हल्दीवारी–४ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

0
39

उद्धव पुरी,
हल्दीवारी ।

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर–४ ले बालमैत्री वडा घोषणा गरेको छ । करिव २ बर्षको अथक प्रयासपछि हल्दीवारीका ५ वटा वडा मध्ये पहिलो बालमैत्री वडा घोषणा गरिएको हो ।
हल्दीवारी–४ वडा कार्यालयमा आज (बिहीवार) बिशेष कार्यक्रमको आयोजना गरी हल्दीवारी–४ लाई पालिकाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

हल्दीवारी–४ बडाबारीले २०८० सालबाट बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा संस्थागत रुपमा निरन्तर कार्य गर्दै आएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेको सेवा प्रवाह र संस्थागत समेत ५१ सूचकहरु बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७५ को मापदण्ड अनुसार सूचकको नतिजा पुरा गरी बालमैत्री वडा घोषणा गरेको हो ।

वडाका १ हजार २६३ घरपरिवारका ५ हजार ८१० नागरिकहरुले बालमैत्री बानी व्यवहारसहित बालबालिकालाई प्राथमिकतामा राखि प्रशंसनिय कार्यमा अग्रसरता गरेर बालमैत्री देश नेपाल निर्माण गर्ने राष्ट्रिय प्राथमिकताको कार्यमा योगदान गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्टले गाउँपालिकाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका छन् ।

यसैगरी बालमैत्री घोषणाको अवसरमा कोशी प्रदेश सभामुख, जिल्ला समन्वय समिति झापा र हल्दीवारी गाउँपालिकाले वडालाई छुट्टा–छुट्टै कदरपत्र प्रदान गरेका छन् । कोशी प्रदेश सभामुख बिष्ट, जिल्ला समन्वय समिति झापा प्रमुख विश्वनाथ बराल, हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले वडाध्यक्ष सन्तकुमार थापासहित वडाका जनप्रतिनिधि कदरपत्र हस्तान्तरण गरेका थिए ।

हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको बालमैत्री वडा घोषणा कार्यक्रममा कोशी प्रदेशका सभामुख बिष्टको प्रमुख आतिथ्य रहेको थियो । स्वागत वडा नम्बर ४ की वडा सदस्य भगीरथा दाहालले गरेको कार्यक्रमको सहजीकरण पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए भने सञ्चालन बाल सञ्जालका सृष्टि पौडेल र युनिशा न्यौपानेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विष्ट, प्रदेश सांसद छवि चुडाल, हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), कार्यपालिका सदस्य शान्ता शिवाकोटी, पूर्व गाविस सचिव मुरारी पोखरेल, बाल सञ्जाल हल्दीवारीका निवर्तमान अध्यक्ष पवन गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्ष सन्तकुमार थापाले बालमैत्री वडा घोषणासँगै त्यसलाई पालना गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा हल्दीवारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, हल्दीवारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, हल्दीवारी–५ का वडाध्यक्ष खड्गबहादुर लावती, कार्यपालिका सदस्य, जनप्रतिनिधि, पालिका र वडाका कर्मचारी, बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी, कर्मचारी, स्थानीय सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीले मौलिक सांस्कृति झल्कने नृत्यसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here