
रक्तायाम्म कुरुक्षेत्रमा
अर्जुनको वाणैवाणको मृत्यु शय्यामा
रगतपच्छे भएर पीडाले छट्पटिएको
महान योद्धा भिष्मपितामह वाणको जलनले
रातभरि जलिरहे झैं
कठै ! मेरो सिंहदरबार रातभरि जलिरह्यो !
भिष्म पितामह त
असतमा लागेका कौरवको नुन खाएर दोषी थिए,
तर कठै ! विरासत बोकेको
सिंहदरबारको के दोष थियो ?
नालापानीको युद्धमा
शत्रुको गोलावारुदको आगोले
रातभर नालापानी किल्ला जलिरहे झैं
कठै ! सिंहदरबार रातभर जलिरह्यो !
नालापानी किल्ला त
शत्रुको गोलावारुदले रातभरि जलिरहेको थियो
तर, नेपालको मुटु तुल्य सिंहदरबार
नेपालीले नै जलाए
सिंहदरवारको के दोष थियो ?
कठै ! सिंहदरबारको के दोष थियो ?
रोयेङ्गा मुस्लिमलाई
झुप्राहरुमा अर्को धार्मिक सम्प्रदायले जलाउँदा
उनीहरुको शरीर जीउँदै रातभरि जलिरहे झंै
मेरो सिंहदरबार रातभरि जलिरह्यो !
रोयेङ्गाहरु त साम्प्रदायिक विवादमा परेका थिए
तर कठै ! सिंहदरबारको के दोष थियो ?



























