न्यायिक समिति सञ्जाल इलामको बैठक तथा कार्यशाला चुलाचुलीमा सम्पन्न

0
75

विमल दाहाल

इलाम,
इलाम जिल्ला स्तरीय न्यायिक समिति सञ्जालको बैठक तथा निर्देशनात्मक कार्यशाला गोष्ठी सोमबार चुलाचुली गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रममा न्यायिक कार्यसम्पादन, मेलमिलाप प्रक्रियामा देखिएका चुनौती तथा सुधारका अवसर, समुदायसँगको समन्वय र सञ्जालको भूमिकाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पीडितले अपेक्षा गरेअनुसार न्यायमा सहज पहुँच उपलब्ध गराउन सञ्जालले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताए। मेलमिलापकर्ताको सक्रियताले स्थानीय स्तरमा विवाद समाधान प्रक्रियामा विश्वास बढेको उनको टिप्पणी थियो।

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले एउटा पालिकामा भएका सफल अभ्यासहरू अन्य पालिकाका लागि मार्गदर्शन बन्नु सकारात्मक पक्ष भएको बताउँदै न्यायिक प्रक्रिया निष्पक्ष, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने आवश्यकता औंल्याइन्। उनले फैसलामुखी प्रक्रियाको भन्दा मेलमिलापमै प्राथमिकता दिनु सामाजिक सद्भावका लागि महत्वपूर्ण रहेको उल्लेख गरिन्।

कार्यक्रममा सहजीकरण गर्ने संस्था मानवअधिकार मञ्च नेपालका कार्यक्रम निर्देशक देवेन्द्र विश्वकर्माले सञ्जालको काम, कर्तव्य र औचित्यबारे प्रष्ट पार्दै जिल्ला स्तरीय न्यायिक सञ्जालले न्याय निरूपणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे।

बैठकमा इलामका १० वटै स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, न्यायिक समितिका संयोजक तथा सदस्य, उजुरी प्रशासक, मेलमिलापकर्ता तथा सरोकारवालाहरू सहभागी थिए। कार्यक्रममा न्यायिक समिति सञ्जाल इलामको अध्यक्षता हस्तान्तरणसमेत गरिएको थियो। आगामी तीन महिनाका लागि माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङलाई नयाँ अध्यक्षको जिम्मेवारी दिइएको छ।

बैठकका सहभागीहरूले स्थानीय तहमा देखिने विवाद, मनमुटाव र वैमनस्यताका मुद्दाहरूलाई शान्त, न्यायपूर्ण र सहमतिको आधारमा टुंग्याउन मेलमिलापकर्ताहरूले दोहोरो पक्ष सुन्ने, समान व्यवहार गर्ने र निष्पक्षता कायम राख्ने भूमिकालाई अझै मजबुत बनाउनुपर्नेमा एकमत जनाए।

न्यायिक समिति सञ्जालको बैठक प्रत्येक तीन महिनामा अलग–अलग पालिकामा गर्दै आइएको छ। सुर्योदय नगरपालिकाबाट सुरु भएको बैठक इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माई नगरपालिका, फाकफोकथुम हुँदै यसपटक चुलाचुलीमा सम्पन्न गरिएको हो। आगामी बैठक फागुनमा माङ्सेबुङ गाउँपालिकामा गर्ने प्रस्ताव गरिएको छ।

कार्यक्रम चुलाचुली गाउँपालिका उपाध्यक्ष दिल कुमारी योङयाङ लिम्बुको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रम सञ्चालन चुलाचुली गाउँपालिका उजुरी प्रशासक सम्झना केरुङ र मानवअधिकार मञ्चका सहजकर्ता मनकुमार बराइलीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here