विमल दहाल, माई ।

माई नगरपालिका इलाममा रहेको साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड दानावारीले बाढी-पहिरो पीडित सदस्यहरूलाई आईतबार एक कार्यक्रमका बीच नगद राहत वितरण गरेको छ।
गत असोज १८ र १९ गते आएको विनाशकारी बाढी-पहिरो पीडित संस्थाका ३८ जना सदस्यहरुलाई नगद राहत वितरण गरिएको संस्थाका अध्यक्ष कल्पना थापा मगरले जानकारी दिनुभयो ।
विपतमा परि पूर्ण विस्थापित तीन परिवार सदस्यलाई नगद १० हजारका दरले र बाँकी ३५ परिवारलाई नगद पाँच हजारका दरले राहत वितरण गरिएको छ। राहत वितरण कार्यक्रम माई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामबहादुर राई र वडा नम्बर ४ का वडा अध्यक्ष हेमबहादुर मगरको प्रमुख आतिथ्यतामा पीडित परिवारका सदस्यहरूलाई नगद हस्तान्तरण गरिएको सहकारीका प्रबन्धक ईन्द्र बहादुर रैका मगर (दिपक)ले जानकारी दिनुभयो।
प्रबन्धक मगरका अनुसार सहकारीसँग आबद्ध सदस्यको जनधनको क्षति भएकाले स्थानीय सरकार, प्रहरी कार्यालय र स्थलगत अनुगमनका आधारमा तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिएको बताउनु भयो। उहाँले विपतमा परेका सदस्यहरुलाई कर्जामा सहुलियत, व्यवसायिक तथा सिपमुलक तालिम, कृषिमा आवश्यक सामग्री सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
प्रमुख अतिथि माई नगरपालिका वडा नं १ का वडाध्यक्ष राम वहादुर राईले विपतमा पर्नु भएका सदस्यलाई सहकारीले मलमपट्टि गर्नेगरी कार्य गरेकोमा धन्यवाद प्रदान गर्नुहुँदै विपतमा १० हजार र ५ हजारका दरले नगद राहत प्रदान गर्ने सहकारीको प्रशंसा गर्नुभयो।
अर्का अतिथि वडा नम्बर ४ का वडाध्यक्ष हेमबहादुर लायो मगरले जे जति नोक्सानी भयो त्यसको मलमपट्टी हुने गरी साना किसानले गरेको यो महान कार्यप्रति सम्मान व्यक्त गर्नुभएको छ। वहाँले नगरपालिकाबाट समेत ९०९ परिवारलाई राहत सहयोग गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो । साना किसान महिला सहकारी संस्थाले विकास निर्माण, राहत वितरण, कृषि लगानी लगायत कार्य गरेकोमा वडाध्यक्ष मगरले धन्यवाद दिनुभयो।
सहकारी संस्थाले पूर्ण विस्थापित हर्कमाया लिम्बु, डम्बरकुमारी मगर र भीमकुमारी मगरलाई नगद १० हजार प्रदान गरेको छ भने नगद ५ हजारका दरले कमला बस्नेत, नरमाया श्रेष्ठ, इन्द्रमाया गिरी, देवीमाया धिताल, बिना चापागाईं, डम्बर कुमारी अधिकारी, तारादेवी कार्की, सुमाकुमारी पौडेल,भद्रकला खतिवडा, पवित्रा गिरी, देवीमाया फागो, उर्मिला लिम्बु लगायत ३८ जनालाई नगद राहत वितरण गरेको सहप्रबन्धक सिर्जना खवास ले जानकारी दिनुभयो ।
आफ्नो सदस्यलाई यो विपतमा केही सहयोग गर्ने निर्णय गरिएको सहकारी संस्थाका अध्यक्ष कल्पना मगरले बताउनुभयो। वहाँले राहत वितरणले ठुलो समस्यालाई केही नहुने भएतापनि दुःख पीडामा संस्थाले मलमपट्टी लगाउने कार्य गरेको बताउनुभयो । सदस्यहरुलाई विपतमा कसरी सहयोग गर्न सकिन्छ भन्ने गरी संस्थाले सहुलियत कर्जा दिन तयार रहेको अध्यक्ष कल्पना मगरले बताउनु भएको छ ।































