रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

किरात याक्थुङ चुम्लुङ बिर्तामोड-१०ले चासोक तङ्नाम उधौली पर्व मनाएको छ। बिर्तामोड-१० स्थित जर्मनडाडामा उधौली न्वागी पूजासहित विविध कार्यक्रमको आयोजना गरी लिम्बू समुदायको संस्था कियाचु बिर्तामोड-१० वडा समितिले उधौली पर्व, येले तङ्बे ५०८५ मनाएको हो।
बिर्तामोड नगरपालिक-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य तथा कियाचु वडा समिति अध्यक्ष चामबहादुर जबेेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वेदबहादुर तेन्युङले स्वागत गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष गुरुङले जातीय एवम् मौलिक संस्कार-संस्कृति तथा पहिचानका रुपमा रहेका यस्ता पर्वोत्सव कार्यक्रमको आयोजना गर्नु महत्वपूर्ण भएको भन्दै आयोजक तथा सहयोगी दाताको प्रशंसा गरे।
कार्यक्रममा अौचित्यबारे प्रकाश पार्दै संस्थाका सल्लाहकार संयोजक रिमानध्वज लोक्तामले हिउँदेवाली भित्र्याउने समयमा नयाँ उब्जनी आफूले भोग गर्नुअघि ईश्वरलाई अर्पण गर्ने विधान न्वागीपूजा गर्ने परम्परा प्रकृतिपूजक लिम्बू समुदायमा रहेको र त्यसलाई सामूहिकरुमा मनाउने कार्यलाई निरन्तरता दिंदै आएको बताए। उनले किराँती समुदायको महान पर्व उधौली चासोक तङ्नाम केही वर्षदेखि प्राकृतिक र खुल्लारुपमा अझ श्रद्धा एवम् मनोरञ्जनात्मक ढंगले बृहतरुपमा मनाउन शुरु गरिएको जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, कियाचु झापाका सदस्य धर्म लक्सम्बा, कियाचु बिर्तामोड समिति अध्यक्ष हिमालयप्रकाश कन्दङवा, सल्लाहकार संयोजक रिमानध्व लोक्ताम, सुनुवार सेवा समाज वडा समिति अध्यक्ष मनु सुनुवार मुखियालगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्ने दातालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा नगद १० हजार सहयोग गर्ने विवेक लिङ्दम, गगन लोक्ताम, कुुसुम थेगिम, रामपूर्ण लोक्ताम र दिलन लोक्ताम रहेका छन् भने पाँच हजार सहयोग गर्ने जमुुना राई नेम्बाङ, प्रीति लिम्बू, भक्ति लावती, सौकुमार बेघा,नरमाया तुम्बापो, डम्बर तुम्रोक, सम्राट लोक्ताम, गुणदेवलगायत १९ जना रहेका छन्।
कार्यक्रममा आयोजित छेलो हान्ने र डोरी तान्ने खेल प्रतियोगितामा विजयी क्रमशः सइन्द्र नेम्बाङ र नमूना टोललाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा जातीय भेषभूषासहित सांस्कृतिक नृत्य केलाङ च्याम्ब्रुङ, धान नाच, राई समुदायको साकेला, सन्थाल नृत्य र नौमती बाजा प्रस्तुत गरिएको थियो। सहभागी टोलीलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा पालम गायिका कलाकार रिपना लिम्बू, जुनु प्रसाईं, सन्तोष प्रसाईलगातले गीत तथा पालम प्रस्तुत गरेर सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए भने सहभागीले सामूहिक नृत्य गरेर कार्यक्रमा रौनक बढाएका थिए। त्यस्तै मौलिक पहिचानका वस्तु तथा पाहुना घर समेत प्रदर्शन गरिएको थियो।
स्थानीय जनप्रतिनिधि पृथ्वी बस्नेत, धनमाया श्रेष्ठ,कियाचु जिल्ला सचिव भीममाया नेम्बाङ कन्दङ्वा, कियाचु जग्गा दाता मोतीबहादुर जबेगू, सुरेन जबेगू,विभिन्न जातीय संघसंस्था प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलगायत सर्वसाधारण जनसमुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव तथा सञ्चारकर्मी सन्तोष बेघा, सुमना बेघा र खेलकूद संयोजक रविन जबेगूले गरेका थिए।






























