राजनीति परिवर्तनकारी होस्

0
29

‘वर्ग शत्रु’ सिध्याउने नाममा झापामा चलेको बलिप्रथाले देशभर आतंक फैलाउने अमानवीय हत्याकाण्डको झापालीले पुनःस्मरण गर्दैछन् । वि.सं. २०२८–०२९ सालमा झापा विद्रोहका नाममा भएको हिंसाको श्रृंखला शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोराको विभत्स हत्यापछि तोडिएको थियो । भारत पश्चिम बंगालको नेपालसँग सीमाना जोडिएको नक्सालबारीमा चारु मजुम्दार, कानु सन्याल लगायतले गरेको नक्सलाइड आन्दोलनको प्रेरणाबाट झापामा कर्णबहादुर डाँगीको हत्यापछि त्रासदी फैलिएको थियो । घटनापछि कांग्रेस, कांग्रेस निकट र समर्थित उद्रनारायण राजवंशी, बुटन चौधरी, विष्णुप्रसाद बिमली, ईश्वरीप्रसाद चुडाल, धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्र र ज्ञानेबहादुर बस्नेत लगायत निरपराध मानिसको ज्यान गयो ।

झापाका प्रशिद्ध उद्योगपति तथा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य (हालका सांसद)को हत्यापछि सरकारले अनुसन्धानलाई अझ प्रभावकारी र तीब्र बनायो । जसको परिणाममा विभिन्न व्यक्तिको हत्यामा संलग्नहरु पक्राउ परे र कानून अनुसार दण्डित पनि भए । झापा बिद्रोहका नाममा भएको उक्त घटनामा आठ जनाले अकालमै प्राण त्याग्नु प¥यो । साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ शुरु भएको आन्दोलनले धेरैलाई नेता बनायो, कोही देशको प्रधानमन्त्री नै बने जनतालाई साभ्यवादको अनुभूति नगराए पनि आफूहरु सत्तामा पुग्न र ऐश्वर्य जम्मा गर्न सफल भए । चीनको सर्वहारा सांस्कृतिक क्रान्ति र भारत नक्सालबारीका चारु मजुम्दारको नक्सलवादी आन्दोलनबाट प्रभावित जनवादी क्रान्तिका कारण पन्ध्र जनाको ज्यान गयो, तर त्यो त्यत्तिकै तुहियो ।

राजनीतिलाई आफू अनुकूल बनाउने नेतृत्वको स्वार्थले विगतका आन्दोलनहरु टुङ्गोमा नपुगेका हुन् । त्यही स्वार्थका कारण साम्यवाद, बिद्रोह वा वर्ग शुत्रको अन्त्य वा उन्नत लोकतन्त्र भनिएका शब्दावलीहरुले न जनताको भलाइ भयो न त देशले समृद्धिको बाटो समायो । सत्ता स्वार्थका निम्ति दुई फरक ध्रुव एकाकार भएको सत्य पनि उदाङ्ग छ । प्रमुख शत्रु मानिएको कांग्रेस वा कांग्रेस समर्पित व्यक्तिको हत्या गर्ने विद्रोह इतिहासको त्रासदी मात्रै हो । त्यही विद्रोहका क्रममा कम्प्युनिष्टहरुले सामन्तीको आरोप लगाएर मारेका कांग्रेस कार्यकर्ता उद्रकान्तको अर्धकदको शालिक अनावरण गरिएको छ । बहुदल प्राप्तिपछि तत्कालीन कम्युनिष्ट वर्तमानमा सत्ता र सत्ताको नजिक छ । उसको ‘शत्रु’ भनिने कांग्रेस पनि सत्ताकै केन्द्रमा छ । एकअर्कालाई शत्रु ठान्ने दल सत्ता साझेदारी पनि गर्छन् तर उनीहरुकै लागि जीवन त्याग्ने जेल र निर्वासन भोगेकाहरु अझै कति कष्टपूर्ण जीवन भोग्दैछन् । यस्तोमा उद्रकान्त जस्ता हत्या गरिएकाहरुलाई राज्यले उचित सम्मान नदिँदा उनीहरुको आत्माले शान्ति पाउँदैन । केबल शालिक बनाएर उनीहरुको रगतको मूल्य पनि चुक्ता हुँदैन, त्यो जिम्मेवार दलहरुले नै बुझ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here