नेपालको अर्थतन्त्रमा कृषिको महत्व आज पनि यथावत छ । यद्यपि अहिले कृषि उत्पादनमा प्रत्येक वर्ष ह«ास आउँदै गएको छ । तर, अहिले पनि राज्यले कृषिलाई आफ्ना योजनाहरुमा प्राथमिकता दिँदै योजना बनाउने गरेको छ । आजभन्दा चार दशक अघिसम्म नब्बे प्रतिशत जनसंख्या कृषिमै निर्भर थिए र यसकै माध्यमबाट राष्ट्रको कूल निर्यातको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा कृषि वस्तुको माध्यमबाट हुन्थ्यो । हाम्रा प्रत्येक पञ्चवर्षीय योजनाहरुमा कृषिलाई प्राथमिकता दिँदै उत्पादन वृद्धि तथा औद्योगिक कच्चापदार्थको रुपमा प्रयोग गर्ने गरी कृषि आधारलाई विविधिकरण गर्ने लक्ष्य राखिएको थियो । यिनै विशेषता र अवस्थाका कारण विश्व बैंकले पनि बहुसंख्यक नेपालीका लागि खाना, आम्दानी र रोजगारीको श्रोत कृषिलाई मानेको छ ।

कृषि कर्म र पेशा पछिल्लो समय उपेक्षामा पर्दै गएको छ । आफ्नो देशमा विद्यमान सम्पदाभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता र महत्व दिने मनस्थितिले बर्सेनि कृषि वस्तुमा परनिर्भरता बढ्दै गएको छ । विश्वका विभिन्न देशमा भोकमरी पर्दा नेपालबाट खाद्यान्न सहयोग गरिएको इतिहास छ । तर, आज भारतबाट खाद्यवस्तु नल्याउँदा रहिरहने हो भने हामी सबै उपभोग्य वस्तुमा पराश्रित हुन समय लाग्ने छैन । मानव जीवनका लागि अनिवार्य आवश्यकता वस्तु भनेको खाद्यान्न, हावा, पानी र वनस्पति हुन् । त्यसमा पनि खाद्यान्न प्राणी मात्रको बाँच्ने पहिलो आधार हो । त्यहीकारण विश्वले आज गुणस्तरीय खाद्यवस्तुलाई जोड दिँदै आएको छ । जसको सुनिश्चितता हाम्रो परम्परागत कृषि प्रणालीबाट सम्भव हुन्छ । त्यसका लागि राज्यले नीति, निर्माण र कार्यान्वयनमा जोड दिनु पर्दछ ।
नेपालको भौगोलिक विविधताले परिपूर्ण देश हो । त्यसै अनुसार यहाँको हावा, पानी, मौसम र माटोमा पनि विविधता छ । त्यसैले यी सबै मानवजीवन खासगरी नेपालीको जीवन पद्धतिसँग अनुकूलनका आधारमा विधि, व्यवस्थापन र कार्यान्वयन गरिनु पर्दछ । हामीकहाँ सरकारले बिना अध्ययन, अनुसन्धान यान्त्रिकीकरणमा जोड दिइरहेको छ । हावा, पानी, माटो र भूगोलको अवस्थाको मूल्याङ्कन नगरी आधुनिकता र उत्पादन वृद्धिको नाममा जथाभावी अनुदान वितरण गर्दा वास्तविक किसान उपेक्षित हुने र युवा विदेश जानेक्रम बढेको छ । उत्पादनशील जमिन बाँझिएका छन् । र, बर्सेनि करोडौं रुपैयाँको तरकारी र अर्बौंको खाद्यान्न आयात गर्दछौं । हाम्रो भूगोल अनुकूलको गोरु र राँगा कृषिबाट अलग गरिँदा पशुपालन क्रमशः विस्थापित हुँदै गएको छ । जसका कारण प्राङ्गारिक कृषि प्रणाली पनि रासायनिक र मानव स्वास्थ्यका लागि हानीकारक भएको छ ।
यही समय पूर्वी नेपालका दुर्गम तथा विकट क्षेत्रमा परम्परागत कृषि प्रणालीलाई सहयोग गर्न झापा शिवसताक्षीस्थित गोलोक गोवद्र्धन गौशालाले पाँचथरको फेदापका विपन्न किसानका लागि एक सय हल गोरु निःशुल्क वितरण गरेको छ । कतिपय स्थानमा मान्छेले हलो तान्ने विवशताको अन्त्य गर्दै सुरक्षित तथा सहयोगी भूमिका निर्वाहका लागि फेदाप गाउँपालिकाले समन्वय गरेको छ । आधुनिक यन्त्र, उपकरण चलाउन नमिल्ने, प्राविधिक, पेट्रोलियम पदार्थको पहुँच जस्ता समस्यामा राँगा र गोरु सहायक हुन सक्छ । यसले पशुपालनलाई व्यावसायिक बनाउन, सुरक्षित मलको प्रयोग गर्न र विषादीरहीत अन्न उत्पादनमा सहयोग पुग्छ । यसले परम्परागत कृषि प्रणालीको पनि रक्षा हुन्छ र विपन्न वर्गलाई पनि देशको मूल प्रवाहमा जोड्न सकिन्छ ।




























