छविराज ढकाल
पथरीशनिश्चरे, मोरङ । पथरीशनिश्चरेमा प्रहरी कार्यालयमा हाजिर हुन पुगेका एक व्यक्तिले कार्यालयको गेटमै विष सेवन गरी प्रवेश गरेको घटना सार्वजनिक भएको छ।
यो तस्बीर साङ्केतिक मात्र हो ।
पथरीशनिश्चरे–६ पिप्ले निवासी ३० वर्षीय कृष्ण मण्डलले विष सेवन गरी इलाका प्रहरी कार्यालय पथरी प्रवेश गरेको प्रहरीले जनाएको छ। घटना गत मंसिर ४ गतेको हो।
प्रहरीका अनुसार हराएकी भनिएकी एक महिलाको खोजी गरी पाउँ भनी आमाले दिएको उजुरीको प्रारम्भिक अनुसन्धानका क्रममा मण्डलको नाम जोडिएको थियो। सोही दिन बिहान हराएकी भनिएकी विवाहित महिला र मण्डल दुवै जना एकैसाथ प्रहरी कार्यालय पुगेका थिए।
प्रहरी कार्यालयको गेटमै मण्डलले विष सेवन गरेको र त्यसपछि कार्यालयभित्र प्रवेश गरेको पथरी प्रहरीले जनाएको छ। ती विवाहित महिलालाई भने उनका आफन्तको जिम्मा लगाइएको थियो भने विष सेवन गरेका मण्डललाई तत्काल उपचारका लागि पथरी नगर अस्पताल लगिएको थियो।
नगर अस्पतालले अवस्था जटिल देखाएपछि सोही दिन उनलाई नोबेल शिक्षण अस्पताल, विराटनगर रेफर गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्यालले बताए।
२५ दिनभन्दा बढी उपचारपछि आर्थिक रूपमा विपन्न परिवारका मण्डललाई घर ल्याइएको छ। परिवारका अनुसार उपचारका लागि हालसम्म करिब ७ लाख रुपैयाँ खर्च भइसकेको छ। नोबेल अस्पतालले स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नभएकाले थप उपचारका लागि ल्याउन सल्लाह दिएको छ।
मण्डलकी आमा उर्मिला मण्डलले छोराको अवस्था अझै ठीक नभएको, अस्पतालमा औषधिको रकम तिर्न बाँकी रहेको र उपचारकै क्रममा भएको जायजेथा सबै बेचिसकेको बताइन्। उपचार खर्च जुटाउन आफन्त तथा व्यक्तिहरूसँग ६ लाख रुपैयाँभन्दा बढी ऋण लिनुपरेको उनको भनाइ छ।
परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। उजुरी परेपछि उनी ती महिलासँगै भारततर्फ गएको प्रहरीले जनाएको छ। पछि प्रहरीले छोरालाई उपस्थित गराउन आमालाई अनुरोध गरेपछि आफूले छोरासँग सम्पर्क गरी प्रहरी कार्यालय जान सुझाव दिएको उर्मिलाले बताइन्।
मंसिर ४ गते बिहान प्रहरी सम्पर्कमा पुगेका मण्डलले सोही क्रममा विष सेवन गरेको उनको दाबी छ। प्रहरीले भने मण्डलले विष आफैं बोकेर ल्याएको र आफैं सेवन गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























