झापा , जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीमा गरिएको तोडफोड र आगजनी प्रकरणमा संलग्न ८ जना कारागार चलान भएका छन्।
अदालतबाट चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ भने धरौटी रकम तिर्न नसकेर थप चारजनासमेत जेल पुगेका हुन्।
झापा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि आपराधिक उपद्रव, थुनुवा भागे भगाएको तथा हातहतियारसम्बन्धी मुद्दामा पाँच जना प्रतिवादीमाथि आदेश जारी गरिएको न्यायालयका सूचना अधिकारी रामचन्द्र बस्नेतले बताए।
अदालतले सुनसरी हरिनगर–१ का २२ वर्षीय शाहिद हुसैन अन्सारी, बिर्तामोड–५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड–३ का २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
त्यस्तै बिर्तामोड–५ की २४ वर्षीया पुजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार धरौटीमा छोड्ने आदेश भए पनि रकम बुझाउन नसकेपछि उनीहरू समेत कारागार चलान भएका छन्।
यसअघि बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी, १६ वर्षीय आयुष धिमाल र बिर्तामोड–६ का २४ वर्षीय अनिश मण्डल जेल पठाइसकिएका छन्।
पक्राउ परेकामध्ये नवराज राईमाथि तेहोरो र अनिश मण्डल, शाहिद हुसैन अन्सारी, पुजा मगर, सुरज राईमाथि दोहोरो अभियोग दर्ता भएको इप्रका अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए।
यसअघि जेनजी आन्दोलनकै क्रममा इप्रका दमकमा आक्रमण गर्ने १३ जना अदालतको आदेशमा कारागार पुर्पक्षका लागि चलान भइसकेका छन्।
तीन दिनअघि जारी आदेशअनुसार विभिन्न मितिमा पक्राउ परेकामध्ये पाँचथर, इलाम र झापाका १० भन्दा बढी व्यक्ति जेल पठाइएको थियो।
त्यसमध्ये पाँचथर मिक्लाजुङ–५ का २१ वर्षीय साजन लुहागुन, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–७ का २४ वर्षीय लोमस कटुवाल, गौरव भुजेल, सुशिल फियाक, शिव मल्लिक, इलामका दर्शन लिम्बू, गौरादहका सुन्दर गिरी, गौरीगञ्ज–३ का रमेश पासवान र उनका १९ वर्षीय छोरा सोनु पासवान पुर्पक्षका लागि थुनामा पुगेका छन्।
गत कात्तिक २७ गतेको आदेशअनुसार इलामका सुजल राई, दमक–९ का अरुण रोका र गणेश शर्मा पनि जेल चलान भइसकेका छन्।
दमक क्षेत्रका चार नाबालकलाई भने अभिभावकको जिम्मामा छाडिएको छ। त्यस्तै दमक–९ का ३४ वर्षीय सन्तबहादुर मोते र दमक–८ का ३६ वर्षीय उमेश थापा जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। दमक–३ का २१ वर्षीय केदार बस्नेत ३० हजार धरौटी बुझाएर छुटेका छन्।
जिल्लाभर जेनजी आन्दोलनका नाममा आक्रमण, तोडफोड र अराजक गतिविधिमा संलग्न भएको आरोपमा ४६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार २१ जना पुर्पक्षका लागि थुनामा छन्, चार नाबालक अभिभावकको जिम्मा, तीन जना धरौटीमा रिहा र सात जना हाजिरी जमानीमा छुटेका छन्। बाँकीमाथि अनुसन्धान जारी छ।





























