साँखेजुङका पहिरो पीडितलाई राहत प्रदान

0
6

जन्मस्थल इलाम जिल्ला साँखेजुङ भई हाल झापा बिर्तामोड बसोबास गरिरहेका बस्नेत परिवारले जन्मस्थलका पहिरो पीडितलाई राहत प्रदान गरेका छन् । साँखेजुङस्थित ग्रिन भ्याली चिया उद्योग परिसरमा आयोजित एक समारोहका बीच बस्नेत परिवारका सदस्यले पहिरो पीडितलाई राहत स्वरुप जनही पन्ध्र हजार नगद सहयोग गरेका थिए । इलाम नगरपालिका वडा नं. १ का अध्यक्ष गायत्रीराम बस्नेतको अध्यक्षतामा भएको राहत वितरण समारोहमा संविधानसभा सदस्यहरु सुधिरकुमार शिवाकोटी, नरेन्द्र कुमाल, नगर प्रमुख केदार थापा लगायतले पहिरो पीडितलाई नगद सहयोग प्रदान गरेका थिए । राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त वडाका सोह्र परिवारलाई र एकजना एकल महिलालाई राहत प्रदान गरिएको थियो ।

साँखेजुङ मूलथलो भएका बस्नेत परिवारका जगतबहादुर, लक्ष्मण, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य खम्मसिंह, रत्नबहादुर र टुङ्गबहादुर बस्नेतका परिवार श्याम, नरबहादुर, जीतेन्द्र, बाशुदेव लगायतले परिवारका तर्फबाट राहत वितरण गरेका थिए । बाशुदेव बस्नेतले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख थापाले मन्तव्य व्यक्त गर्दैै बस्नेत परिवारले विगतदेखि नै सामाजिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा योगदान दिइरहेको बताए । प्रशिद्ध संगीतकर्मी कुवेर राईलाई नगद एकाउन्न हजार एक सय एक रुपैयाँसहित कृष्ण–विनोद इलाम सृजना सम्मान समर्पण गरिएको थियो । यसअघि इलाम साँखेजुङका बस्नेत परिवारका अग्रजहरु लक्ष्मण, खम्मसिंह, रत्नबहादुर र टुङ्गबहादुर बस्नेतको स्मृति र सम्मानमा पुरस्कारहरु वितरण भइरहेको थियो । त्यसैले जगतबहादुर बस्नेतको स्मृतिमा समेत उनका सन्ततीहरुले सौजन्य गरेको जगतबहादुर–लीलादेवी, देवकुमारी शिक्षक सम्मान नगदसहित वितरण गरियो ।

हिमालय कला मन्दिर दार्जीलिङका अध्यक्ष एवम् वरिष्ठ संगीतकार बसन्त क्षेत्रीको प्रमुख आतिथ्यमा भएको समारोहमा इलामका शिक्षा क्षेत्रका अगुवा केबी गुरुङलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरियो । केबी सरका नामबाट सुपरिचित गुरुङलाई सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । इलाम देशकै अग्रणी पहाडी जिल्ला हो । तत्कालीन मेची अञ्चलका चार जिल्लामध्ये शिक्षा, राजनीति, उत्पादन र पर्यटकीय दृष्टिले अग्रणी जिल्ला इलामको विशिष्टतालाई जनेप्रको भूमिकाले अझै उजिल्याएको छ । यस्तो कर्मले समाज रुपान्तरणमा लाग्न नवपुस्तालाई हौसला र ऊर्जा प्रदान गर्दछ । आज बढिरहेको नकारात्मक मानसिकता, एकात्मकतालाई सकारात्मक र सामुहिकतामा बदल्न सक्छ । प्रत्येक व्यक्तिको सकारात्मकताबाटै राष्ट्रको समृद्धिमा योगदान पुग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here