
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।’ (गीता ४/७)
अर्थात् जब–जब धर्मको हानी वा नाश हुन्छ र अधर्म वा पापको बृद्धि हुन्छ, तब–तब म अधर्मको नाश गर्न र धर्मको रक्षा गर्नका लागि साकार रुपमा प्रकट हनेछु ।
अब प्रश्न उठन सक्छ । वास्तवमा धर्मको हानी र पापको बृद्धि कुन समयमा र कसरी हुन्छ ? उत्तर आउन सक्छ । यो कुरा स्वयम् भगवानले नै जान्नुहुन्छ । यसो भन्दाभन्दै पनि हामी अनुमान गर्न सक्छौं । ऋृषितुल्य मानव तथा देवताहरु जो निर्दोष छन् । निरपराधी छन् । तापनि त्यस्ता प्रकृतिका प्राणीहरुलाई निर्बल ठानेर अन्याय गरिन्छ, अत्याचार गरिन्छ । व्यविचार गरिन्छ, भेदभाव गरिन्छ, पक्षपातपूर्ण व्यवहार गरिन्छ । यति मात्र होइन । विभिन्न बहानामा बलपूर्वक सताउन थालिन्छ ।
यसप्रकार बिना कारण, बिना अपराध, कष्ट दिने, मारपिट गर्ने र सजाय दिने कार्य गरिन्छ भने त्यस अवस्थामा अधर्म र पापको बृद्धि भएको ठानिन्छ । जब अधर्म र पाप वृद्धि हुन थाल्छ । तब नृसिंहको रुपमा अवतार लिइ प्रह्लाद जस्ता भक्तको रक्षा गर्न भगवानको प्रकट हुन्छन् । हिरण्यकस्येपुको अन्त्य गर्नका लागि नृरसिंहको अवतारमा विष्णु प्रकट भए । रावणको अन्त्य गर्नका लागि रामको अवतार भयो । कंशको अन्त्य गर्नका लागि कृष्णको अवतार भयो । यिनै परिप्रेक्षका आधारमा श्रीकृष्णले कुनै पनि समयमा धर्मको रक्षा गर्न र पापीको नष्ट गर्न म प्रकट हुन्छु भन्ने आशय ‘श्रीमद् भागवत गीता’को चौथो अध्यायको सातौं श्लोकमा व्यक्त गरेको पाइन्छ ।
महाभारतका श्रृङ्खलाहरुमा राजनीति, कुटनीति र छलनीतिका घटनाहरु प्रशस्त मात्रमा पाइन्छ । यिनै श्रृङ्खलाका बीचमा महाभारतकै एउटा अंशको रुपमा रहेको ‘गीता’मा पनि राजनीति र कुटनीतिको आभास पाइन्छ । पाण्डव र कौरवका बीचको युद्धको शुरुवात अवस्थामा जब अर्जुनले पक्ष विपक्ष दुबैतर्फ आफन्तजन देखेपछि र युद्धले दिने नतिजाको आँकलन गर्दै निरासभइ युद्धबाट पछि हटन् लागेका अवस्थामा अर्जुनलाई युद्धमा सहभागी हुनका लागि उत्प्रेरित गर्ने क्रममा श्रीकृष्ण र अर्जुनका बीचमा भएका संवाद नै ‘श्रीमद् भागवत गीता’को मुख्य सार हो ।
यिनै सन्दर्भमा नेपालको इतिहिासमा विभिन्न कालखण्डमा भएका क्रान्तिहरु जो एकपछि अर्को गर्दे अझ परिस्कृत हुँदै गएको पाइन्छ । क्रान्तिले स्थापित गरेका राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका पक्षबाट जब–जब नागरिक माथि अन्याय, अत्याचार, व्यविचार र पक्षपातपूर्ण व्यवहारका श्रृङ्खला शुरु हुन थाल्छन् । तब–तब कुनै न कुनै देवत्वको रुपमा नेपालमा अन्याय, अत्याचार, अधर्म र व्यविचारको नाश गर्न क्रान्ति भएको पाइन्छ । ती क्रान्तिहरुमा चाहे २००७ सालको होस, २०३६ सालको होेस, २०४६ सालको होस, २०६२/०६३ सालको होस । यी सबै क्रान्तिहरु जनतामाथि गरिएका अन्याय, अत्याचार र शोषणको बिरुद्धभित्रका भोगाइका परिणाम थिए । क्रान्तिको नेतृत्वलिने वर्गले प्रत्येक पटक जनतालाई उक्त अवस्थाको भोगाइबाट मुक्त गर्ने बचन बद्धताका साथमा नेतृत्व लिएका हुन्थे, तर विडम्बना !
एकपछि अर्को परिस्कृत क्रन्तिबाट जन्मिएका शासकले पनि जनतालाई खासै राहत दिएको महशुस भएन । बरु आहत नै दिएको पाइन्छ । फलस्वरुप श्रीकृष्णले भने जस्तै जब–जब अधर्म र पापको उदय हुन्छ । तब–तब म धर्मको रक्षार्थ र पापको नष्ट गर्न म प्रकट हुन्छु भने जस्तै प्रत्येक पटक श्रीकृष्णरुपी नेतृत्वको क्रान्तिले जनता माथि भएका अन्याय, अत्यचारर व्यविचारबाट मुक्त गराउन प्रयास नभएका होइनन् । युग सत्य, द्वापर, त्रेतावा कलि जुनसुकै होस । सबै युगमा सत्य र न्यायको पालना गर्न गराउन अन्नपात समेत परित्याग गरी जनतारुपी भगवानको आरधना गरेर शक्तिले परिपूर्ण हुन ‘वर’ माग्ने गरियो ।
जनताको साथ लिइ शक्ति रुपी ‘वर’ जब प्राप्त भयो । त्यसको दुरुपयोग गर्दै जनतामाथि नै पूर्ववत् जस्तै दमन, व्यविचार र अन्याय गर्ने परम्परा कायम नै रहेर आयो । यसप्रकार तत्कालीन समयका देवता र मानिसहरुलाई आइपरेको दुःख र कष्टबाट मुक्त गराउन विभिन्न पात्रहरु जो विष्णु, राम, कृष्ण आदिको नाममा अवतार भए जस्तै नेपालमा पनि लगभग एक युग भनौ वा शताब्दीका बीचमा विष्ण्ुा–राम–कृष्णका रुपमा विभिन्न प्रकृतिका पात्रहरुको नेतृत्वमा क्रान्ति भए । तर ती सबै क्रान्ति अपूर्ण नै रहे । यो अनुभव वि.सं. १९८०÷०८५ मा जन्म लिइ २०८४÷०८५ सम्म जीवित रहेका एउटै पुस्ताका व्यक्तिले गर्ने मौका पाएका छन् ।
नेपालमा वि.सं १९९७ सालको घटनाकालदेखि औपचारिक रुपमा शहीदको घोषणा गर्ने परम्पराको शुरुवात भएको पाइन्छ । नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । उनको समयलाई हेर्दा वि.सं १९०३ देखि १९३४ सम्म रहेको जङ्गबहादुरको शासनकाललाई आधार मान्नुपर्ने हुन्छ । जुन समयमा लखन थापा शहीद भएका थिए । आजका दिनसम्म आइपुग्दा अनगन्ती शहीद भएका छन् । उनीहरुका सपना पूरा भए भएनन् त्यसको मूल्याङ्कन हुन बाँकी नै छ । माथिका दृष्टान्तहरुले संकेत गरे अनुरुप २०८२ सालभन्दा अघिका समयमा भएका क्रन्तिले विभिन्न व्यक्ति र समयको प्रतिनिधित्व गरे तापनि २०८२ साल भदौ २३ र २४ गते भएका घटनाले छुट्टै पहिचान बनाएको छ । ताकी यो आन्दोलन हो वा क्रान्ति केहो भन्ने कुरामा अझ पनि पूर्णता पाउन भने सकेको छैन ।
वि.सं. २०८२ सालअघि भएका क्रन्तिमा नेतृत्व गर्ने निश्चित आधारका पात्रहरु हुन्थे । तर २०८२ सालको आन्दोलनमा भने निश्चित आधारका पात्रभन्दा पनि एउटा उमेर समूह नै सड्कमा आयो । जसले कुनै प्रकारको वितण्डा नमच्चाइकन बडो सहज, शालीन र भद्ररुपमा साङ्केतिक बिरोधका कार्यक्रम मात्र गर्ने भनिएको थियो । तर अन्ततः इतिहामा नै कहिल्यै नभएको २४ घण्टाभित्र अर्थात् अति नै छोटो अवधिमा मानवीय र भौतिक संरचनामा ठूलो क्षति हुन पुग्यो । यसले त धर्मको रक्षागर्ने सन्दर्भमा एकै पटक बृहद रुपको लिला नै देखाइ दियो । सामाजिक सञ्जालको उपयोगको रक्षा गर्न र मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउने लक्ष्य लिई भदौ २३ गते गरिएको आन्दोलनले त्यसको भोलिपल्ट २४ गते जुन प्रकारले एकै प्रकृतिका निजी, सरकारी र व्यवसायिक भौतिक संरचना माथि आक्रमण गर्ने कार्य देशका विभिन्न भागमा भए । त्यसलाई असामान्य लिलाका रुपमा नै पनि लिन सकिन्छ ।
हुन त ! श्रीकृष्ण विध्वसंकारी थिएनन् । उनी त विध्वंशकारीको बिरुद्धमा थिए । विध्वशंकारीलाई नाश गर्नका लागि तत्पर हुन्थे । तर खोइ कहाँ चुके श्रीकृष्ण ? आन्दोलनका नाममा भएको क्षणिक समयको विध्वंशले भने लिला कै रुप लिए जस्तो भयो । यस प्रकारको कार्यलाई लामो समयदेखिको योजना थिएन भनेर कञ्जुस्याई गर्नु पनि अपराध नै हुन्छ । अनि यसका लागि परिचालन गर्ने शक्ति पनि अदृष्य नै रहेकोले यो देशी–विदेशी कोही पनि हुन सक्छ भनेर सजिलै आंकलन गर्न सकिन्छ । अनपेक्षित घटना भए । ठाउँ कुठाउँ भनिएन । जे नगर्नु हुने थियो त्यो गरियो । अहिले आएर राजनीतिक रङ्ग दिने प्रयास भइरहेको छ । त्यसो भयो भने यसप्रकारका कार्यमा कसैको पनि अपराधपूर्ण कार्य गरिएको ठहर्दैन । उन्मुक्ति सबैले पाउने हुन्छन् । यसलाई कुन देउको छल नीति वा खेल हो भनेर भन्ने ?
कुटनीति र राजनीति त पक्कै पनि होइन । फेरि राजनीतिक होइन भनौ भने राज्यसत्ता नै उलटपुलट भयो । राज्य सत्ता सञ्चालन गर्ने मात्र नभएर नेपालका ठूला दलका नेताहरु नै केही समय गुप्तवास नै बस्नुपर्ने जस्तो देखियो । फेरी कुटनीतिक होइन भनौ भने उद्देश्य एउटा परिणाम अर्को छ भने कुटनीति किन नभन्ने ? छल नीतिको त कुरै छाडौ । आन्दोलन जेन्जी सन् १९९७ देखि २०१२ भित्र जन्मिएका १३ देखि २८ वर्षभित्रकाबाट गर्ने थियो । अनि सत्ताको नेतृत्व भने जेनवुमर्स, जेनएक्स र जेनवाइ जो सन् १९४६ देखि १९८० भित्र विभिन्न चरणमा जन्मिएका ४५ देखि ७९ वर्षभित्रका बाट भयो । यो नीति कुटनीति हो वा छलनीति हो छुट्याउन सकिएको छैन । शुरुमा त कुटनीति नै ठानिन्थ्यो । तर आजभोलि हेर्दा त छल नीति नै जस्तो लाग्न थालेको छ । यसकुराको पुष्टी अहिले आएर नेतृत्वविहीन रहेका जेन्जीका विभिन्न समूहले सत्ता सञ्चालकहरुलाई देखाएको धम्कीपूर्ण व्यवहारले गर्दछ ।
जेन–जी आन्दोलनको परिणाम स्वरुप सत्ता परिवर्तनका साथमा नयाँ अनुहार आए । चुनावको घोषणा गरियो । सत्ता परिवर्तनको औचित्य चुनावै मात्र गर्नु थियो भने मुलुकले अबको १५ वर्षमा पनि पूर्ति गर्न नसक्ने अरबौ रकमको क्षति र विध्वसंको आवश्यकता किन प¥योे ? भ्रष्टाचार मुक्तको आन्दोलन थियो भने राज्य सत्ताले यसभन्दा अघि नै नियमित कार्यमा देखापरेका भ्रष्टचारका मुद्दा बाहेकका त्यस्तो भ्रष्टचारै उन्मुलन गर्न चालेको आमूल अभियान चहि के छ ? कहाँ चुके जेन्जीहरु ? नेतृत्वविहीनको परिणाम हो वा कच्चा र अनुभवहीन व्यक्तिहरुको उठबस हो । छुट्याउन सकिएको छैन । सबै भाले मौरी भए भने महको घार तयार हुन्छ वा हुँदैन ? वा आफू–आफूमै टोकाटोक गरेर समाप्त हुने हुन् थाह छैन । फेरि संसद ब्यँुताउने कुरा पनि सुनिन्छ ? संसद ब्युँत्यो नै भने संसदमा रहेका दलको स्पष्ट दृष्टिकोण के हो ? हिजोको झैं झोलि भर्ने हो । मस्त निदाउने हो । अन्यथा देशलाई निकास दिने वा भोलि फेरि अर्को जेन–जी अल्फा उमेर समूहका नाममा वितण्डा मच्चाउन अवसर दिने के हो ? अर्झै एकिन गर्न सकिने अवस्था छैन ।
युद्धका प्रसङ्गमा महाभारतको युद्ध बडो अद्भूत थियो भन्ने सुनिन्छ । तर, हस्तिनापुरको राज्य नाती पुस्तालाई जिम्मा लाएर युद्धका महारथीहरु सबै स्वर्गको बाटो लिएर हिँडे जस्तै हिँड्ने हो कि ? अन्त्वगता कुरु क्षेत्रको युद्धमा अधर्मीहरु त नाश भए होलान् । मुक्ति चाहिँ कसले पायो भन्ने प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ । यिनै प्रसङ्का आधारमा आज हाम्रो राजनीति अति नै गिजोलिएको छ । हिजो जेन–जीका नाममा भएको घूसपैठका कारणले देशले जुन प्रकारको क्षति व्यहोर्नु प¥यो । त्यो भोलिका दिनमा फेसर दोहोरिन्न भन्ने कुनै निश्चित छैन । राजनीतिका नाममा व्यक्ति विशेषका निजी घर तथा निजी व्यवसायमा जुन प्रकारले आगो लगाइयो । त्यहाँ धेरैका आँशु बगेका छन् ।
आफ्नो जीवनकालमा लामो समयसम्म दुःख गरेर आर्जन गरेको सम्पत्तिमा एक दुई कार्यकालको जनप्रतिनिधि वा राजनीतिको ट्याग लागेको भरमा जनताका लागि रातो दिन खटेर सेवा गर्ने व्यक्तिहरु जो थिए उनीहरुको श्री सम्पत्ति मात्र जलाइएन, भविष्य पनि जलाइयो । भनिन्छ, ‘धेरै कष्ट सहेर कमाएको थिएँ । ती सबै मैले हेर्दाहेर्दै नाश भए ।’ त्यहाँ सबै श्रीकृष्णले लक्षित गरेका अधर्मी र पापी पनि थिएनन् होला ? त्यस्ता व्यक्तिहरु माथि जुन प्रकारले अन्याय भएको छ । त्यसको क्षतिपूर्ति कसरी हुन्छ ? अन्यथा त्यो राक्षसी प्रवृत्तिलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? यस प्रकारको राक्षसी प्रवृत्तिका बिरुद्धमा राज्यशक्तिले यदि न्याय दिन सकेन भने त्यो पनि देशका लागि दुर्भाग्य मात्र होइन घातक नै हुन सक्छ । अतः आजको यो गिजोलिएको राजनीतिलाई निकाश दिनका लागि पुनः मेरो उपस्थिति हुनेछ भन्ने उनै श्रीकृष्ण रुपी नेतृत्व हाम्रो लागि अपरिहार्य छ । यसतर्फ सबैले सोचौं र लागौं । अधर्मी र पापीको नाश गर्दै सत्य र अहिंसाको रक्षा गरौं ।


























