काठमाडौँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताए।

नेका नेता डा कोइराला-मन्तव्य
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीमा मन्तव्य राख्नुहुँदै ।तस्बिर : हरिराम भेटुवाल/रासस
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताए।
“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोबल उच्च बनाउनुपर्छ,” उनले भने।
निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा. कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताए। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म ढिलो पठिँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उनको भनाइ थियो।
नेपालको राष्ट्रियता कमजोर भएकै कारण गत भदौ २४ को परिस्थिति आएको उनले बताए। राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको उनको भनाइ थियो।
कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायत नेताको योगदानबारे अध्ययन अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले साथ र सहयोग गर्ने बताए। आफूले सुशासन र भ्रष्टाचार अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गराउँदै अहिलेको जेन–जी पुस्ताले पनि त्यही खोजेको उनको भनाइ थियो।
कार्यक्रममा संविधानविद् प्रा. डा. विपिन अधिकारीले किसुनजी विपी कोइरालाका सहयात्री, प्रजातान्त्रिक नेता, लेखक र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्ति भएको बताए। कृष्णप्रसाद भट्टराई दूरदर्शी नेता भएको उनले बताए।
ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्ति भएको बताए। विशाल व्यक्तित्व हुँदाहुँदै पनि तीन निर्वाचनमा पराजित हुनु दुःखद् भएको उनको भनाइ थियो। नेपालको राजनीति मूल्य–मान्यता खस्कँदै गएको उल्लेख गर्दै नोट र भोटको सम्बन्ध तोड्नुपर्ने धारणा उनले राखे।
कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले निष्ठा, सदाचार र आदर्श भएका नेता किसुनजीलाई कांग्रेसले सम्झन नसकेको बताए। नीति र नेतृत्व परिवर्तन गरेर कांग्रेसले आगामी निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा रविन्द्र उप्रेती र उनकी धर्मपत्नी देवा उपाध्यायद्वारा लिखित ‘किसुनजी प्रेरणादायी प्रसङ्ग’ नामक पुस्तक विमोचन गरिएको थियो।





























