
मानिसले जीवनमा सुनेका, देखेका, काम गरेका, भोगेका, सिकेका, उपलब्धी गरेका र समाज अनि देशलाई योगदान दिएका यावत कुराहरु एक ग्रन्थमा सिलसिलेबार उतार्नुलाई जीवनवृत्तान्त (आत्मवृत्तान्त) या जीवनी भन्न सकिन्छ । जसमा सम्बन्धित व्यक्तिको जीवनको नालीबेली समेत समेटिएका हुन्छन् । समाज र देशलाई निकै महत्वपूर्ण अर्थात् अनुरकणात्मक योगदान दिएका व्यक्तित्वहरुका बारेमा लेखिएका ग्रन्थहरुले समाजमा सकारात्मकता, प्रेरणा र उत्साह प्रवाह गर्दछन् । ग्रन्थ आफैमा एक ऐतिहासिक दस्ताबेजका रुपमा सिर्जना हुन्छन् । यहाँ यस्तै प्रेरणादायी आत्मवृत्तान्त ग्रन्थबारे संक्षिप्त चर्चा गरिन्छ । बिर्तामोड—२ झापा निवासी शिक्षा सेवी ‘रामप्रसाद सिटौला’को आत्मवृत्तान्त ‘प्रकाश र प्रवाहहरु’ ।
आत्मवृत्तान्तमा विभिन्न शिर्षकका ४२ वटा वृत्तान्त तथा स्मृतिहरु समेटिएका छन् । पारिवारिक पृष्टभूमि, बाल्यकाल, जन्मस्थान चुहानडाँडा, मैले पढेको स्कूल, हाम्रो दोकानघर, मधेशतिर भाग्ने असफल प्रयास, घैलाडुब्बा १२ वर्ष शिक्षण, बालकल्याण अंग्रेजी स्कूलको स्थापना, पिताजीको बैकुण्ठबास, तेह्रथुम क्याम्पसको स्वर्णमहोत्सव, बेलायत भ्रमण, राजनीतिसँग मेरो सरोकार लगायत रोचक सम्झनाका लेखहरु यस ग्रन्थमा अध्ययन गर्न पाइन्छ ।
ग्रन्थको पहिलो लेख पारिवारिक पृष्टभूमिका अनुसार, सिटौलाहरुका पुर्खाहरु भारद्वाज गोत्रका उपाध्याय ब्राह्मण थिए । उनीहरु भारतको कुमाउँगढबाट स्थान्तरण भई नेपालको दार्चुला जिल्लाको कुनै एक गाउँमा सिटाघारी फाँडेर बसोबास शुरु गरेका थिए । दार्चुलामा सितौला गाउँको अस्तित्व अद्यावधि रहिरहेका कारणले पनि सिटौला थरको प्रादुर्भाव पनि त्यहिँबाट भएको हो कि भन्ने अनुमान सिटौला वंशावली २०७२ मा उल्लेख गरिएको तथ्य उदृत गरिएको छ । वंशावली अनुसार नै सिटौलाहरुका पहिलो पुस्ता वा पिँढी शङ्करपाध्या सिटौलालाई मानिएको छ । सिटौलाहरुका पुस्तौँपुस्ता, युगौँका सन्तान दरसन्तान विभिन्न ठाउँमा फैलँदै आउने क्रममा यस कृतिकार रामप्रसाद सिटौलाका परिवार तेह्रथुम चुहानडाँडामा अडिएका उल्लेख छ । रामप्रसाद सिटौलाका पिता हरिचरण सिटौला र माता लक्ष्मीदेवी सिटौला हुन् । यस लेखमा सिटौलाहरुका इतिहासदेखि हालसम्मका विवरण संकलित भएका छन् ।
यस पुस्तकबारे कृतिमा उल्लेख विद्वान मोहन सिटौलाको विचार मननीय छन्– ‘शान्त, प्रशान्त रस र स्वभावको माधुर्यले भरिएको यो आत्म जीवनमा प्रसंगगत असफलता, बिमार र मृत्युजन्य विछोड, पीडा र करुणा अनि वीरता जस्ता जोश, जाँगर, अठोट, संघर्ष र कालान्तरमा भएका सफलताका सन्तोष अनि प्रेम र सौन्दर्य जस्ता रसहरु पनि यहाँ प्रवाहित भएका छन् । आफ्नो जीवनक्रमलाई सरल शाब्दिक प्रतिबिम्वमा उतार्ने क्रममा यहाँ त लेखकका भावनात्मक हार्दिक सरसता र चिन्तनात्मक वैचारिक प्रकाशहरु सोेद्देश्यमूलक एवम् उत्साहित जीवनका ज्योतिर्मय मार्गमा क्वान्टम चेतनाका सूक्ष्म स्तरमा एकार्कामा सम्मिलित अनि निरन्तर सक्रिय हुँदै ओमकारका आन्तरिक नादलाई पनि जागृत गराउँदै र उज्यालो छर्दै प्रवाहित भएका छन् । वस्तुतः प्रस्तुत पुस्तक पठनीय र संग्रहणीय छ ।’
ग्रन्थभित्रको जन्मस्थान चुहानडाँडा शीर्षकको लेखमा तेह्रथुमको चुहानडाँडाको भौगोलिकता तथा अन्य आयामहरु विस्तृतमा उल्लेख गरिएका छन् । चुहानडाँडा हाल आठराई गाउँपालिका—६, धेरै वर्ष पहिले चुहानहरुले बसोबास गर्न शुरु गरेकाले सो गाउँको नाम चुहानडाँडा रहेको भन्ने कथन छ । ग्रन्थकार रामप्रसाद सिटौलाको घर रहेको ठाउँलाई चाहिँ तल्लो चुहानडाँडा तथा हाटडाँडा पनि भन्ने गरिन्छ भने स्कूल कलेज भएको चुहानडाँडाको भागलाई माथिल्लो चुहानडाँडा तथा लाम्चेडाँडा पनि भनिन्छ । यस लेखमा चुहानडाँडा मात्र होइन कि आसपासका गाउँका नाम र विशेषताहरु पनि उल्लेख गरिएका छन् । पुराना कुराहरु लगायत घरका बनावट र चलनहरु पनि रोचक किसिमले उल्लेख भएका छन् । चुहानडाँडाबाट पाथीभरादेवी धाम शिखर छर्लङ्ग दर्शन हुन्छ । मध्यपहाडी लोकमार्ग चुहानडाँडा हुँदै बनेकाले पनि यस ठाउँ विकास र आधुनिकताको मार्गमा अघि बढिरहेको लेखमा उल्लेख छ ।
शिक्षण कार्यको थालनी लेखमा, पारिवारिक निर्णय अनुसार झापाको कुनै विद्यालयमा शिक्षणमा संलग्न हुनुपर्ने र चारपाने झापामा बुबाको नाममा रहेको जग्गामा खेती शुरुवात गर्न र त्यहीँ बसोबासको थालनी गर्नका लागि यस ग्रन्थकार रामप्रसाद सिटौला बुबासँग २०२९ साल पुसमा झापा आइपुगे । जिल्ला शिक्षा कार्यालयले २०२९ माघ २१ गतेदेखि हाजिर हुनेगरी जनता मावि गौरादहमा छ महिना शिक्षक पदमा मासिक चारसय ७५ पाउनेगरी नियुक्त दियो । बायोलोजीमा बि.एस्सी गरेका रामप्रसादले कक्षा ६ देखि ९ सम्म गणित र कक्षा ९ र १० मा विज्ञानको पनि शिक्षण गरे । त्यसरी शिक्षणसेवाको शुरुवात भएको थियो । रोचक कुरा के उल्लेख छ भने तत्कालीन समयमै वामपन्थी आन्दोलनको गढ नै ठानिएको गौरादह आसपासको क्षेत्रबाट धेरै विद्यार्थीहरु स्कुलमा पढन आउँथे । हरेक कक्षामा ६०, ७० जना विद्यार्थीहरु पढ्दथे । उबेला कक्षा ९ र १० का विद्यार्थीहरु वामपन्थी आन्दोलनबाट प्रभावित हुन्थे । राम्रो विषय पढाउन सक्ने शिक्षकको निकै महत्व हुने गर्दथ्यो । शिक्षक रामप्रसादलाई एक सुवेदी थरका घरमा खान बस्नको बन्दबस्त भयो । सो वापत शिक्षकले त्यस घरका नानीहरुको शिक्षाको रेखदेख गर्नुपर्दथ्यो । यस लेखमा अन्य थुपै्र प्रसंगहरु उल्लेख भएका छन् । जसबाट तत्कालीन समयका धेरैकुराको जानकारी पाउन सकिन्छ ।
निजी (संस्थागत) विद्यालय सञ्चालनको शुरुवात शीर्षकको लेखमा, रामप्रसाद सिटौलाले शैक्षिक क्षेत्रका मित्रहरुको साझेदारीमा नेपालीमा पढाइहुने संस्थागत विद्यालय वि.सं. २०४२ तिर सञ्चालन गरे । सरकारी विद्यालयको खस्कँदो शैक्षिक स्तरबाट आजित अभिभावकहरुले रामप्रसादहरुको विद्यालयमा विद्यार्थीहरु भर्ना गरे । त्यससमयमा फाट्टफुट्ट मात्र निजी विद्यालय खुल्दै थिए । रामप्रसाद सिटौलाले एक्लैको स्वामित्वमा बालकल्याण संस्थागत विद्यालय पनि संचालन गरे । झापामा संस्थागत विद्यालय शुरुवात र विकास गर्न रामप्रसाद सिटौलासरको निकै गहन योगदान रहेको यस ग्रन्थबाट जानकारी मिल्दछ ।
राजनीतिसँग मेरो सरोकार लेखमा, रामप्रसाद सिटौलाले राजनीतिमा आफ्नो संलग्नताबारे विस्तृतमा उल्लेख गरेका छन् । चुहानडाँडामा विद्यालयमा र त्रिचन्द्र कलेज काठमाडौंमा पढ्दाताका नै राजनीतिमा संलग्न भएको र राजनीतिक गतिबिधिमा लाग्दा विभिन्न समयमा जेल परिएको पनि उल्लेख छ । पञ्चायती व्यवस्थाबिरुद्ध वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति संयुक्त भई अघि बढ्नुपर्छ भन्ने कम्युनिस्ट नायक पुष्पलाल श्रेष्ठको सोच अनुसार नेपाली कांगे्रस र कम्युनिस्ट दलहरुले कार्यगत एकता नगरी जनमत संग्रहमा होमिएकाले बहुदलीय व्यवस्थाको पराजय भएको थियो भन्ने ठम्याई रामप्रसाद सिटौलाको थियो ।
यसरी यस ग्रन्थमा रामप्रसाद सिटौलाले आफूले विगतमा अनुभूत गरिएका धेरै विषयहरु समेटेका छन् । आत्मवृत्तान्तमा निश्चय पनि व्यक्तिगत र पारिवारिक सन्दर्भका प्रसंग धेरै समेटिन्छन्, तर यसका अलावा सो व्यक्ति र पारिवार बस्ने समाज र उनीहरुले व्यतित् गरेका ठाउँहरु, समयहरुमा भोगिएका मानवीय जीवन, समाज, देशका साथै अन्य आयाम जस्तै प्रकृति, विपद्, संस्कृति, शिक्षा, स्थास्थ्य चालचलन, राजनीति र विकासका सन्दर्भहरु पनि समेटिएका हुन्छन् । यस ग्रन्थमा पनि धेरै कुराहरु अटाएका छन् । जसबाट महत्वपूर्ण घटनाहरुबारे जानकारी पाउन सकिन्छ । जसको अध्ययनबाट पाठकले धेरै कुरा सिक्न सक्दछन् । एक मिठो उपन्यास पढे जस्तै नै हुन्छ आत्मवृत्तान्त पढ्नु पनि । यस ग्रन्थ पनि सोही कोटीको रहेको छ ।
ग्रन्थ प्रकाशकको भनाइ यो पुस्तक केवल शब्दहरुको संगालो मात्र नभई आफ्नो जीवनको लामो अनभुव, संघर्ष, सफलता र असफलता, दुःख र सुख आदि भोगाइहरुको जीवन दस्तावेज हो । यस आत्मवृत्तान्त मार्फत पाठकहरुले लेखकको व्यक्तिगत जीवनका उतारचढावका साथै त्यस कालखण्डका विभिन्न सामाजिक, शैक्षिक तथा राजनीतिक परिवेशलाई नजिकबाट नियाल्ने अवसर पाउनुहुनेछ । हामीलाई विश्वास छ, यो जीवनवृत्तान्तले नयाँ पुस्ता एवम् आम नागरिकलाई प्रेरणा दिनुको साथै जीवन संघर्षको फाँटमा एउटा उदाहरण प्रस्तुत गर्नेछ । भारद्वाज प्रज्ञा प्रकाशन ।
साहित्यप्रेमी तथा विद्वान रामप्रसाद सिटौलाले यस जीवनवृत्तान्त दाजु, भाइ, जीवनसंगिनी लगायत पारिवारिक सल्लाह र हौसलाले लेख्ने प्रेरणा मिलेको भाव उल्लेख गरेका छन् । आफैंले स्थापना गरेको विद्यालयको नियमित जिम्मेवारीबाट बाहिर रहेपछिको फुर्सदिलो वातावरणमा मैले आफ्नो जिन्दगीको साङ्गाङ्पो अवधिमा भए गरेका गतिविधिहरुलाई स्मरणमा ल्याउने प्रयास गरेँ । तिनै स्मरणहरुलाई लिपिबद्ध गर्दै जाने क्रममा दुई–चारवटा कपीहरु भरिन थाले । पूजनीय मुमा मनमाया सिटौलाले ९२ वर्षको उमेरमा बहिनी राधिका दाहालको सम्पादनमा लेखाउनु भएको ‘मैले विताएका युग’ नामक आत्मकथाको ऐतिहासिक प्रकाशनको अनुपम कार्यले मलाई ठूलो प्रेरणा र प्रोत्साहन प्राप्त भएको थियो । कृतिमा स्रष्टा सिटौलाले उल्लेख गरेका छन् ।
शिक्षासेवी रामप्रसाद सिटौलाले जीवनमा लामो समयसम्म शिक्षण सेवामार्फत हजारौँ विद्यार्थीहरुमा शिक्षाको उज्यालो छरेका छन् । उनी लेखन, कृतिहरु सिर्जना तथा प्रकाशनमा पनि उत्तिकै सक्रिय रहेका छन् । उनका यस अघिका कृतिहरु, विज्ञान गाइड (कक्षा ९ र १०), समाजसेवी हरिचरण सिटौला संस्करण (सम्पादन) । संस्थागत प्रकाशन अन्तर्गत लीलाको सपना (लेखक गोपाल संग्रौला), लक्ष्मीदेवी सिटौलाको स्मारिका, स्मृतिमा लीलादेवी सिटौला । फुटकर रचनाहरुः पथप्रदर्शक हरिचरण सिटौलाको सुकीर्ति, आमाको लघु जीवनवृत्त, आठराईका वामपन्थी गुरु सि.एम. कन्दङवा स्मृतिगन्थ, स्मृतिमा लवुदाइ – लव ओली स्मृतिग्रन्थ, छोरी लीलाको आत्मकथा, स्मृतिमा कुन्दन सर र ठुल्दाजु (हाम्रा अभिभावक मोहन सिटौला ः व्यष्टि र समष्टि) । यी प्रकाशनहरुमा सम्पादन र लेखकको भूमिका निभाएर नेपाली भाषा साहित्यको उन्नयनमा समेत टेवा पु¥याएका छन् ।


























