केपी ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना

0
40

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फागुन २१ को निर्वाचनअघि नै एक ठाउँमा ल्याउने प्रयास भएको खुलासा भएको छ। स्रोतका अनुसार यी दुईबीच सहकार्य गराउने प्रयास पछिल्ला दिनमा निरन्तर हुँदै आएको थियो।

जेन–जी अभियानबाट उदाएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ पनि रवि र बालेनलाई नजिक ल्याउने प्रयासमा सक्रिय थिए। गुरुङले लामिछाने थुनामै रहेका बेला भेटेर बालेनसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए। रास्वपाले पनि वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरिसकेको थियो।

मेयर बालेनको राजनीतिक आकांक्षा पनि जेन–जी आन्दोलनसँगै बढ्दै गएको देखिन्छ। तर उनी संसदीय राजनीतिमा जाने कि नजाने भन्ने विषयमा स्पष्ट निर्णयमा पुग्न सकेका छैनन्। यसक्रममा उनले रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठदेखि पूर्वप्राधिकरण प्रमुख कुलमान घिसिङसम्मसँग भेटघाट र छलफल गर्दै आएका थिए।

यही पृष्ठभूमिमा सोमबार राति रवि र बालेनबीच करिब ६ घन्टा लामो छलफल भएको हो। रास्वपाका पूर्वसांसद असिम शाहको पहलमा काठमाडौंको कमलपोखरीस्थित उनको निवासमा उक्त भेटघाट भएको बताइएको छ। असिमले उक्त घरलाई केही समययता कार्यालयका रूपमा प्रयोग गर्दै आएका थिए।

फिल्म निर्देशक असिम शाह र र्‍याप गायकको पृष्ठभूमिबाट आएका बालेनबीच पुरानै चिनजान थियो। महानगरको कार्यालय नजिकै भएकाले बालेन असिमको निवासमा नियमित आउजाउ गर्थे। रास्वपाका पूर्वसांसद भएकाले लामिछानेलाई पनि त्यहाँ बालेनसँग भेट्न सहज भएको बताइएको छ।

पूर्वसांसद शाहले सञ्चारमाध्यमसँगको कुराकानीमा रवि र बालेनबीच राजनीति, व्यक्तिगत जीवन र एकअर्काको स्वभावबारे खुलेर छलफल भएको बताए। उनले अन्तरंग वातावरणमा गीत–संगीतदेखि सुखदुःखसम्मका विषयमा कुराकानी भएको उल्लेख गरे।

उनका अनुसार दुवैलाई गोप्य रूपमा भेट गराउने प्रयास गरिए पनि भेटको सूचना बाहिर आएको थियो। गाडीसमेत फेरेर आउन आग्रह गरिएको भए पनि खबर लुक्न नसकेको शाहले बताए।

रास्वपा नेताहरूका अनुसार लामिछाने बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा जान तयार देखिन्छन्। कास्की जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण लामिछानेले चुनाव लडे पनि सांसद वा प्रधानमन्त्री बन्न कानुनी अड्चन देखिएको छ।

बालेन पक्षका नेताहरूका अनुसार लामिछानेले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न बालेन पनि तयार छन्। यद्यपि बालेन आफैं भने झापा पुगेर नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्ध चुनाव लड्न चाहेको उनी निकट नेताहरूले बताएका छन्।

बालेनले आफ्ना निकटहरूलाई केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट हराउन सके मात्र चुनाव जितेको ‘मज्जा’ आउने बताउने गरेको ती नेताको दाबी छ। “ओलीलाई नहराइकन चुनाव जितेको मज्जा हुँदैन भन्ने उहाँको चाहना छ,” ती नेताले भने।

बालेन शाहको स्थायी घर काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलमा पर्छ। तर उनी कुन क्षेत्रबाट चुनाव लड्ने वा चुनाव लड्ने–नलड्ने भन्ने विषय अझै टुंगो नलागेको बताइएको छ। कहिले चुनाव लड्ने र कहिले महानगरको कार्यकाल पूरा गर्ने अभिव्यक्ति आउने गरेको उनी निकट नेताहरूको भनाइ छ।

रास्वपा नेताहरूका अनुसार पार्टी र सरकार सञ्चालनमा सहकार्य गर्ने तथा चुनावी मोर्चामा कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल हुने तयारी छ।

यसैबीच, बालेनसँगको भेटबारे मंगलबार चितवनमा सञ्चारकर्मीले प्रश्न गर्दा रवि लामिछानेले छोटो प्रतिक्रिया दिएका थिए। बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको हो कि भन्ने प्रश्नमा उनले भने, “हामी त्यो चरणमा पुगेका छैनौं।”

लामिछानेले अहिले एकअर्कालाई बुझ्ने चरणमै रहेको उल्लेख गर्दै हतार नगर्न आग्रह गरे। “पहिला कुराकानी हुनुपर्‍यो, बुझ्नुपर्‍यो। बिस्तारै राजनीतिक चरणमा प्रवेश हुन्छ,” उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here