सुरक्षित आप्रवासनमा जोड

0
29

कामका लागि विदेश गएका व्यक्ति र तिनको परिवारको हक अधिकार संरक्षणका निम्ति संयुक्त राष्ट्र संघले महासन्धि पारित गरेको छ । संयुक्त राष्ट्र संघद्वारा पारित सोही सन्धिका आधारमा प्रत्येक वर्ष डिसेम्बर १८ का दिन विश्व आप्रबासी दिवस मनाइने गरिएको छ । आज नेपालबाट पनि रोजगारीकै लागि ठूलो संख्यामा विदेश जाने क्रम बढेको छ । त्यसकारण पनि उनीहरुको हकअधिकारको संरक्षण सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गर्ने गरिएको हो ।

वर्तमान समयमा आप्रवासन नेपाली समाजको अभिन्न आयाम बन्न पुगेको छ । गरिबी, आन्तरिक द्वन्द्व, युद्ध, असुरक्षा, कामको खोजी, विश्वव्यापीकरण तथा सञ्चार प्रविधि र सूचनाको विकासले आप्रवासन नेपालीको जीवन पद्धति बनेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित प्रतिवेदन अनुसार दुई अर्ब चवालीस करोडभन्दा बढी मानिस आप्रवासी छन् । शिक्षा, व्यवसाय र रोजगारीका निम्ति एक देशबाट अर्को देशमा जाने क्रम बढेसँगै यो दिवस मनाउन थालिएको हो ।

विश्वव्यापीकरणसँगै यातायात, सञ्चार प्रविधि, शिक्षा र रोजगारले श्रम तथा रोजगारीको बजार सानो हुँदै गयो । जसका कारण एक ठाउँ वा एक देशमा बस्ने मानिस अर्को ठाउँ वा देशमा सर्न थालेका हुन् । त्यो क्रम अहिले अझ धेरै बढेको छ । त्यसैले नेपाल सरकारले पनि श्रम बजारलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार आप्रवासी श्रमिक बाउन्न प्रतिशत पुरुष र अड्चालीस प्रतिशत महिला रहेका छन् । नेपालबाट विश्वका एक सय नब्बे वटा देशको श्रम बजारमा गएका छन् । ती मध्ये दश लाख औसतमा प्रतिवर्ष दश लाखभन्दा बढी बाहिरिन्छन् ।
वैदेशिक रोजगारमा अनेक चुनौतीहरु छन् । त्यसैले त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सम्बद्ध सबै पक्षको समन्वय र सहकार्य आवश्यक छ । वर्तमान वैदेशिक रोजगार नेपालको राष्ट्रिय आयको महत्वपूर्ण हिस्सा भएको छ । तर त्यही अवसरभित्र समाज व्यवस्था खलबलिने अवस्था पनि आएको छ । नेपालको प्रमुख श्रम गन्तव्य खाडी देशहरु नै हुन् र पछिल्लो समय अमेरिका, युरोप जस्ता विकसित देश श्रम बजारमा पनि नेपाली पुग्न थालेका छन् । ती मध्ये कतिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पारिश्रमिक नपाएको र कति यौन दुव्र्यवहार, हिंसा लगायतका श्रम शोषणमा परेका छन् । त्यसैले यो दिवसले श्रम कानूनको परिमार्जन, सिपयुक्त रोजगारीको सुनिश्चितता, अधिकारको रक्षा र स्वदेश फर्किएकाहरुको पुनस्र्थापनामा सरकारलाई सजग गराउनु पर्छ । त्यसका लागि गन्तव्य देशहरुसँग सहकार्य गर्न पनि दिवसले सरकारलाई प्रेरित गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here