भोजपुर,

वैदेशिक रोजगारीबाट फर्किपछि डेरी उद्योग सुरु गर्नुभएका पौवादुङमा–१ श्यामशिलाका युवा दीपकुमार राईले राम्रो आम्दानी गर्नुभएको छ । राईले छिन्तालुङ डेरी उद्योगमार्फत दैनिक ४०० लिटर दूध सङ्कलन गर्दै आउनुभएको छ । यसबाट राम्रो आम्दानी भएको उहाँको भनाइ छ ।
सङ्कलन गरिएको दूधबाट उहाँले छुर्पी बनाउनुहुन्छ । वार्षिक झण्डै रु ५० लाख बराबरको छुर्पी बाहिर पठाउदै आउनुभएका राईले मासिक करिब ४०० देखि ५०० किलोग्राम छुर्पी उत्पादन गर्दै आउनुभएको छ । “मैले दूधभन्दा पनि मुख्य रूपमा छुर्पी बनाएर बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “यहाँको छुर्पी बाहिरका जिल्लामा मात्र नभई विदेशसम्म पनि जाने गरेको छ ।”
गुणस्तरीय छुर्पी प्रतिकेजी रु एक हजार १५० सम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले किसानलाई लक्षित गरेर अनुदानमा गाई वितरण गरेपछि दूध सङ्कलनमा कुनै समस्या नरहेको राईले जानकारी दिनुभयो । “किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म लैजान समस्या थियो”, उहाँले भन्नुभयो, “यहाँ नै उद्योग सञ्चालन भएपछि किसानलाई बिक्रीमा सहज भएको छ । म घरघरमै पुगेर दूध सङ्कलन गर्छु ।” उहाँले नौनी घ्यू प्रतिकेजी रु ७५० र खरुवा घ्यू रु एक हजारमा बिक्री गर्दै आउनुभएको छ ।
श्यामशिला क्षेत्रमा विगतदेखि पशुपालन हुँदै आएको भए पनि बजार अभावका कारण समस्या रहेकामा अहिले सहजता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन दुग्ध ‘मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पशुपालनका लागि उपयुक्त क्षेत्रमा उन्नत जातका गाईभैँसी अनुदानमा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
“पशुपालन गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्दै आएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “दूध बिक्रीबाट किसानले राम्रो आम्दानी लिन थालेका छन् । प्रोत्साहनका कार्यक्रमले किसानलाई आयआर्जनमा जोडेको छ ।”
स्थानीयलाई पोषण र आयमा जोड्न यसअघिमा वर्षमा १३ वटा उन्नत जातका भैँसी वितरण गरिएको थियो । गत आर्थिक वर्षदेखि पुनःउन्नत जातका गाई वितरण भइरहेको उपाध्यक्ष ज्योत्स्ना राईले बताउनुभयो ।





























