अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा सोमबारदेखि सांस्कृतिक कार्यक्रम–२०८२ शुरु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारको प्राङ्गणमा प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कवरले उद्घाटन गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने पालिकास्तरिय गायन तथा नृत्यका विभिन्न विधामा प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा ३३ वटा विद्यालयका पाँच सय जना बढी विद्यार्थी सहभागी हुने प्याब्सन झापाका सदस्य सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।
कार्यक्रम अन्र्तगत कक्षा–११ र १२को गायन प्रतियोगिता, १२ वर्ष माथिका गायन प्रतियोगिता, १२ वर्ष मुनिका गायन प्रतियोगिता, कक्षा–५ सम्मको शास्त्रीय नृत्य प्रतियोगिता, कक्षा–८ सम्मको आधुनिक नृत्य प्रतियोगिता र कक्षा–१० सम्मको सांस्कृतिक नृत्य प्रतियोगिता हुने बताइएको छ ।

त्यसैगरी गायनतर्फका निर्णायकद्वयमा गायिका एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुनसरीकी कोषाध्यक्ष अञ्जु गौतम र गायक तथा संगीत प्रशिक्षक रेमन पुवार मगर, शास्त्रीय निर्णायकतर्फ काठमाण्डौं निवासी ऋतु दर्शनधारी रहेको प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले जानकारी दिए ।
कार्यक्रममा अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्य दीपेन्द्र सुब्बा, प्याब्सन अर्जुनधाराका सल्लाहकार रुद्र सिटौलालगायतको आतिथ्यता रहेको थियो । प्याब्सन अर्जुनधाराका सल्लाहकार एवम् कार्यक्रम संयोजक राजेशकुमार आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन अर्जुनधाराका सचिव नेपालले गरेका थिए ।































