काठमाडौँ,

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले परिचित राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ ।
पाँचथरमा उनीविरुद्ध जाहेरी रहेकाले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि पाँचथर पठाइएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामालाई काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो ।
यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा विसं २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका व्यक्ति हुन् ।






























