झापा।

हुलाकी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माण कार्य १४ वर्षदेखि अलपत्र अवस्थामा थियो।
विसं २०६८ मा निर्माण सम्झौता गरिए पनि पुल अहिलेसम्म नबन्दा स्थानीयवासीलाई आवतजावतमा ठूलो कठिनाइ भोग्नु परेको छ। पुल बनेको भए झापा र कोशी प्रदेशको राजधानी विराटनगरबीचको यातायात सहज हुने मात्र होइन, यस क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने थियो।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने शर्तमा ठेक्का दिइएको थियो। २०७२ जेठ २९ मै काम सक्नुपर्ने भए पनि हालसम्म पुरा भएन ।
पाँच पटक म्याद थप्दा पनि निर्माणमा अपेक्षित प्रगति नआएको अन्तिमपटक थपिएको म्याद २०८० असारमा समाप्त भएको थियो। काममा नगरेपछि करिब ७२३ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँग भएको ठेक्का रद्द गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय इटहरीले सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता औपचारिक रूपमा अन्त्य गरेको छ।

पक्की पुल डिजाइन एण्ड विल्ड मोडालिटीमा निर्माण गर्न २०६८ जेठ ३१ मा सम्झौता गरिएको थियो। २०७२ जेठ ३० भित्र काम सक्ने तय भए पनि पाँच पटक म्याद थप्दा समेत निर्माण प्रगति करिब ५६ प्रतिशतमै सीमित रहेपछि कदम चालिएको कार्यालयले जनाएको छ। करसहित कुल ३४ करोड ९ लाख रुपैयाँको ठेक्का रहेको यस परियोजनामा निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत गरिने कार्यालयले जनाएको छ।

योजना कार्यालयले गत ३१ असोजमा १५ दिनभित्र स्पष्टीकरण माग्दै ठेक्का किन नतोड्ने भन्ने प्रश्न राखेको थियो। तर व्यवसायीले दिएका स्पष्टीकरण चित्तबुझ्दो नठहरेपछि सार्वजनिक खरिद कानूनअनुसार ठेक्का रद्द गरिएको छ ।
































