
नेपाली साहित्यिक फाँटमा दुई सुन्दर कृतिहरु उदाएका छन् । ती कृतिहरु हुन् स्रष्टा राजकुमार श्रेष्ठ (कर्माचार्य)का सिर्जनाहरु ‘राजका तरङ्गहरु’ गीत संग्रह र ‘जीवनलाई निफन्दा’ आत्मसंस्मरण । प्रिन्टिङ्ग खर्च उच्च रहेको आजको जमानामा एउटै कृति प्रकाशन गर्न हम्महम्मे पर्दछ, तर साहित्यकार श्रेष्ठले २०८२ सालमा दुई कृति प्रकाशन गरेर नेपाली भाषा साहित्यमा योगदान गरेका छन् । सो कृतिहरुबारे यहाँ संक्षिप्त चर्चा गरिन्छ । (१) राजका तरङ्गहरु गीत संग्रह ः यस कृतिमा एक सय चारवटा कविताहरु समेटिएका छन् । कविताहरु धेरै भए पनि छोटा–छोटा छन् । प्रत्येक कविता एकै पृष्ठमा अटाएका छन् । कविताहरु मिठा–मिठा रहेका छन् । सन्दकपुरको रमाइलो, शहरिया भइछौ, तिमीलाई देख्दाखेरी, जब भेटेँ तिमीलाई, मेरो गाउँका रावाखोला, कति बस्छ्यौ जुम्रा मार्दै, बाबु गए परदेश, चिसो चिसो हावामा, नेपाली चेली, कान्छीको घर लगायत मन छुने शीर्षकमा सुन्दर कविताहरु सिर्जना गरिएका छन् ।
कविताहरुका विशेषताबारे कृतिमा व्यक्त विचारहरु महत्वपूर्ण छन् । डम्बर घिमिरेका विचार यस प्रकार छन्ः गीतले पनि बहुतै गहकिला कुराहरु कोट्याउँछन् । केही हृदयविदारक गीत हुन्छन्, केही हृदय छुने मुटु पगाल्ने हुन्छन् भने केही मन प्रसन्न गराउने, देह नै प्रफुल्लित हुने हुन्छन् । राजकुमारका गीतहरुमा विभिन्न विषयहरु छोइएका छन् । राजनीतिक, साँस्कृतिक, मायाप्रीति, देशप्रीति, लेकबेँसी, गोठखर्क, धुरी, बल्यासी, गुन्द्री, गजरा, अगेनू, जाँतो, ढिकी, मकै भटमास, करेसाबारी झल्को हुने खालका भावनाहरु पाइन्छन् ।
केन् श्रेष्ठ (ललितपुर) लेख्छन् ः जीवन भोगाइका अल्हादित क्षण र विरह वेदनाका आँशुले गह भिजेका पल अनि मायालुका न्यानो अँगालो पनि अनुभूत गर्न पाइन्छ यस संग्रहभित्र । सुख, दुःख र प्रेमको त्रिवेणीमा समसामयिक परिघटनाले देश दुखेको चेत पनि झुल्किन्छ । त्यसैगरी कृतिमा, राजकुमार श्रेष्ठ एउटा प्रखर र उदीयमान सर्जकका रुपमा स्थापित नाम हो । गीतका शब्दहरु लोक शैलीका र गाउँघरका बोलचालमा प्रयोग गरिने ठेट शब्दहरु राम्रो प्रयोग गरिएको छ । आफ्नो जन्मथलो रावा खोलाको पानी, माछा, जलजले हौचुरबेँसीको कटहरे खोलाको वर्णन, धान, मकै खेतीका बयान छन् । शब्दहरुको माया, जतन पनि त्यतिकै मिलाएर लेखिएका विनोद विवश, एन. बी. दाहाल नवीन, कैलाश थापा मगर र यस कृति प्रकाशक मिथिला श्रेष्ठका पनि विचारहरु समेटिएका छन् । केही गीतहरुका रस्वस्वादन गरौँ ।
नेपाली हुँ नेपालको
माया गर्छु धेरै–धेरै ।
डाँडापाखा हिमाल
पर्वत सबै मेरै–मेरै ।।
नेपाली हुँ शीर्षकको यस गीतमा देशको माया व्यक्त भएका छन् । त्यस्तैगरी देशको गति देख्दा खेरी शीर्षकको गीतमा देशका माया झल्किएको छ भने नेताको प्रवृत्ति पनि पोखिएको छ । गीतकार श्रेष्ठले कैयन गीतहरु देशलाई समर्पित गरेका छन् । देशको महत्व दर्शाएका छन् ।
विपनीमा भेट्न सकिनँ
सपनीमा आउँछु ।
तिमी झर्नु तल्लो चौतारीमा
म त्यहीँ धाउँछु ।।
विपनीमा भेट्न सकिनँ शीर्षकको गीतमा सायद गीतकारले आफ्नी प्रेमीकासँगको मिलन सपना बुनेका छन् । विपनीमा नभेटे पनि के भो त सपनीमै भए पनि भेटौँ भन्ने भाव यस गीतको रहेको छ । त्यसैगरी प्रेम गरेँ तिमीलाई नै गीतको अन्तिम हरफले भन्छ मुटु पारेँ छिया–छिया तिमीलाई सजाउन सकिनँ, कमजोर ठानेँ आफैलाई तिमीलाई सम्झाउन सकिनँ ।
तिम्रो घरमा आउँला भन्थेँ
के गर्नु बाटै देखिनँ ।
खबर के छ, कसो छ
सोधँु भन्थेँ चिठी लेखिनँ ।।
गीतकार राजकुमार श्रेष्ठका गीतहरु माया पिरतीका मिठा–मिठा कल्पनाले भरिएका हुन्छन् । प्रेम प्रसंगका रोचक पलहरु र सपनाहरु बुनिएका गीतहरुले पाठक वर्गमा उमँगपन भर्दै स्वप्निल दुनियामा पु¥याउँदछ । तिमी को हौ ? गीतमा बैँशको बेला आउने तरङ्ग उद्वेलित भएको छ । किन हो तिम्रै गीत लेख्दैछु, गीतमा मायाप्रीतिको बहानामा हाम्रो नेपालको परम्परामा प्रयोग हुने संस्कृतिको झलक दिने मिठा शब्दहरुको प्रयोग भएको छ । श्रेष्ठका सिर्जना गीतहरुले नेपाली लोक परम्परा झल्काउँदै तिनको संरक्षण पनि गर्दछन् । गीत सिर्जना गर्नुको मूल उद्देश्य पनि यही हो । अब लागौँ अर्को कृतितर्फ ।
(२) जीवनलाई निफन्दा (आत्मसंस्मरण)ः श्रेष्ठको यो तेस्रो कृति हो । कृतिमा आत्मकथाकारका जीवनमा घटेका मुख्य चौबीस वटा घटनाहरुलाई उजागर गरिएका छन् । ती घटनाहरु मध्ये केही अति हृदय विदारक, केही उट्पट्याङ् र केही घटनाहरु उपदेशमूलक छन् । यस कृतिको महत्वबारे गणेश घिमिरे मार्मिकको विचार मननीय छन् । कुल चौबीस वटा शीर्षकमा उहाँले आफ्नो विगत केलाउनु भएको छ । विचार खेलाउनु भएको छ अनि आफ्नो धारणा र विश्वास खुलाउनु भएको छ । समग्रमा यस कृतिका सर्जक राजकुमार श्रेष्ठले पाठकवर्गका लागि विगतको इतिहास, सामाजिक विश्वास र आफ्नो वैचारिक दृष्टिकोणका साथ आफ्नो विगतको बिस्कुन हाल्दै जीवनपयोगी सुत्र प्रस्तुत गरेर समाजका लागि गुन लगाउनु भएको छ ।
जीवनमा ३८ वर्षसम्म शिक्षण सेवामा रही शिक्षाको उज्यालो छरेका श्रेष्ठका आत्मकथनबाट जीवनका मागदर्शन पाउन सकिन्छ । कोदाको दुई डल्ला ढिँडो शीर्षकको कथनले तत्कालका लागि अप्रिय लाग्ने कुरा पनि भविष्य निर्माणको सिँढी बन्दोरहेछ भन्ने कुरा दर्शाएको छ । स्रष्टा श्रेष्ठले आफ्ना पिताजीको इच्छा र चाहनालाई जीवनको मूलमन्त्र बनाएका कुरा यस आत्मसंस्मरणमा इमान्दारीपूर्वक उजागर गरेका छन् । जागिर खाएपछि धेरै पैसा कमाउने लालचमा कहिल्यै पनि मानिसलाई हानी नोक्सानी हुने काम नगर्नु आफ्नो वैध कमाइमा चित्त बुझाउनु भन्ने सुझावलाई जीवनमा शिरोपर गरेका छन् श्रेष्ठले ।
शैक्षिक भ्रमणका नाउमा बनभोज शीर्षकको संस्मरणमा स्रष्टा श्रेष्ठको जवाफदेहिता र इमान्दारिताको उदाहरण पाइन्छ । विश्वासमा तुषारापात शीर्षकको कथनमा कसैप्रति अति विश्वास गर्दा आफूलाई घातक भएको घटना उल्लेख गरिएको छ । मानिसहरु सहजतामा पारम्परिक विश्वासप्रति उदासिन भए पनि विपत्तिकालमा भने एउटै सहाराका रुपमा भगवान पुकार्ने गर्दछन् भन्ने सन्देश दिइएको छ ।
यस आत्मसंस्मरणमा लेखकले रावाहौचुर खोटाङदेखि झापा, मोरङ, सुनसरी र इलामसम्म रहँदा जीवनमा घटेका घटनालाई सत्यतथ्य रुपमा पाठक तथा स्रोतागणमा पस्केको कुरा उल्लेख गरेका छन् । रु. एक नपाउँदा नाम काटियो, देवीथानमा गरेको फट्याई, कसैले पत्याउन् नपत्याउन्, पार्टीको परित्याग, विभिन्न रोगको औषधी मेरो अनुभव, आँखाको ज्योती बढाउने उपाय लगायत शीर्षकका संस्मरणबाट पाठक वर्गले धेरै ज्ञान र मागर्दन पाउन सक्नेछन् ।
कमल गाउँपालिका–२ झापा निवासी स्रष्टा राजकुमार श्रेष्ठ (कर्माचार्य)का दुई कृति जीवनलाई निफन्दा आत्मसंस्मरण र राजका तरङ्गहरु गीत संग्रह प्रकाशन बाहेक विभिन्न पत्रत्रिकाहरुमा गजल, मुक्तक लगायतका सिर्जनाहरु प्रकाशित हुने गरेका छन् । साहित्य सिर्जनाका साथै श्रेष्ठ डियर कल्याण साहित्य प्रतिष्ठान, कमल साँस्कृतिक मञ्च, नेपाल ज्योतिष परिषद् झापा, विश्व ज्योतिष महासँग लगायत संघ–संस्थामा आबद्ध रही समाजसेवामा पनि समर्पित रहेका पाइन्छन् ।

























