प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले केही दिनअघि कार्यभार सम्हाल्नुभएको छ । प्रेस काउन्सिल नेपालको बैठक सम्बन्धी कार्यविधि, २०७१ को २ (ङ) अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथ ग्रहण गरेर कार्यकक्षमा गई पदबहाली गर्नुभयो । काउन्सिलमा लामो समयदेखिको रिक्तता पूर्ण भएको छ । आज मुलुक सङ्कटपूर्ण अवस्थामा रहेको छ । यस्तो बेला काउन्सिलको नेतृत्वमा आएर काम गर्न त्यति सजिलो छैन । सबै तह र तप्काबीच मेलमिलापको वातावरण बनाएर आफ्नो कार्यालयभित्रका सबै पदाधिकारी र कर्मचारीसँग सल्लाहसुझाव लिँदै अगाडि बढ्न सकेमात्र सफलता हात पार्ने देखिन्छ ।

सञ्चार क्षेत्रले समाजका सत्य र यथार्थ छोपिन दिँदैन । सूचनालाई तोडमरोड गर्ने, उपल्लो स्तरका शक्तिशालीका पक्षमा बनावटी समाचार बनाउने, तस्कर र घरानियाका गलत कुरा ढाकछोप गर्न कुतर्क गर्ने प्रवृत्ति पीत पत्रकारितामा पर्दछ । यस्ता समाचारले जनता र सर्वसाधारणको पत्रकारिताप्रतिको विश्वासमा कुठाराघात हुन्छ र कुनै बखत सही र सत्य समाचार दिँदा पनि अविश्वास गरिन्छ । हरेक मानिस र वस्तुको स्वधर्म हुन्छ । आफ्नो धर्म छोड्ने हो भने धर्मच्युत, कर्तव्यच्युत हुन्छ । यो कुरा सञ्चार क्षेत्रमा पनि लागू हुन्छ । सञ्चारकर्मीले समाज र राष्ट्रको मातहतमा आफ्नो स्वार्थ राखेका दिन सबै कुरा सच्चिने बाटोमा लाग्छ । यसका लागि काउन्सिलको अहम् भूमिका हुन्छ ।
आर्थिक, धार्मिक, राजनीतिक, जातीय, क्षेत्रीय, भाषिक आग्रह र प्रभावबाट मुक्त भएर मात्र सञ्चारकर्मीले साँचो अर्थमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन् । जहाँ आशा हुन्छ, त्यहाँ त्रास हुन्छ । त्रासको छायाँमा प्रेस स्वतन्त्रता बाँच्न सक्दैन । प्रेस स्वतन्त्रताले मात्रै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सहयोग पु¥याउँछ । पत्रकारिताले खबरदारी गर्न सक्नुपर्छ । पक्षधरतालाई बढावा दिने हो भने सही र साँचो भन्ने कुरा हराएर जान्छ । यो कुरा नेपाली पत्रकारीताको लागि घातक हो । जसले निष्पक्ष सूचना आमजनतालाई दिन सक्दैन । यतिबेला काउन्सिलको भूमिका महत्वपूर्ण हुन्छ ।
पत्रकारिता पेसा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेसा भएको सच्चाइलाई ग्रहण गर्न र तदनुरूप समस्त क्रियाकलाप केन्द्रित गर्ने हो भने समस्या न्यूनीकरण हुन सक्छ । राज्य सञ्चालकहरूलाई जवाफदेही र पारदर्शी बनाउन प्रेरित गर्न पत्रकारिता क्षेत्र आफैं जवाफदेही हुनुपर्छ । डा. आचार्य नेतृत्वको काउन्सिलले सरकारप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सञ्चारकर्मलाई बढावा दिन जरुरी छ । सरकारी निकायले प्रेसलाई नियन्त्रण गर्नु संविधान विरोधी र सर्वथा त्याज्य विषय भएका कारण संविधान प्रदत्त नियमन गरी नेपालको पत्रकारिता क्षेत्र संयमित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक छ । सुशासनयुक्त भ्रष्टाचारमुक्त समाज निर्माणका लागि संस्थालाई राजनीतिक, आर्थिक दबाबबाट मुक्त राखी कार्य सम्पादन गर्न प्रेस काउन्सिल नेपालको नयाँ नेतृत्व सक्षम हुने विश्वास गर्न सकिन्छ ।



























