
‘युवा’ भन्नाले सामान्यतयाः बाल्यकाल सकिएर वयस्कता प्रवेश गर्ने उमेर समूहका व्यक्तिहरू जनाइन्छ । उमेरले मात्र युवाको परिभाषा निर्धारण हुँदैन । युवालाई ऊर्जाशील, सक्रिय, सृजनशील र समाज तथा राष्ट्रको परिवर्तनमा योगदान पु¥याउने क्षमता भएका व्यक्तिहरू पनि मानिन्छ । युवावस्था मानव जीवनको एउटा विशेष चरण हो, जसमा मानिसमा नयाँ अनुभव सिक्ने उत्साह, सामाजिक परिवर्तन र नेतृत्व गर्ने क्षमताको विकास हुन्छ । यो उमेर समूहमा व्यक्ति आफ्नो भौतिक, मानसिक र बौद्धिक क्षमता अभिवृद्धि गर्दै समाज र राष्ट्रको भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सक्छ ।
समाजको परिवर्तन निरन्तर चल्ने प्रक्रिया हो । तर, वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र ऊर्जाशील तह भनेको युवा वर्ग हो । युवालाई विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बंगलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचकालाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ अनुसार १६–४० वर्षका व्यक्तिहरूलाई युवा मानिन्छ । नेपालको कुल जनसंख्याको राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूको जनसंख्या ४२.५६% रहेको छ । राष्ट्रिय युवा नीति २०८२ को नयाँ परिभाषा अनुसार, १८ देखि ३५ वर्ष उमेर समूहको जनसंख्या कति हुने भन्ने कुरा अझै गणना गर्न बाँकी छ । यसका लागि राष्ट्रिय युवा परिषद्ले नयाँ नीति अनुसारको युवाको जनसंख्या गणना गर्न अनुरोध गरेको छ ।
नेपालको इतिहास हेर्ने हो भने राणा शासनको अन्त्यका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका रहेको थियो । राणा शासनको बिरुद्धमा लागेर मृत्युवरण गरेका शहीद गंगालालको उमेर २२ मात्र थियो । त्यतिबेला उनीसँगै देशको लागि थुप्रै युवाहरुले योगदान गरेका थिए । पञ्चायति व्यवस्थाबिरुद्ध भएको ४६ सालको अभूतपूर्व आन्दोलनमा सक्रिय भूमिका खेल्ने पनि युवाहरु नै थिए र युवाहरुको बलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो ।
यी धेरै परिवर्तनले केही परिवर्तन गरे, युवाहरु राजनीतिमा आए अवसर दियो । तर, नेपालमा केही चुनौतीहरू पनि थिए । व्यापक भ्रष्टाचार, कुशासन, केही समूहको वरिपरि घुमेको सत्ताको मात र व्यक्तिगत अहंकारका कारण युवामा असन्तोष बढ्यो । यसै कारणले, आर्जित शिक्षित युवा विद्यार्थीहरूले २०८२ साल भाद्र २३–२४ गते भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै देशमा सकारात्मक परिवर्तनको खोजी गरे । देशका शासन सत्ता सञ्चालन गर्ने निकायहरु आगजानी टोडफोडले ध्वास्त भए, त्यसलगत्तै नयाँ सरकार बनेको छ । आगजानी भएका गरिएका सरकार संरचना पुनः निर्माण युवा नै जुट्नुले स्पष्ट देखाउँछ कि युवा ऊर्जाशील मात्र होइनन्, सकारात्मक परिवर्तन र न्यायको लागि अग्रसर भूमिका पनि खेल्न सक्छन् ।
पछिल्लो १० वर्षमा १८–२४ वर्ष उमेर समूहका करिब दुई लाख युवाले उच्च शिक्षा हासिल गर्न विदेशिएका छन् । यसले नेपालबाट शिक्षाका लागि अरबौं रुपैयाँ वार्षिक रूपमा बाहिरिएको तथ्य पुष्टि गर्छ । विदेश गएको युवामध्ये धेरैले स्थायी बसाइ रोजेका छन्, तर केही युवा आफ्नै देश फर्केर विदेशमा हासिल गरेको शिक्षा र सीप प्रयोग गर्दै विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् । उदाहरणका लागि कृषि सम्बन्धी सीप हासिल गर्न इजरायल गएका युवा समूहले नेपाल फर्केर लमजुङमा आरभा आधुनिक कृषि फार्म सञ्चालन गरी स्थानीय सयौं युवालाई रोजगारी दिएका छन् । त्यस्तै उच्च आय भएका देशहरू जस्तैः अमेरिका, बेलायत, अस्ट्रेलिया, फिनल्याण्डमा विश्वविद्यालयदेखि ठूला कम्पनीमा कार्यरत नेपाली युवाहरू पनि छन् । यसैगरी प्रविधि र नवप्रवर्तनमा सक्रिय महावीर पुन जस्ता युवा नेपाल फर्केर शिक्षा र प्रविधिमुखी विकासमा योगदान दिइरहेका छन् । यी उदाहरणहरूले स्पष्ट देखाउँछ कि विदेशबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालमा लागू गर्ने वातावरण र अवसर सिर्जना गर्न सकेमा युवा शक्तिले देशको आर्थिक, शैक्षिक र प्राविधिक विकासमा ठूलो योगदान दिन सक्छ ।
सामाजिक परिवर्तनमा युवा
समृद्ध देश निर्माणको एउटा आधार सामाजिक परिवर्तन पनि हो । समाजमा रहेका परम्परागत मूल्यमान्यता, सोच–विचार, चाडपर्व, रीतिरिवाज, रहनसहन, जातजाति, भाषाभाषी आदि कुराहरुले सामाजिक पक्षलाई इंगित गर्दछ । विश्वका विकसित र अविकसित समाजमा कुनै न कुनै रुपमा सामाजिक विभेद वा असमानताको अवशेष देखिन्छ । अविकसित देशमा सामाजिक विभेदको रुप ठूलो मात्रा देखिन्छ भने विकसित समाजमा भने कतै निर्मुल भएको कतै सुषुप्त अवस्थामा भेटिन्छ । यसरी विश्वमा देखिने सामाजिक असमानताका रुपहरुलाई जरैदेखि निर्मुल पार्न युवाको भूमिका अपरिहार्य हुन्छ ।
नेपाली समाजमा व्याप्त जातीय छुवाछुत, लैङ्गिक विभेद, बालविवाह, बहुविवाह, कुप्रथाहरु, कुरीति, कुसंस्कार, छाउपडी प्रथा जस्ता अमानवीय, असामाजिक क्रियाकलापहरु निर्मुल पार्न सामाजिक आन्दोलनको आवश्कता छ । विगतमा हाम्रा पुर्खाले जे–जसरी बिताए पनि वर्तमानमा युवापिँढीको सोच परिवर्तन हुन जरुरी छ । अन्धविश्वास कुरीति कुसंस्कारका पछि दर्गुनुभन्दा पनि कुनै पनि सामाजिक पक्षको वास्तविक धरातल पत्ता लगाई समाजबाटै त्यस्ता कुप्रथा, कुप्रवृत्तिको अन्त्य गर्न युवाहरुको विशेष भूमिका रहन्छ । देशको अग्रगामी विकासका लागि सामाजिक विभेद र असमानताको अन्त्य हुन जरुरी छ । सामाजिक परिवर्तनको महान अभियानमा युवाहरुको नेतृत्व आवश्यक देखिन्छ । यसरी सकारात्मक सोच विना सामाजिक परिवर्तन र सामाजिक परिवर्तन बिना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन । समाजमा सदियौंदेखि जरा गाडेर बसेका सामाजिक विकृति विसंगतिको अन्त्य गरी आधुनिक समृद्ध नेपाल निर्माणमा युवाहरु एक कदम अगाडि बढ्नु जरुरी छ । बढेको पनि पाइन्छ ।
आर्थिक परिवर्तनमा युवा
देशको समृद्धि मापन गर्ने एउटा आधार आर्थिक पाटो पनि हो । देशको अर्थतन्त्र सबल नभएसम्म देशलाई समृद्धि उन्मुख बनाउन चुनौतीपूर्ण हुन्छ । नेपालमा सबैभन्दा चुनौतीको रुपमा रहेको समस्या मध्ये वेरोजगारी समस्या पनि एक हो । वरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरु विदेशिनुपर्ने बाध्यता र विवशता छ । अधिकांश युवाहरुको रगत र पसिना विदेशी भूमिमा बगिरहेको छ । यसरी एकातिर जीवनको ऊर्जाशील समय अरुकै लागि समर्पण गर्दा आफ्नो देशको विकास पर धकेलिएको छ भने अर्कोतिर दिनानुदिन परनिर्भता बढ्नुका साथै प्रतिभा पलायनको जोखिम पनि कम छैन् । तत्काललाई बेरोजगार समस्या कम भई रेमिट्यान्स मार्फत वैदेशिक रोजगारले विदेशी मुद्रा आर्जन भएको देखिएता पनि दिर्घकालीन रुपमा यसले देशलाई फाइदा गर्दैन । त्यसैले युवाहरुको कर्मशील हातहरु देशकै उन्नति र प्रगतिका निम्ति खियाउनु पर्दछ ।
नेपाल प्राकृतिक साधन तथा स्रोत, वन तथा वातावरण, पर्यटन व्यवसाय, उद्योग कलकारखाना आदिमा निकै सम्भावना बोकेको देश भएकोले यस्ता क्षेत्रमा प्रशस्त लगानी गरी स्वदेशमा रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पालयन हुनाबाट रोक्न सकिन्छ । वर्षौं विदेशमा बगाएको पसिनाको अनुभवबाट फर्केका युवाहरुले आफ्नो अनुभव र सीपलाई स्वदेशमा प्रयोग गर्नु पर्दछ । कृषि, पशु, उद्योग, पर्यटन, व्यापार व्यवसायमा युवाहरुको आकर्षण बढाउन तीनवटै सरकारले युवा लक्षित कार्यक्रम बनाउन आवश्यक देखिन्छ । यसरी देशमा उपलब्ध साधन र स्रोतको समुचित व्यवस्थापनका माध्यमबाट देशको आर्थिक मुहार फेर्न युवाहरुको जोस, जाँगर, सीप, अनुभव र पसिनाको खाँचो देशलाई पर्दछ । युवाहरुको लगनशिलता, परिश्रमी र इमान्दारिताले देशको आर्थिक परिवर्तन ल्याई समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न सकिन्छ ।
राजनीतिक परिवर्तनमा युवा
नेपालमा अनेकौं राजनीतिक परवर्तन भए । राजनीतिक परिवर्तनसँगै राज्य व्यवस्था र शासन प्रणालीमा पनि परिवर्तन भयो । विश्वको राजनीतिक इतिहासलाई पल्टाएर हेर्ने हो भने युवाहरुको विरगाथा स्वर्ण अक्षरले लेखिएको भेटिन्छ । नेपालको प्राचीन राजनीतिक इतिहासदेखि आधुनिक कालसम्म भएका जति पनि राजनितिक परिवर्तन भएका छन् ती सबै परिवर्तनमा युवाहरुको विरता र रगत जोडिएको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान होस वा नेपाल अंग्रेज युद्ध होस तत्कालिन गोर्खाली सेनाको विरताको गाथा हाम्रो मानसपटलमा भिजेकै छ ।
वि.स.२००७ सालको क्रान्ति २०३६ सालको विद्यार्थी आन्दोलन, वि.स.२०४६ को जनआन्दोलन, २०५२ देखि शुरु भएको १० बर्षे जनयुद्ध र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रही काम गर्ने कार्य युवाहरुले गरेकै हुन । भर्खरै सुशासन, भष्टचारको बिरुद्ध २०८२ भाद्र २३ र २४ गते जेन–जी आन्दोलनमा पूर्ण युवाको भूमिका छ । यसरी विभिन्न राजनीतिक आन्दोलनमा युवाहरुले आफ्नो प्राणको आहुती पनि दिएकै हुन । तथापी युवाहरुको महान कार्यको प्रतिफल पाउन भने चुकेकै हुन । राजनीतिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका युवाहरु राजनीतिक परिवर्तन पछिको लाभ तथा जिम्मेवारीमा भने युवाहरुलाई पन्छ्याएकै देखिन्छ ।
यसरी विगतदेखि वर्तमानसम्म भएका राजनीतिक परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण भए जस्तै आगामी दिनमा पनि युवाहरुको राजनीतिक भूमिका कम भइसकेको छैन् । शैशव अवस्थामा रहेको संविधानको रक्षा र कार्यान्वयन गर्न, देशमा सुशासन कायम गर्न पवित्र राजनीतिक आचरण गर्न, सक्षम र जिम्मेवार, राजनीतिक कर्मीको भूमिकामा रहन ऐन कानूनको निर्माण र कार्यान्वयन गर्न, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न, दरिलो कुटनीतिक सम्बन्ध स्थापित गर्न, विश्व समुदायमा नेपालको पहिचान उच्च राख्न, मानवअधिकारको रक्षा गर्न, समुन्नत नेपाल निर्माण गर्न युवाहरुको भूमिका महत्वपूर्ण छ ।
नेपालको अस्थिर राजनीतिक संस्कारलाई निर्मुल पार्न, राजनीतिभित्र हुने अन्याय अत्याचार, नातावाद, कृपावाद, घुसखोरीतन्त्रबिरुद्धमा युवाहरुको आवाज बुलन्द हुनुपर्दछ । सरकारले गरेका नराम्रा कार्यको विरोध गर्नु, सुशासन तथा शान्ति सुरक्षा कायम गर्न सरकारलाई सहयोग गर्न युवाहरुको विशेष जिम्मेवारी हुन्छ । आफूले स्वच्छ राजनीतिक आचरणभित्र रही अरुलाई पनि सोही प्रकारको आचरण गर्ने अनुकरणीय व्यक्तिको रुपमा युवाहरु स्थापित हुनु पर्दछ ।
विकास निर्माणमा युवा
विकास निरन्तररुपमा चलिरहने एक प्रक्रिया हो । सकारात्मक संरचनात्मक र प्रगतिशिल परिवर्तन विकास हो । पुँजी, श्रम र लगानीको समन्वयात्मक सम्बन्धबाट विकासलाई अगाडि बढाउन सकिन्छ । आर्थिक, सामाजिक, राजनीतिक विकास जस्तै भौतिक विकासबाट देशलाई समृद्धिको ढोकामा लिन सकिन्छ । युवा शक्ति भनेको जोस, जाँगर र आँट भएको आफ्नो पाखुरा र बाहुबलमा विश्वास गर्ने श्रम शक्ति हो । हरेक युवाले देशको विकास निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका हुन्छन् । युवाहरुको शारीरिक र मानसिक श्रमद्वारा देशलाई अग्रगामी विकासको सुमार्गमा हिडाउँन सकिन्छ ।
देश विकासको स्पष्ट मार्गचित्र कोर्ने योजना कार्यान्वयन गर्ने, सामुहिक भावनाको विकास गरी विकास कार्यमा सहभागी हुने, भौतिक निर्माण तर्फका विभिन्न आयोजनालाई मूर्तरुप दिने, विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका पक्षमा योजना बनाउने, कार्यान्वयन गर्ने जस्ता महŒवपूर्ण भूमिकामा युवाहरुको उपस्थितिले कुनै समाज वा देशलाई समृद्धिको दिशातिर अग्रसर गराउन सकिन्छ ।
सिमा सुरक्षामा युवा
कुनै पनि देश छुट्याउने आधार ती देशका भौगोलिक सिमाना हुन् । देशको सिमा सुरक्षा गर्नु प्रत्येक देशको दायित्वभित्र पर्दछ । दुई ठूला देश भारत र चीनको बीचमा अवस्थित भूपरिवेष्ठित देश नेपालको सिमा सुरक्षाको विषय दिनानुदिन पेचिलो बन्दै गएको तितो यर्थाथता घाम जस्तै छर्लङ्ग छ । भारतको खुला सिमानाका कारण भारत नेपालको सिमाना क्षेत्रमा चोरी, डकैती, तस्करी, लागूऔषधको तस्करी, कर छली जस्ता जघन्य सामाजिक अपराधको मात्रामा पनि कमी छैन् । भारतसँगको अधिकांश ठाउँमा सिमा विवाद छ । कालापानी, लिपुलेक र सुस्ता क्षेत्रमा त सबैभन्दा बढी नेपाली भू–भाग अतिक्रमणमा परेको छ । सिमा सुरक्षाको नेपाली इतिहास हेर्ने हो भने युवाहरुको भूमिका अग्रपंक्तिमा देखिन्छ । नालापानीको युद्धमा विर बलभद्र कुँवरको विरताको शब्दद्वारा बयान गरेर साध्य छैन् ।
पछिल्ला समयमा पनि सिमा सुरक्षाका खातिर युवाहरुले ज्यान गुमाउनु परेको कुरा कञ्चनपुरको पुनर्वास घटनाले चित्रण गर्दछ । राष्ट्रिय भावनाबाट लालायित बनेको नेपाली युवा आफ्नो देशको सिमा सुरक्षाका खातिर प्राणको आहुती दिन तयार छन् भन्ने कुराको ज्वलन्त उदाहरण कञ्चनपुरको घटनालाई लिन सकिन्छ । सिमा क्षेत्रको सुरक्षा गर्न, सिमा विवाद भएका ठाउँको स्थलगत अनुगमन गरी द्विपक्षीय र बहुपक्षीय कुटनीतिक सम्बन्धबाट सिमा विवाद सुल्झ्याउन, कुटनीतिक सम्बन्धलाई दरिलो बनाउन विशेष गरेर युवाहरुले सरकारलाई सल्लाह, सुझाव तथा रचनात्मक दबाव लिन सक्छन् । समग्रमा युवा देश विकासको मेरुदण्ड हुन् । युवा अवस्थाको श्रम सीप र ऊर्जालाई देशको परिवर्तन र विकासमा लगाउन सके निश्चित रुपमा त्यो देश अग्रगामी विकास र समुन्नती हासिल गर्न समय लाग्दैन ।
राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको परिवर्तनमा युवाको अहम् भूमिका रहँदै आएकोमा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनु पर्दछ । देशमा मौलाउँदै गएको भ्रष्टचार, घुसखोरी, कालोबजारी जस्ता सामाजिक रोगलाई निर्मुल पारी सभ्य, सुसंस्कृत, समुन्नत समाज निर्माणमा युवाहरुलाई परिचालन गर्नुपर्दछ । नीतिनिर्माण गर्ने विभिन्न क्षेत्रमा युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने कार्यमा नेपालका राजनीतिक दलले पनि तत्परता देखाउन जरुरी छ । सुशासनयुक्त समाज निर्माणमा पनि युवाहरुको भूमिकालाई नकार्न सकिँदैन । नेपाली समाज परिवर्तनमा युवाको भूमिका बहुआयामिक र अपरिहार्य छ । समाज रूपान्तरण केबल भौतिक संरचना वा प्रविधिक सुधारमा सीमित नभई सामाजिक मूल्यमान्यता, सांस्कृतिक चेतना, राजनीतिक सोच, शैक्षिक प्रणाली र आर्थिक व्यवहारमा समेत प्रभाव पार्ने प्रक्रिया हो । यस्तो जटिल र बहुआयामिक प्रक्रियामा युवाले निर्वाह गरेको भूमिकालाई विश्लेषण गर्दै उनीहरू नै प्रमुख परिवर्तनकारी शक्ति हुन् ।
उक्त निष्कर्षका आधारमा केही सल्लाहहरू प्रस्तुत गर्न सकिन्छ । पहिलो, युवा शक्तिलाई उत्पादनशील र सिर्जनात्मक क्षेत्रमा परिचालन गर्न राज्य, गैरसरकारी संस्था र समुदायबीच आपसी सहकार्यको आवश्यकता देखिन्छ । दोस्रो, युवा लक्षित नीतिहरू व्यवहारमा कार्यान्वयन गर्ने क्रममा पारदर्शिता, जवाफदेहिता र दीर्घकालीन प्रभावकारितामा जोड दिनुपर्छ । तेस्रो नीति निर्माण प्रक्रियामा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने देखिन्छ, जसले उनीहरूको विचारलाई नीतिगत तहमा रूपान्तरण गर्न सक्नेछ । चौथो, विदेशमा रहेका युवालाई आकर्षित गरी उनीहरूको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकासमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।
अध्ययनलका सुझाव अनुसार, शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्छ, जसले युवालाई व्यावसायिक जीवनका लागि तयार पार्नेछ । अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । युवाले पनि केबल विरोध वा आन्दोलनमा सीमित नभई सामाजिक सेवा, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, प्रविधि प्रयोग र उद्यमशीलता जस्ता सकारात्मक गतिविधिमा सक्रिय भई समाज परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ । सञ्चारमाध्यम र प्रविधिको प्रभावकारी प्रयोग मार्फत युवाले आफ्ना अभियानलाई व्यापक बनाउन सक्ने सम्भावना प्रशस्त छ । नेपाली समाज परिवर्तनको मूल आधारशिला नै युवापुस्ता हुन् । उनीहरूको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई सकारात्मक दिशामा परिचालन गर्न सके नेपालको राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक विकासलाई द्रुतगतिमा अघि बढाउन सकिन्छ । त्यसैले युवाको भूमिकालाई संस्थागत, नीतिगत र व्यावहारिक स्तरमा सम्मान र समर्थन गर्नु आजको अत्यावश्यक आवश्यकता हो ।


























