मनु विश्वकर्माको यात्रा अब कांग्रेसको सक्रिय राजनीतिमा

0
269

साहित्यका शब्दहरूबाट सुरु भएको मनु विश्वकर्माको यात्रा आज राजनीति र सामाजिक न्यायको केन्द्रसम्म आइपुगेको छ । दलित, महिला र उत्पीडित समुदायका आवाजलाई साहित्य, सङ्गीत र संगठनमार्फत वर्षौंदेखि उठाउँदै आएकी उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ सिफारिस भएकी महिला हुन् ।

२०३८ भदौ ८ गते भोजपुरको श्यामसिला ९४० मा जन्मिएकी विश्वकर्मा–जसको कामकाजी नाम मनमाया विश्वकर्मा पनि हो । सामान्य ग्रामीण परिवेशबाट संघर्षको बाटो हुँदै राष्ट्रिय राजनीतिसम्म आइपुगेकी पात्र हुन् उनी । अर्जुनबहादुर विश्वकर्मा र कमला विश्वकर्माको छोरीका रूपमा जन्मिएकी मनुले समाजले तोकेका सीमाभित्र आफूलाई कहिल्यै कैद गरिनन् ।

धनकुटा बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी विश्वकर्माले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट एल।एल।बी। समेत अध्ययन गरेकी छन् । शिक्षा केवल डिग्रीका लागि होइन, समाज परिवर्तनको औजार हो भन्ने विश्वास उनको जीवनदर्शनमा स्पष्ट देखिन्छ । यही चेतनाले उनलाई साहित्य, समाजसेवा र राजनीतिमा सक्रिय बनायो ।

विश्वकर्माको साहित्यिक यात्रा २०५० सालमै सुरु भएको हो । प्रतिनिधि पत्रिकामा प्रकाशित ‘सुमधुर साँझ’ र ‘आजको जिन्दगी’ उनका पहिलो प्रकाशित रचना हुन् । २०७० सालमा प्रकाशित कविता संग्रह ‘ऐंजेरु बिच बुकी’ ले उनलाई नेपाली साहित्यमा चिनाएको कृति हो ।

गीत, कविता र कथामा समान अधिकार, पीडा, प्रेम र विद्रोह उनका प्रमुख विषय हुन् । उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने विभिन्न साहित्यिक तथा सांस्कृतिक समारोहमा उनले गीत गायनमार्फत पनि उपस्थिति जनाएकी छन् । साहित्य र सङ्गीत उनको रुचिकर विधा मात्र होइन, सामाजिक हस्तक्षेपको माध्यम बनेका छन् ।

साहित्यमा मात्र होइन, संस्थागत नेतृत्वमा पनि विश्वकर्माको सक्रियता उल्लेखनीय छ । उनी दलित महिला संघ, धनकुटाकी पूर्व अध्यक्ष हुन् । विश्व नारी नेपाली साहित्य सम्मेलन, धनकुटाको पूर्व अध्यक्षका रूपमा उनले महिला स्रष्टाहरूलाई संगठित गरिन् । गर्गाचार्य विश्वभाषा पुस्तकालय, धनकुटामा कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनी हाल क्षितिज साहित्य प्रतिष्ठान, बिर्तामोडकी सदस्य हुन् । नेपाली लेखक संघ कोशी प्रदेशकी सदस्यका रूपमा पनि उनी उत्तिकै सक्रिय छिन्।

साहित्यिक तथा सामाजिक योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । भारतस्थित बाबु जगजीवनराम कला साहित्य संस्कृति प्रतिष्ठानबाट प्रदान गरिएको विरङ्गना इन्द्रायणी अन्तर्राष्ट्रिय सम्मान पदक, अन्तर्राष्ट्रिय विश्वनारी नेपाली साहित्य पदक,र मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदान गरिएको श्रीनारायण दाहाल स्रष्टा सौगात सम्मान उनका उल्लेखनीय उपलब्धि हुन् ।

२० वर्षभन्दा बढी समयदेखि दलित, उत्पीडित र महिलाका अधिकारका लागि निरन्तर काम गर्दै आएकी विश्वकर्मा अहिले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा देखिएकी छिन् । उनी नेपाली कांग्रेस झापाको महिला संघ क्षेत्रीय सभापति, नेपाली कांग्रेस क्षेत्र नम्बर २ की क्षेत्रीय सदस्य, र क्षेत्र नम्बर २ महिला संघकी सभापति रहेकी छिन् । राजनीतिमा उनको प्रवेश पदको लोभभन्दा बढी जिम्मेवारीको बोध हो । साहित्यमा लेखिएका पीडालाई संसदमा नीति र कानुनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने दृढ विश्वास उनका राजनीतिक कदमको आधार बनेको छ । विश्वकर्माका अनुसार, उनका लेखनका प्रेरणाका स्रोत अग्रज स्रष्टाका कृतिहरू, जीवन र प्रकृतिसँगको सान्निध्यता तथा देश, समाज र समयको प्रतिविम्ब हुन् । समाजले भोगिरहेको यथार्थ नै उनका शब्दहरूको मूल शक्ति हो ।

बिर्तामोड नगरपालिका ६ स्थित सुन्दरनगर टोलमा स्थायी बसोवास गर्दै आएकी विश्वकर्मा आज साहित्य, समाजसेवा र राजनीतिलाई एउटै सूत्रमा गाँसेर अघि बढिरहेकी छन्। शब्दबाट सुरु भएको उनको संघर्ष अब संसदसम्म पुग्ने तयारीमा छ । यदि उनी प्रतिनिधिसभामा पुगिन् भने, त्यो केवल एउटा व्यक्तिगत उपलब्धि होइन—दलित, महिला र आवाजविहीन समुदायका लागि आशाको नयाँ ढोका खुल्ने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here