झापा । त्रिदेव बहुमुखी क्याम्पसको १८औँ क्याम्पस सभा शुक्रबार विविध गतिविधिसहित सम्पन्न भयो। कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक डा. गोविन्द गुरागाई प्रमुख अतिथि र नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी विशेष अतिथि थिए। सभाको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले गरे। 
प्रमुख अतिथि गुरागाईले त्रिदेव क्याम्पस समुदायको विश्वास र सहकार्यका आधारमा क्षेत्रीय नेतृत्व स्थापित गर्न सफल रहेको उल्लेख गर्दै सक्रिय व्यवस्थापन र सक्षम प्रशासनिक नेतृत्वका कारण क्याम्पसले उल्लेखनीय उचाइ लिइरहेको बताए। उनले पुरस्कृत विद्यार्थी तथा प्राध्यापकहरूलाई बधाई दिँदै परीक्षा पूर्वाधारका हिसाबले सक्षम रहेको त्रिदेव क्याम्पसलाई परीक्षा केन्द्र विस्तारमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
विशेष अतिथि अधिकारीले चुनौतीपूर्ण परिस्थितिमा पनि क्याम्पसले हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै सहनियन्त्रक गुरागाई सामुदायिक क्याम्पसका मुद्दा बुझ्ने व्यक्तित्व भएकाले आगामी दिनमा समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
डिग्री क्याम्पस विराटनगरका पूर्व प्रमुख डा. मनोज राउतले सामुदायिक क्याम्पस सञ्चालन चुनौतीपूर्ण हुने बताउँदै विद्यार्थीको गुणस्तर अभिवृद्धिका लागि शिक्षण विधिमा नवाचार आवश्यक रहेको उल्लेख गरे।
सभामा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले आर्थिक, शैक्षिक र प्रशासनिक प्रगति र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा समावेश ‘एक व्यक्ति १ हजार’ अभियानमार्फत हाल रहेको २५ लाख अक्षयकोषलाई १ करोड पुर्याउने प्रस्तावलाई सभाले सर्वसम्मत अनुमोदन गरेको थियो। सो क्रममा संस्थापक उपाध्यक्ष तथा सल्लाहकार सरद सिवाकोटीले १ हजार रुपैयाँ प्रदान गर्दै अभियानको सुरुआत गरे। मेची उद्योग वाणिज्य सङ्घ धुलाबारीका उपाध्यक्ष भूमि पौडेलले पनि १० हजार सहयोगको घोषणा गरे।
कार्यक्रममा प्राध्यापकहरूको लेख समेटिएको त्रिदेव जर्नल–२०२५ विमोचन गरियो। यसैगरी दाता नारद राई, प्राध्यापक रमेश निरौला र तारा सेडाईलाई सम्मान गरियो। राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी बी.एड. दोस्रो वर्षकी उषा निरौला ‘उत्कृष्ट विद्यार्थी’ का रूपमा सम्मानित भइन्।
यमुना–दाताराम स्मृति छात्रवृत्ति तथा मनप्रसाद–गोमा स्मृति छात्रवृत्ति कोषमार्फत व्यवस्थापन र शिक्षा संकायका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। त्रिवि सञ्चालन गर्ने परीक्षामा कक्षागत रूपमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र तथा एक छात्रालाई पनि नगद र प्रमाणपत्र प्रदान गरियो।
उत्कृष्ट विद्यार्थीको तर्फबाट उषा निरौला, स्ववियु सभापति ईश्वर रिजाल, उद्योग वाणिज्य सङ्घ धुलाबारीका उपाध्यक्ष भूमि पौडेल, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती र पूर्व सञ्चालक समिति अध्यक्ष सन्तोष नउपानेलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
सभामा संस्थापक अध्यक्ष हरिचरण बानियाँ, पूर्व सञ्चालक, दाता, सल्लाहकार, पूर्व क्याम्पस प्रमुख माधव प्याकुरेल, विभिन्न दलका प्रतिनिधि, सामुदायिक तथा निजी विद्यालयका प्रअ, सामाजिक संघ–सङ्गठनका प्रतिनिधि, प्रहरी चौकी चारालीका इन्चार्ज पुष्प खड्का, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो।
क्याम्पस प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमा संशोधन तथा सुझावसहित सभाले पारित गर्यो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनाल र व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहाल भट्टराईले गरेका थिए।































