झापा, अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा आज राति भीषण आगलागी भएको छ। राति करिब ८ ४० बजे सन्तोष शाहको दुईतले पक्की घरमा सञ्चालित हार्डवेयर पसलमा विद्युतीय सर्ट भएर आगलागी सुरू भएको प्रहरीले जनाएको छ।
बजारको घना बस्तीबीच अचानक आगो सल्किएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो। आगो फैलिन नदिन प्रारम्भिक चरणमै सशस्त्र प्रहरी सुरक्षा बेस शनिश्चरेका १० जना र प्रहरी चौकी शनिश्चरेका १५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट एक–एक गरी तीनवटा दमकल घटनास्थल पुगेपछि करिब ४०–५० जना स्थानीयवासीको सहयोगमा आगो केही बेरअघि मात्रै नियन्त्रणमा ल्याइएको प्रहरीले बताएको छ।
उक्त हार्डवेयर पसलमा थुप्रै प्रज्वलनशील सामग्री रहेको हुँदा आगो व्यापक रुपमा फैलिए पनि समयमै दमकल तथा सुरक्षाकर्मी परिचालन हुँदा ठूलो दुर्घटना हुनबाट बजार जोगिएको स्थानीयवासीले बताएका छन्।
आगलागीबाट घर तथा पसलमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार ठूलो धनमालको क्षति भएको भए पनि कति रकम बराबरको नोक्सानी भयो भन्ने औपचारिक विवरण भने आउन बाँकी छ।





























