अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुष्पकुमार प्रसाईं चयन भएका छन् ।
पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको श्रवण हलमा बिहीबार सम्पन्न भएको संस्थाको १२औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा रमेशकुमार काफ्ले र सदस्यहरुमा कोपिला पौडेल, गोविन्द पोखरेल, दुर्गा दुलाल उपाध्याय, पशुपति घिमिरे, भानुप्रकाश चापागाईं, वृन्दादेवी सुवेदी र लक्ष्मीकुमार चौलागाईं रहेका छन् ।

त्यस्तै साधारणसभाबाट लवकुश गौतमको संयोजकत्वमा कल्पना थापा र तारा पोखरेल सदस्य रहेको तीन सदस्यीय आन्तरिक लेखा समिति गठन भएको संस्थाका प्रबन्धक भूमिनाथ बरालले जानकारी दिए ।
समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष केशव सापकोटाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिका संयोजक भानु मिश्रले लेखा सुपरीवक्षेण समितिको प्रतिवेदन, संयोजक नरेन्द्रप्रसाद अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, संयोजक पशुपति घिमिरेले पशु सुरक्षण(बिमा) समितिको प्रतिवेदन र प्रबन्धक बरालले प्रबन्धकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड २५ लाख ३४ हजार सात सय रुपैयाँ, जम्मा निक्षेप चार करोड ९५ लाख १७ हजार आठ सय ४१ रुपैयाँ २१ पैसा, ऋण लगानी आठ करोड नौ लाख ३९ हजार रुपैयाँ, जम्मा आम्दानी एक करोड ४४ लाख ६८ हजार छ सय २४ रुपैयाँ ७४ पैसा, जम्मा खर्च ९९ लाख ८१ हजार आठ सय ७७ रुपैयाँ ६८ पैसा र खुद नाफा ४० लाख ७४ हजार पाँच सय २० रुपैयाँ ३५ पैसा उल्लेख गरिएको छ ।
त्यसैगरी कार्यक्रममा उत्कृष्ट अन्तर समूहतर्फ अर्जुनधारा–१०स्थित अन्तर समूह १० ‘ग’, उत्कृष्ट समूहतर्फ अर्जुनधारा–६स्थित समूह नं. ७७, उत्कृष्ट पशुपालन व्यवसायतर्फ अर्जुनधारा–९स्थित समूह नं. १८८ की रंगमाया कठेत, उत्कृष्ट कृषि व्यवसायतर्फ अर्जुनधारा–५ स्थित समूह नं. २२३की दुर्गादेवी दुलाल उपाध्याय, उत्कृष्ट बाल बचतकर्तातर्फ अर्जुनधारा–९स्थित समूह नं. १११ लीला अधिकारी गौतमकी छोरी श्रृंखला गौतम र अर्जुनधारा–११ स्थित समूह नं. १२ विष्णुकला पौडेलकी छोरी प्रेक्षा खनाल सम्मानित भएका छन् । समितिका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।






























