झापा, राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर झापाको बिर्तामोडमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सहारा नेपाल साकोस ज्येष्ठ नागरिक समाजको आयोजनामा बिर्तामोड आँखा अस्पतालसँगको सहकार्यमा रामचोक सामुदायिक भवनमा शिविर आयोजना गरिएको हो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १३ बमोजिम २०७८ वैशाख ८ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रत्येक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको २०५१ साल पुस ११ गतेलाई आधार मानी सोही दिनदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा आयोजित आँखा शिविरमा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत डा. विनोद दाहाल र डा.ठूमनसिंह राजवंशीसहितको चिकित्सक टोलीले ज्येष्ठ नागरिकको आँखा परीक्षण गरेका थिए । शिविरमा एक सय ८९ जनाको ज्येष्ठ नागरिकले निःशुल्क आँखा जाँच सेवा लिएका थिए । उनीहरु मध्ये केहीलाई आँखाको शल्यक्रियाका लागि बिर्तामोड आँखा अस्पताल बोलाइएको छ । आँखा जाँच गराएका मध्ये केहीलाई चस्मा र औषधि निःशुल्क बितरण गरिएको छ ।
कार्यक्रम सहारा नेपाल साकोस ज्येष्ठ नागरिक समाजका अध्यक्ष दिननाथ सिग्देलको अध्यक्षतामा तथा ज्येष्ठ नागरिक संघ जिल्ला कार्य समिति झापाका अध्यक्ष इश्वरीप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका सचिव कृष्णप्रसाद फूयाल, बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत डा. विनोद दाहाललगायतले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सामाजिक सुरक्षाको महत्वबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजसेवी देवी गिरी, बद्री भट्टराई, रामचोक सामुदायिक वनका अध्यक्ष भोला धिताललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष पिङ्गला गौतमले गरेकी थिइन् भने सञ्चालन सहारा नेपाल साकोस ज्येष्ठ नागरिक समाजका सचिव रामप्रसाद अधिकारीले गरेका थिए ।
आयोजक संस्थाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।






























