प्रभु बैंक प्रकरण : कर्मचारीको ठगी धन्धा

0
95

झापा,  प्रभु बैंक लिमिटेडका दुई शाखामा कर्मचारीले करोडौं रुपैयाँ अपचलन गरेको घटना बैंकिङ क्षेत्रमै ठूलो चासो र आलोचनाको विषय बनेको छ ।


बैंकका फरार कर्मचारी र उच्च व्यवस्थापनको मौनताले वित्तीय अनियमितताको आशंकालाई अझ बलियो बनाएको छ । बैंकिङ क्षेत्रमा यस्तो दोहोरो अपचलन घटना दुर्लभ भए पनि यसको प्रकृति र व्यवस्थापनको प्रतिक्रियाले धेरै प्रश्नहरु खडा गरेको छ । बैंकले ग्राहकको निक्षेप रकम सुरक्षित राख्ने संवेदनशील जिम्मेवारी बोक्छ ।

तर, प्रभु बैंकका फरक–फरक दुई वटा शाखामा कार्यरत कर्मचारीले अपचलन गरेको घटना सार्वजनिक भइसक्दा समेत घटनालाई गुपचुप राख्ने प्रयासमा बैंक रहनुले कर्मचारीको संरक्षणमा व्यवस्थापनका उच्च पदस्थ व्यक्ति सम्लग्न रहेको आशंका छ । जसले बैंकको आन्तरिक नियन्त्रण प्रणाली र व्यवस्थापनको पारदर्शितामाथि नै शंका पैदा गरेको छ ।

घटना नम्वर १ः २०८१ साउन १७ गते बिर्तामोड शाखामा कार्यरत अपरेशन इञ्चार्ज प्रमोद सिटौलाले करोडौं रुपैयाँ अपचलन गरेर फरार भएको घटना सार्वजनिक भयो ।

टीकाराम नेपाल ‘नेति’ ले प्रभु बैंकको बिर्तामोड शाखामा एक करोड रुपैयाँ जम्मा गरेको तर, बैंकमा भने उक्त रकम नभएको भन्दै शाखाका अपरेशन इञ्चार्ज सिटौलाले आफ्नो रकम हिनामिना गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका थिए ।

नेती निकट समूहले प्रभु वैंकको बिर्तामोड शाखामा बिरोध जनाउँदै प्रदर्शन समेत गरेको थियो । घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानलाई अगाडि बढाएको थियो । तर, बैंक र पीडित भनिएका नेतिले आवश्यक प्रमाण जुटाउन नसक्दा प्रहरीले अनुसन्धानलाई तीव्रता दिन सकेन ।

तर, बैंकले गरेको प्रारम्भिक अनुसन्धान अनुसार बैंकको आन्तरिक लेखापरीक्षण विभागले सिटौलाले गरेको अपचलनको विवरण केन्द्रीय कार्यालयमा बुझाए पनि उच्च व्यवस्थापनले तत्काल कारबाही नगरेको स्रोतको दावी छ । उच्च तहकै संरक्षणका कारण सिटौलाबिरुद्ध बैंकले प्रहरीमा जाहेरी दिन समेत आनाकानी गरेको स्रोतको दावी छ ।

सिटौलाले रकम अपचलन गरेको आरोप लगाउँदै नेतिले घटना बाहिर ल्याए लगत्तै सिटौला फरार भएका थिए । फरार भएका सिटौला भारतमा रहेको आशंका गरिए पनि उनको खोजी कार्यमा प्रहरी र बैंक व्यवस्थापनले चासो नदिनुले घटनामा वैंकका उच्च तहको मिलिभगत रहेको आरोप छ । वैंकका अपरेशन इञ्चार्ज सिटौलालाई जिम्मेवारीबाट हटाइएको बताइए पनि हालसम्म उनलाई बर्खास्त गरिएको छैन । यस घटनाले बैंक व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

नेतिले रकम जम्मा नगरेको वैंकले दावी गरे पनि अधिवक्ता समेत रहेका नेतिका दाजु भद्रप्रसाद नेपाल स्वागतले सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री (भिडियो) मार्फत आफूहरुसँग यथेष्ठ प्रमाण रहेको पटक–पटक दावी गरेका थिए । यद्यपि नेपाल परिवारले अहिलेसम्म ती प्रमाण सार्वजनिक गर्न सकेको छैने । पीडित भनिएका नेतिले श्रीमती मञ्जु नेपालको नाममा रकम जम्मा गरेको भन्दै बैंकको भौचर सार्वजनिक गरेका थिए । तर, बैंकले उक्त भौचर आधिकारिक नभएको भन्दै उनको दावी झुठो भएको बताएको थियो ।
प्रभु बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कटुवालले दावी गलत भएको भन्दै घटनाका विषयमा छानविन गर्ने बताएका थिए ।
घटना नम्वर २ः २०८० माघ २१ गते प्रभु बैंक लिमिटेड आठबिसकोट शाखामा पनि शाखा अपरेशन इञ्चार्ज नीरजबिक्रम शाहले १ करोड ३५ लाख अपचलन गरेको घटना सार्वजनिक भएपछि बैंकले आन्तरिक छानबिन शुरु गरेको थियो ।

शाह भारतको गोवाबाट २०८० चैत्र ९ गते पक्राउ परेका थिए । नेपाल प्रहरीले उनलाई नेपाल ल्याएपछि सो घटनामा उनी जेल चलान भएका थिए ।
यो घटना तत्काल नियन्त्रणमा आए पनि बैंकको विश्वास र ग्राहकको सुरक्षाको सवालमा प्रश्न उठेको छ ।

बैंकमा साधारणतया सबै कारोबार अपरेशन इञ्चार्जले जाँच गर्छन् । त्यसपछि अन्तिम स्वीकृति शाखा प्रबन्धकले दिन्छन् । तर, बिर्तामोड घटनामा लाखौँ रुपैयाँ बिना जाँच भुक्तानी भए पनि शाखा प्रबन्धक मौन रहनुले घटनामा उच्च तहको संलग्नता रहेको वैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् ।

माथि उल्लेखित दुई वटा घटनामध्ये बिर्तामोडमा भएको घटनाको समयमा शाखा प्रबन्धक उपेन्द्र नेपाल थिए । उनी केन्द्रीय कार्यालयको ऋण प्रशासनिक विभागका प्रमुख रहँदा नियमविपरीत ऋण प्रवाहको दबाब आएको थियो ।

उनलाई बिर्तामोड शाखामा सरुवा गर्नु अप्रत्यक्ष दण्ड स्वरूप भएको अनुमान गरिन्छ । यस्ता घटनाले कर्मचारी र व्यवस्थापनको निकट सम्बन्धले अपचलनलाई सहज बनाएको आशंका गरिन्छ ।

सिटौलासँग शाखा प्रबन्धक नेपालको निकटता प्रकट रूपमा देखिन्थ्यो । उनीहरू प्रायः सँगै घुम्ने, होटलमा भेट्ने र साँझको समयमा मदिरा सेवन गर्ने जस्ता कार्य गर्दै आएको बैंक निकट कर्मचारी बताउँछन् । यस्तो निकटता र व्यवस्थापनको संरक्षणले सिटौलालाई अपचलन गर्न सहज भएको उनीहरुको दावी छ ।

बिर्तामोड घटनामा प्रमुख बजार व्यवस्थापक रश्मी पन्तको भूमिका पनि शंकास्पद रहेको थियो । बैंकले आफ्नो व्यापार विस्तारका लागि अरबीट एजुकेशन कन्सलटेन्सीसँग सम्झौता गरेको थियो । कन्सलटेन्सीले बिद्यार्थीलाई ऋण उपलब्ध गराउने र सेवा शुल्कको हिस्सा पाउने व्यवस्था थियो ।

यस प्रक्रियाले बिर्तामोड शाखाका कर्मचारी र सिटौलालाई अपचलन गर्न अवसर दिएको स्रोतको दावी छ । प्रारम्भिक अनुसन्धान अनुसार प्रमुख बजार व्यवस्थापक पन्तले सिटौलाको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संरक्षण गरेको बताइन्छ । सिटौलाले शाखा कर्मचारीहरूसँग मिलेर फर्जी खाताहरु खोलेर, कन्सलटेन्सीसँगको लेनदेनमा अनियमितता गर्दा बैंकको आन्तरिक नियन्त्रण कमजोर भएको स्रोतको दावी छ । यस्ता घटनामा उच्च व्यवस्थापनको संरक्षण र नियमन प्रणालीको कमजोरीले अपचलनलाई सघाउ पु¥याएको बित्तीय क्षेत्रका जानकारहरु बताउँछन् ।

सिटौला र नेतिले कन्सलटेन्सीबाट विदेश जाने विद्यार्थीलाई रकम जम्मा गरेर मोटो रकम असुल्ने गरेको अनुसन्धानका क्रममा फेला परेको स्रोतको दावी छ । उनीहरुले वैंकका उच्च तहका कर्मचारीका साथै व्यवस्थापनसम्म रकम पु¥याउने गरेका कारण पनि यो घटनालाई बैंकले बाहिर ल्याउन नचाहेको दावी गरेका छ । सिटौला र नेतिले नेपालमा प्रतिवन्धित अनलाइन सट्टेवाजी वान एक्स बेट समेत खेल्ने गरेको स्रोतको दावी छ ।

कन्सलटेन्सीसंग मिलेर सेवा शुल्कको आधा अर्थात् ०.७५ प्रतिशत सेवा शुल्कको आधा सेवा शुल्क ०.३७.५ प्रतिशत वैंक कन्सलटेन्सीले लिने भनेर काम गर्ने गरेको खुलेको छ । तर, उनीहरुले रकम जम्मा गरेवापत प्रति लाख एक रातको १० हजार रुपैयाँ लिने गरेको बताइन्छ । उक्त रकम नै आफूले जम्मा गरेको नेतिले दावी गरेको स्रोतले जानकारी दिएको छ ।
करोडौं रुपैयाँ वैंकले हिनामिना गरेको दावी गर्ने नेतिले आफ्नो आम्दानीको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । उनले उक्त रकमको स्रोत खुलाउन नसक्दा वैंकबिरुद्ध किटानी जाहेरी दिन आनाकानी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बैंकिङ प्रणाली र आन्तरिक नियन्त्रणमा कमजोरी

माथि उल्लेखित घटनाहरूले बैंकिङ प्रणालीमा देखिएको केही कमजोरीहरू उजागर गरेको छ । अपर्याप्त निगरानी, शाखा प्रबन्धक र उच्च व्यवस्थापनको सक्रिय निगरानी अभावले अपचलनको सम्भावना बढाएको छ । व्यक्तिगत सम्बन्ध र निकटताका कारण अपरेशन इञ्चार्ज र शाखा प्रबन्धकबीचको निकट सम्बन्धले अनियमित कारोबार गर्न सजिलो बनाएको स्रोतले दावी गरेको छ ।

राजनीतिक प्रभावका कारण उच्च व्यवस्थापन र संरक्षणवादले अनियमितता रोक्न नसकेको वैकिङ क्षेत्रका जानकारहरुको भनाइ छ । बैंकले पारदर्शीता अपनाउन नसक्दा जनविश्वास गुमाउँदै गएको बताइएको छ । लेखा परीक्षणको निष्क्रियताका कारण पनि आन्तरिक लेखापरीक्षणले विवरण पत्ता लगाएको भए पनि तुरुन्त कारबाही गर्न नसक्नुले नागरिकको निक्षेप सुरक्षामा प्रश्न खडा भएको छ ।

आठबिसकोट शाखाका अपरेशन इञ्चार्ज शाहले रकम अपचलन गरेको विषयमा आन्तरिक लेखा परीक्षण विभागले घटनाको प्रतिवेदन वुझाएपनि वैंकका उच्च व्यवस्थापनका कर्मचारी र सञ्चालक मौन रहेका थिए ।

दावी भुक्तानी नआएसम्म अपचलन गरेको रकम फिर्ता नगर्ने भन्दै उनीहरु बसेका थिए । बैंकका बचतकर्ता अञ्जु दर्जी र सरिता चापागाँईले २०८१ साल असोज १४ गते हिनामिना वापतको रकम ४८ लाख ८ हजार ७ सय ७०.१० पैसा अञ्जु दर्जीलाई र १२ लाख ५० हजार ७ सय ९१.८० पैसा सरिता चापागाँईलाई भुक्तानी दिइसकसकेको बैंकका आन्तरिक लेखा परीक्षण विभागका कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । उनका अनुसार करिव ६ करोडको हाराहारीमा आर्थिक अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि यस घटनालाई गुपचुप बनाउन वैंकका उच्च तहका कर्मचारी तथा व्यवस्थापन टिम लागीपरेको बताइन्छ ।

वैंकका प्रमुख कार्यकारी अशोक शेरचनको संरक्षणका कारण वैंकमा बद्मासी गर्ने कर्मचारीहरुलाई हालसम्म कारवाही गर्न नसकिएको जनाइएको छ । प्रमुख कार्यकारी शेरचन र प्रमुख वजार व्यवस्थापन पन्तबीचको घनिष्ठताले गर्दा पोल खोलिने डरले बिर्तामोड शाखाका अपरेशन इञ्चार्ज सिटौला जोगिएको बताइएको छ । उनीहरुको निकटताका विषयमा सिटौलालाई सबै जानकारी रहेको र सिटौला पक्राउ परे पोल खुल्न गई आफैं फसिने डरले घटनालाई गुपचुप बनाउन प्रमुख कार्यकारी शेरचन नै लागी परेको स्रोतले दावी गरेको छ ।

त्यसो त बैंकका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन नेपाली कांग्रेस निकट थिए । पछि उनी नेकपा एमाले निकट भए । जसका कारण उनी समानुपातिक संसद भए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट भएकै कारण उनी सांसद बने । जसको फाइदा बैंकमा हुने गरेको अनियमितता ढाकछोपमा सहयोगी बनेको बताइन्छ । उनले आफू निकट र आफन्त मध्येका अशोक शेरचनलाई प्रमुख कार्यकारी बनाए । उनकै संरक्षणमा बैंकमा हुने अनियमितताको ढकाछोप हुँदै आएको आरोप छ ।
तर, प्रहरीले नेकपा एमालेका पूर्वसांसद् भट्टचनलाई वैंक ठगी प्रकरणमा पक्राउ ग¥यो । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो । भट्टचन प्रभु समूहका अध्यक्ष रहेकै बेला पक्राउ परे । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो । भट्टचनबिरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।

११ असोज २०८१मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो । पछि सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएर उनलाई पक्राउ गरेको थियो ।

प्रभु बैंक क्षेत्रीय कार्यालयका प्रमुख बद्रीबहादुर कटवालले प्रमोद सिटौला विरुद्ध पीडित भनिएका नेपालले अदालतमा मुद्दा दर्ता गरेको बताएका छन्। त्यस बाहेक अन्य विषयमा आफूलाई थाहा नभएको जानकारी दिए ।

बिर्तामोड शाखाका अपरेसन इञ्चार्ज सिटौलाले रकम हिनामिना गरेको विषय बाहिरिएसँगै उनीबिरुद्ध बैंकले आन्तरिक कारबाही अघि बढाएको उनको भनाइ छ । उनी हालसम्म फरार रहेकाले प्रहरीलाई खोजी गरिदिन आग्रह गरिएको कटवालको भनाइ छ । बैंकसँग सम्बन्धित रहेका सिटौलालाई विभागीय कारबाहीका लागि बैंकको माथिल्लो तहले काम गरिरहेको र प्रतिवेदन समेत आफूहरूले बैंकको हेड अफिसमा पठाएको कटवालले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here