी), 
म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रुपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले जानकारी दिनुभयो ।
शेरचनले करिब सात रोपनी बारीमा कोदो र मकैखेती छाडेर सुन्तला विस्तार गर्नुभएको छ । चार सय ५० बोट सुन्तला रोप्नुभएकामा अहिले एक सय ५० बोटबाट सुन्तला उत्पादन हुन थालेको उहाँले बताउनुभयो ।
सिँचाइको सुविधा नभएको बारीमा अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गरेपछि आयआर्जनमा टेवा पुग्न थालेको छ । अर्भल्याङ बस्तीका अधिकांश घरपरिवारले सुन्तलाखेती विस्तार गर्न थालेका छन् । अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गर्न थालेपछि गाउँ नै सुन्तला गाउँका रूपमा विकास हुन थालेको छ ।
स्थानीय लालमती रोका, प्रासर कँडेल, कलाधर कँडेल, केसमान शेरचन, पदमबहादुर रोका, यामबहादुर रोका, भबिलाल किसान, नन्दलाल विकलगायतले सुन्तलाखेतीलाई व्यावसायिक बनाउनुभएको छ ।
पछिल्ला केही वर्षयता मात्र गाउँमा करिब दुई हजार नयाँ सुन्तलाका बोट रोपिएको छ । उत्पादन भएको सुन्तलाको बजार अभाव नहुने र बोटबाटै बिक्री हुने सुविधाले सुन्तलाखेतीतर्फ आकर्षण बढाएको छ । स्थानीय अगुवा सुन्तलाखेती किसान लालमती रोकाले आफ्नो बगैँचाका २५० बोटले उत्पादन दिने र थप ८० बोट सुन्तला विस्तार गरेको जानकारी दिनुभयो ।
उहाँले यस वर्ष बगैँचामा फलेका सुन्तला खरिदका लागि व्यवसायीले बगैँचामै आएर ठेक्का लिएको दिनुभयो । “गत वर्ष हाँगा नै भाचिने गरी सुन्तला फलेको थियो, प्रतिकिलो रु ५५ मा सुन्तला बेचेका थियौँ, यो वर्ष एक क्यारेट सुन्तलालाई रु एक हजार ५०० मा लैजाने समझदारी भएको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको छ । रोकाको परिवारले गत वर्ष रु चार लाखबराबरको सुन्तला बिक्री गर्नुभएको थियो ।
यस गाउँमा सुन्तलाखेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेका छन् । सुन्तलाखेतीबाट नगद आम्दानी हुने भएपछि उत्साहित बनेर अघि बढेका किसानलाई सुन्तलाका बोट सुक्ने समस्या प्रमुख चुनौती बनेको छ । फल लागेका र नयाँ विस्तार गरेका सुन्तलाका बोट सुक्ने समस्या देखिएको र यसको रोकथाम र उपचारका लागि गाउँपालिकालाई अनुरोध गरिएको स्थानीय किसान प्रासर कँडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here