माई नगरपालिकामा नागरिकता र घटना दर्ताका समस्या बढी

0
70

माई , नागरिकता तथा घटना दर्ता सेवामा देखिएका समस्या र समसामयिक कानुनी व्यवस्थाबारे माई नगरपालिकामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला प्रशासन कार्यालय इलामको आयोजना र माई नगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा नागरिकता ऐन, नागरिकता नियमावली, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ सहितका विधि–विधानबारे विस्तृत छलफल भयो।

जिल्लाभित्र सबैभन्दा धेरै नागरिकता तथा घटना दर्तासम्बन्धी समस्या माई नगरपालिकामै देखिएको तथ्यांक प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले नगरभित्र भइरहेका चुनौतीबारे अन्तरक्रियामार्फत स्पष्टता दिने उद्देश्य कार्यक्रमको मुख्य लक्ष्य रहेको बताइन्। उनले सहभागीका जिज्ञासामा केन्द्रित भएर नागरिकता वितरण र घटना दर्ताका प्रक्रियागत पक्ष प्रष्ट पारिन्।

माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बुले जनप्रतिनिधिले चुनावताका गरेका प्रतिबद्धता पूरा गर्न सके जनताका आधाभन्दा बढी समस्या समाधान हुने बताए। वडास्तरका कर्मचारीले कानुनबारे पूर्ण समझ राखे सेवा प्रवाहमा देखिने धेरै समस्या हट्नुका साथै विवादमा कमी आउने टिप्पणी उनले गरे।

नगरका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा उठाइएका सवालहरूको जवाफ प्रजिअ नेपालले क्रमशः स्पष्ट पार्दै गइन्।

प्रजिअ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट प्रमुख हरि मगरले गरेका थिए। माई नगरपालिकामा नागरिकता र घटना दर्तामा देखिएका समस्याका कारण नै विशेष रूपमा यो अन्तरक्रिया आयोजित गरिएको आयोजकहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here