मोरङमा डीआईजी घिमिरेको स्थलगत निरीक्षण, सीमा सुरक्षादेखि नागरिक मैत्री सेवासम्मका निर्देशन

0
50

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले मोरङको शान्ति सुरक्षाको अवस्था, प्रहरीको दैनिक कार्यसम्पादन र सेवाप्रवाहको अवस्था बुझ्न सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको स्थलगत निरीक्षण गरेका छन् ।

उनको निरीक्षणलाई औपचारिक कार्यक्रमभन्दा पनि प्रहरी संगठनलाई अनुशासित, उत्तरदायी र नागरिकप्रति जवाफदेही बनाउन केन्द्रित प्रयासका रूपमा हेरिएको छ । डीआईजी घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको भवनसँगै अपराध अनुसन्धान शाखा, प्रशासन, महिला तथा बालबालिका सेवा केन्द्र, गुनासो कक्ष, प्रहरी ब्यारेकलगायतको भौतिक पूर्वाधार, कार्यशैली र अभिलेखीकरणको अवस्था अवलोकन गरेका थिए ।

निरीक्षणका क्रममा उनले कार्यालयभित्रको रेकर्ड व्यवस्थापन, फाइलिङ प्रणाली, डिजिटल प्रणालीको प्रयोग र सेवाग्राहीसँगको व्यवहारसमेत नजिकबाट नियालेका थिए । निरीक्षणकै क्रममा घिमिरेले मोरङ जिल्ला कोशी प्रदेशको राजधानी अवस्थित जिल्ला भएकाले यहाँको प्रहरी गतिविधि नमुना बन्नुपर्ने बताएका छन् ।

उनले दैनिक सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही वा गैरजिम्मेवारीपन देखिन नहुने भन्दै प्रहरी अधिकृत र जवानलाई स्पष्ट निर्देशन दिए । ‘विराटनगर र मोरङको सुरक्षा सुदृढ भए मात्रै समग्र प्रदेशमा जनआस्थाको वातावरण सिर्जना हुन्छ’ भन्ने धारणा उनले व्यक्त गरेका थिए ।

भारतसँगको खुला सिमानाका कारण मोरङ उच्च जोखिममा रहेको उल्लेख गर्दै डीआईजी घिमिरेले सीमावर्ती क्षेत्रहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । चोरी, तस्करी, लागुऔषध कारोबार, अवैध हातहतियारको ओसारपसार जस्ता गतिविधि नियन्त्रणका लागि सूचनामा आधारित कारबाही र नियमित गस्ती बढाउन उनले जोड दिए । सीमावर्ती क्षेत्र, नाका र शंकास्पद आवागमन हुने स्थानमा निगरानी अझ प्रभावकारी बनाउन पनि उनले निर्देशन दिएका थिए ।

उनले कार्यालयमा सेवा लिन आउने नागरिकलाई प्राथमिकतामा राखेर छिटो, सरल र प्राविधिमैत्री सेवा दिनुपर्नेमा पनि जोड दिएका छन् । नागरिकले प्रहरी कार्यालयलाई भरोसायोग्य संस्था भनेर महसुस गर्नुपर्छ भन्दै उनले नागरिकमैत्री व्यवहारलाई अनिवार्य कार्यसंस्कृतिको रूपमा विकास गर्नुपर्ने बताए । संगठनको उद्देश्य विपरीत काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत उनले दिए ।

सार्वजनिक सुरक्षालाई बलियो बनाउन लामो तथा छोटो दूरीका नियमित गस्तीलाई प्रभावकारी बनाउनुपर्ने, सडक सुरक्षाका लागि सवारी दुर्घटना न्यूनीकरण गर्ने सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा पनि डीआईजी घिमिरेले जोड दिए । विद्यालय, बजार क्षेत्र, औद्योगिक क्षेत्र तथा संवेदनशील स्थानहरूमा लक्षित गस्ती र जनचेतना कार्यक्रम विस्तार गर्न उनले प्रहरीलाई निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराधको प्रवृत्ति, चुनौती र हालसम्म भइरहेका पहलहरूको विस्तृत जानकारी डीआईजी घिमिरेलाई गराएका थिए । सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमनकुमार तिम्सिनालगायतका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी संगठनलाई अझ पारदर्शी, अनुशासित र जनमुखी बनाउने उद्देश्यसहित गरिएको यस निरीक्षणलाई मोरङमा शान्ति सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here